युवा अर्थात् ‘बिचौलिया’ पुस्ता !
नेतृत्वका कारण धमिलिएको राजनीतिलाई युवा नेताहरूको उन्नत विचार र नीतिले जनमुखी बनाउने अपेक्षा गरिए पनि स्वार्थ र अवसरवादमा डुबेर थप दूषित पारिरहेको छ।
दुई पक्षबीच कुरा मिलाइदिने भन्दै लेनदेनमा संलग्न हुने तथा बीचमा बसेर बढी लाभ वा मुनाफा लिने व्यक्ति/समूहलाई ‘बिचौलिया’ भनिन्छ। व्यावहारिक रूपमा यो शब्द घरजग्गा खरीद-बिक्री, ठेक्कापट्टा, व्यवसाय र लेनदेन हुने क्षेत्रमा निकै चल्तीमा छ। वर्तमान राजनीतिक वृत्तमा बहसको केन्द्रमा रहेको भाष्य हो, ‘बिचौलिया’ युवा पुस्ता अर्थात् दोस्रो पुस्ता।
देशको वर्तमान राजनीति मूल्य र मान्यताका हिसाबले जर्जर छ। यसलाई परिष्कृत बनाएर अगाडि बढाउन अग्रगामी विचार र कार्यक्रमको खाँचो छ, जसको बाटो राजनीतिक र आर्थिक बिचौलियाहरूले अवरुद्ध गरिरहेका छन्।
बजारको विकृत अभ्यासमा गढेर बसेको बिचौलिया प्रवृत्तिसँग राजनीतिक क्षेत्रको लसपस आश्चर्यलाग्दो गरी झ्याङ्गिँदो छ। यो शब्दले न्यायिक वृत्तमा पनि विधिवत् प्रवेश पाइसकेको छ। न्यायालयको विकृतिबारे अध्ययन गर्न सर्वोच्च अदालत बार एसोसिएशनले गठन गरेको समितिले २०६५ सालमा कानूनी क्षेत्रमा बिचौलिया शब्द सर्वप्रथम प्रयोगमा ल्याएको हो, दलाल अर्थात् ‘बीचमा बसेर चलखेल गर्ने व्यक्ति’ का सन्दर्भमा।
देशको वर्तमान राजनीति मूल्य र मान्यताका हिसाबले जर्जर छ। यसलाई परिष्कृत बनाएर अगाडि बढाउन अग्रगामी विचार र कार्यक्रमको खाँचो छ, जसको बाटो राजनीतिक र आर्थिक बिचौलियाहरूले अवरुद्ध गरिरहेका छन्। ठूला दलहरूमा आबद्ध युवा भनिएका सबैजसो नेताहरू मध्यमार्गी धारमा बस्न रुचाउँछन्।
उनीहरूमा आफ्नो राजनीतिक भविष्यको जोडघटाउ गरेर मात्रै देश र जनताको भविष्यबारे मुख खोल्ने प्रवृत्ति छ। दोस्रो पुस्ता भनिने यी नेताहरूको विकृत राजनीतिक चरित्रको ताजा उदाहरण हो, नेकपा (एमाले)का सम्भावना भएका भनिएका १० नेताको शैली।
घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायत नेताहरूले सरकार र पार्टीमा केपी शर्मा ओलीको स्वेच्छाचारिता र असंवैधानिक निर्णयको सशक्त प्रतिवाद गर्नुभन्दा आफ्नो राजनीतिक स्वार्थका लागि आत्मसमर्पण गरे भन्ने मत बलियो गरी स्थापित भएको छ।
घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायत नेताहरूले सरकार र पार्टीमा केपी शर्मा ओलीको स्वेच्छाचारिता र असंवैधानिक निर्णयको सशक्त प्रतिवाद गर्नुभन्दा आफ्नो राजनीतिक स्वार्थका लागि आत्मसमर्पण गरे भन्ने मत बलियो गरी स्थापित भएको छ।
शुरूदेखि माधवकुमार नेपाल पक्षमा रहेका उनीहरू पार्टी विभाजनको अवस्थामा पुग्दा दुई पटकको संसद् विघटन, भ्रष्टाचार र अराजकतासँग जोडिएका ओलीसँगै बस्न हिचकिचाएनन्। राजनीतिक नैतिकतालाई व्यक्तिगत स्वार्थसँग साट्ने दिशा विहीन युवा नेताहरूबाट अग्रगामी विकल्प खोज्नु शब्दजालको घनचक्कर मात्र हो।
युवा र नेतृत्व
कुन उमेर र विचार समूहलाई युवा भन्ने कुरा सम्बन्धित देश र समाजले आफ्नो सापेक्षतामा हेर्ने कुरा हो। संयुक्त राष्ट्रसङ्घले युवा भनेर १५-२४ वर्ष तय गरेकोमा नेपालले १६ देखि ४० वर्षका व्यक्तिलाई युवा मानेको छ। अझ, हाम्रा राजनीतिक नेताहरूले त मृत्यु पर्यन्तको सत्ता मोहका कारण आजीवन आफूलाई युवा मान्नुपर्ने दलिल व्यवहारबाटै देखाइरहेका छन्।
अहिले सत्ता र पार्टीको कार्यकारीमा शेरबहादुर देउवा (७५), पुष्पकमल दाहाल (६७), माधवकुमार नेपाल (६९) र ओली (७०) हाबी छन्। यसमध्ये पार्टीको कार्यकारी प्रमुखमा दाहाल सबैभन्दा धेरै समय ३३ वर्ष रहेको देखिन्छ। एउटै मान्छे निर्विकल्प हुने लोभ र महत्त्वाकांक्षाले नेपाली राजनीतिलाई नेतृत्वको पुस्तान्तरण हुनबाट रोकेको छ। अहिले राजनीतिको अग्रभागमा देखिएका युवा भनिनेहरू पनि ३० देखि ४० वर्ष वरिपरिका छन्, जो पार्टी र राज्यको कार्यकारी पदमा पुग्ने वेला ६० वर्ष पुग्ने देखिन्छ।
पार्टीले चुनावमा लज्जास्पद पराजय भोगे पनि, आफ्नो नेतृत्वको सरकारले तन्नम काम गरे पनि, भ्रष्टाचारका ठूलठूला काण्ड रचे पनि न नैतिकताका आधारमा माफी माग्नुपर्ने न त पद गुमाउनुपर्ने अचम्मको नजीर बसेको छ नेपालमा।
पार्टीले चुनावमा लज्जास्पद पराजय भोगे पनि, आफ्नो नेतृत्वको सरकारले तन्नम काम गरे पनि, भ्रष्टाचारका ठूलठूला काण्ड रचे पनि न नैतिकताका आधारमा माफी माग्नुपर्ने न त पद गुमाउनुपर्ने अचम्मको नजीर बसेको छ नेपालमा। निर्विकल्प नेतृत्व पनि पुरुष, खस-आर्य र मध्यम वर्गकै हुनु स्वघोषित जस्तै छ, जुन संयोग मात्र हैन।
उमेर गौण हो, विचार पो प्रमुख कुरा हो भन्ने चिन्तन पनि बहसमा छ, जुन अर्धसत्य हो। किनकि, प्राकृतिक नियम अनुसार निश्चित उमेरपछि मान्छेको शरीर र दिमाग दुवै शिथिल हुन्छ। त्यसैले उन्नत विचार सहितको युवा भन्नु चाहिं उचित अवधारणा हो।
जनता समाजवादी पार्टीका प्रवक्ता एवं लेखक डम्बर खतिवडा राजनीतिमा अहिले दोस्रो भनिएका पुस्तालाई राजनीतिक कालखण्डका हिसाबले तेस्रो पुस्ता भन्छन्। उनका अनुसार, बीपी कोइराला, पुष्पलाल श्रेष्ठ पहिलो पुस्ता (२००७), माधव नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल दोस्रो (२०१७) र घनश्याम भुसाल, गोकर्ण विष्ट, जयन्ती राई, पुष्पा भुसाल (२०३६) लगायत तेस्रो पुस्ता हुन्।
त्यसपछिका गगन, रामकुमारी (२०६२/६३) चाहिं चौथो पुस्ताभित्र पर्छन्। नेपाली राजनीतिको पछिल्लो लय हेर्दा चौथो पुस्ता एकाधलाई छाडी हस्तक्षेप गर्ने तहमा पुगेकै छैन। तेस्रो पुस्ता चाहिं राजनीतिक बिचौलियापनमै रमाएको देखिन्छ। अझ यो बिचौलियापन दक्षिणपन्थमा भन्दा वामपन्थमा जबर्जस्त देखिन्छ।
मार्क्सवादका आधारभूत चरित्र नै लागू नगरी आफूलाई मार्क्सवादी भनाउँदा पनि एमाले र माओवादी पार्टी नेपाली जनतामाझ आफूलाई भजाउन सफल भइरहेका छन्।
मियोमा विचार
नेपाली राजनीतिमा पार्टीहरूभित्रको टुटफुट हुनुको कारण व्यक्तिहरूबीचको स्वार्थ र टकराव मात्र भन्दा पनि वैचारिक स्खलन र सत्तालिप्साको परिणाम हो। वर्तमान नवउदारवादी आर्थिक सामाजिक मोडलको ध्येय हो, जसरी पनि राज्य शक्तिको दोहन गर्नु। सत्तासीन नेपाली कांग्रेस होस् वा कम्युनिष्ट, दुवैको मिशन एउटा चुनावदेखि अर्को चुनावसम्म कसरी टिक्ने भन्ने नै हो। र, चुनावका लागि चाहिने करोडौं खर्चको स्रोत दलाल पूँजीपति नै हुन्।
राजनीतिमा सिद्धान्त, विचार र कार्यक्रम नै प्रमुख हुन्। सिद्धान्त र व्यवहार जनमुखी र गतिशील भएनन् भने कुनै पनि पार्टीले केही समय त आफ्नो राजनीतिक पसल चलाउला, तर भुइँ तहका जनताको जीवनमा तात्विक भिन्नता आउँदैन। सिङ्गो संरचना र व्यवस्था यही रहने र व्यक्ति फेरिंदा रूपमा केही फरक पर्र्ला, सारमा केही हुँदैन।
मार्क्सवादका आधारभूत चरित्र नै लागू नगरी आफूलाई मार्क्सवादी भनाउँदा पनि एमाले र माओवादी पार्टी नेपाली जनतामाझ आफूलाई भजाउन सफल भइरहेका छन्। तत्कालीन नेकपा सरकारमा छँदा स्वास्थ्य सामग्री खरीदमा अनियमितता भएको ओम्नी प्रकरण, राज्यका स्रोतसाधन यती समूहलाई पोसिएको विषय, तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको नाम जोडिएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरण, वाइड बडी जहाज खरीदमा अनियमितता जस्ता विषय बाहिर आए। तर, यसबारे बोल्दा पार्टी र सरकारबाट उपलब्ध अवसर र भविष्यमा हात पर्ने लाभ गुम्ला भन्ने डर र लोभका कारण मौन बसेका नेकपाका युवा नेताहरूको मध्यपन्थी प्रवृत्ति नौलो होइन।
अर्कातिर, नवउदारवादी अर्थ-राजनीतिक व्यवस्थाभित्र पनि चरम दलाल संसदीय व्यवस्थाको प्रयोगबाट नेपाली राष्ट्रिय पूँजीलाई तन्नम बनाउने तर आफूलाई समाजवादी भन्न नछाड्ने कांग्रेसको चरित्र रमाइलो छ। यी पार्टीका युवा भनिएका नेताहरूले आफ्नो पार्टीले बोकेको आधारभूत राजनीतिक कार्यदिशा र विचारधाराबारे विमति राख्ने र विमर्श गर्ने हैसियत समेत राख्दैनन्।
सत्ता र शक्तिमा रहेका अमुक व्यक्तिहरूले केही पनि गरेनन् भनेर गुनासो र सत्तोसराप गर्ने ठूलै युवा जमात छ। यो समूह न त परिवर्तनका लागि अग्रगामी सपना देख्छ, न एक पित्को जोखिम लिन तयार छ।
विचार–विमर्श गर्ने र राजनीतिमा अगुवाइ गर्नेमा मध्यम वर्गका कथित उच्च जातका पुरुष वर्चस्व छ। तर, जसले वास्तवमै बढी राजनीति बुझ्न र गर्न जरुरी छ, ती भुइँमान्छे राजनीतिबाट अझै टाढै छन्। पुराना विचार, पार्टी र नेतृत्वसँग महिला, दलित र उत्पीडित समुदाय र वर्गले बढीभन्दा बढी विद्रोह गर्नुपर्ने हो, जुन छनक अझै देखिएको छैन।
अरूले आफू अनुकूल बनाएको र व्याख्या गरेको विचार तथा नेतृत्वको ठेकेदारीबाट मुक्ति सम्भव छैन। राजनीति र समाजसेवा कसैको ठेकेदारी हैन। जसलाई अग्रगामी परिवर्तन चाहिएको छ, उसैले अगुवाइ गर्ने हो। सत्ता र शक्तिमा रहेका अमुक व्यक्तिहरूले केही पनि गरेनन् भनेर गुनासो र सत्तोसराप गर्ने ठूलै युवा जमात छ। यो समूह न त परिवर्तनका लागि अग्रगामी सपना देख्छ, न एक पित्को जोखिम लिन तयार छ।
मूल कुरो राजनीतिमा उन्नत विचार, नीति र कार्यक्रम नै हो, जसले समग्र देश र मुक्तिकामी जनताको हितको निशर्त पक्षपोषण गर्छ। जनआकाङ्क्षा कस्तो हुन्छ, भारतीय कवि पाशको कविताका अंशः
हम झुठमुठका कुछ भी नही चाहते
और हम सब कुछ सचमुचका देखना चाहते है
जिन्दगी, समाजवाद या कुछ भी और।
(हिमालको २०७८ असोज अंकमा प्रकाशित।)