चीनमा ‘सुपरस्टार’ सम्मान
चीनमा म जहाँ जहाँ जान्छु, ‘हिमालय बौद्धमार्गी नेपाली’ को सांस्कृतिक परिचय सँगसँगै जान्छ। चिनियाँहरू नेपाललाई ‘देवभूमि’ मान्छन्।
सन् २००७ भन्दा पहिले पनि म धेरै पटक हङकङ गइसकेकी थिएँ। तर, हङकङको अन्तर्राष्ट्रिय विमानस्थल छेउ, एशिया-वर्ल्ड अरेनाको कन्सर्टले भने मेरो ‘करिअर’ मा बेग्लै प्रभाव पार्यो।
सन् १९९७ मा हङकङ चीनमा गाभिएको सम्झनामा त्यो वेला भव्य कार्यक्रम गरिएको थियो। कम्तीमा १४ हजार दर्शकको उपस्थिति रहेको कन्सर्टको शुरूआत मेरै प्रस्तुतिबाट भएको थियो। मैले करुणामयी देउता, अवलोकितेश्वरको मूल धारणी मन्त्र गाएकी थिएँ।
सन् १९९७ मा हङकङ चीनमा गाभिएको सम्झनामा भव्य कार्यक्रम गरिएको थियो। त्यसपछि धमाधम चीनबाट निम्तो आउन थाल्यो। तर, चिनियाँ दूतावासले भिसा नै दिएन।
त्यो कन्सर्टपछि मलाई धमाधम चीनबाट निम्तो आउन थाल्यो। शुरूमा चिनियाँ दूतावासले भिसा नै दिएन। तर, सन् २०११ मा शाङ्हाईको कन्जर्भेटरी अफ म्युजिकले आयोजना गरेको सङ्गीत महोत्सवमा सजिलै जान पाएँ। त्यसपछि चीन जाने-आउने क्रम व्यापक भयो।
महामारीअघि वर्षको १४-१५ पटक म चीन जाने गरेकी थिएँ। सन् २०२० को जनवरीसम्म उतै थिएँ। वुहानमा कोभिड-१९ महामारी शुरू भइसकेको रहेछ। हामीलाई यसको जटिलता त्यो वेला थाहै भएन। अहिले पनि कार्यक्रमका लागि चीनबाट बोलाइरहेका छन्।
मेरो कन्सर्टमा धनाढ्यदेखि आम सर्वसाधारण सबै खालका दर्शक आउँछन्। चीनका गुम्बाहरूले चन्दा सङ्कलन कार्यक्रममा मलाई बोलाउँछन्। नेपालमै हुने मेरा कार्यक्रममा पनि उल्लेख्य मात्रामा चिनियाँ दर्शक आउँछन्। सन् २०१९ डिसेम्बरमा बौद्धस्थित होटल हायातमा भएको मेरो पछिल्लो कन्सर्टमा ६ सय जना चिनियाँ दर्शक उपस्थित थिए।
नेपालमा चिनियाँ पर्यटकहरूको समूह आउँदा मलाई कार्यक्रमका लागि ‘रिजर्भ’ गर्छन्। कन्सर्ट गर्न सकेनन् भने कम्तीमा एउटा फोटो खिच्न पाए हुन्थ्यो भनेर मरिहत्ते गर्छन्। माया त होला!
‘स्टार फ्यान’
मसँग सहकार्य गर्न चाहने प्रसिद्ध चिनियाँ कलाकार थुप्रै छन्। ग्रामी अवार्ड विजेता समेत रहेका क्राउचिङ टाइगर, हिडेन ड्रागन फिल्मका कम्पोजर खान तुन गत वर्षको डिसेम्बरमा ओपेरा शो गर्दै थिए। त्यसमा ‘आनी, यु ह्याभ टु पर्फर्म फर मी’ भनेका थिए। म उनको कम्पोजिसनमा गाउनेवाला थिएँ, तर हङकङमा महामारी साम्य नभएकाले कार्यक्रम हुनै पाएन।
एक दिन एक जनाले बौद्धमा दौडेर आएर मसँग फोटो खिच्छु भने। मैले उनलाई चिनेकै थिइनँ। ‘के गर्छौ’ भनेर सोधें। उनले आफू चिनियाँ कलाकार भएको बताए। उनले मलाई ‘यु आर भेरी फेमस इन चाइना, डु यु नो द्याट?’ पनि भने। फोटो खिचेपछि वीच्याटमा हामीले नम्बर सेभ गर्यौं। उनी त चीनका प्रख्यात अभिनेता छेन कुन पो रहेछन्। उनी आफ्नो ब्लगमा मेरा गीतहरू पोस्ट गर्दा रहेछन्।
एक पटक बेइजिङ जाँदा चीनका एक सुपरस्टार गायक मलाई भेट्न आए। त्यो वेला उनले भने, ‘आनीलाई सुन्नुअघि मलाई के लाग्थ्यो भने, म नै चीनको नम्बर एक गायकमध्येको हुँ।’ त्यो सुनेर मैले नाक फुलाउने कुरा भएन, तर आभारी भएँ। ‘सुपरस्टारको पनि सुपरस्टार’ जस्तो व्यवहार मैले चीनमा पाइरहेकी छु। गुरुको आशीर्वादले होला, म जहाँ जाँदा पनि उत्तिकै सम्मान पाउँछु।
नेपाली शब्द नबुझ्ने चिनियाँहरू पनि टुटेफुटे शैलीमा ‘फूलको आँखामा...’ गाउँछन्। ‘बटुवा...’ गीतलाई उनीहरूकै लवजमा गाएर सुनाउँछन्। मेरा गीतहरू त्यहाँका स्थापित गायक-गायिकाले ‘कभर सङ्ग’ का रूपमा गाएका छन्। ताइवानको एक नाम चलेका गायकले अस्ति भर्खरै मेरो म्यानेजरलाई ‘आनीको एउटा गीत रिअरेन्ज गरेर गाउने इच्छा छ, अनुमति मागिदिनुस्’ भनेर सन्देश पठाएका रहेछन्। ‘मन्त्र हो, जसले गाए पनि हुन्छ, सबैको कल्याण हुन्छ, गाऊ’ भन्दिएँ।
एक पटक बेइजिङ जाँदा चीनका एक सुपरस्टार गायक मलाई भेट्न आए। त्यो वेला उनले भने, ‘आनीलाई सुन्नुअघि मलाई के लाग्थ्यो भने, म नै चीनको नम्बर एक गायकमध्येको हुँ।’ त्यो सुनेर मैले नाक फुलाउने कुरा भएन, तर आभारी भएँ।
कन्सर्टका क्रममा म चीनका धेरै ठाउँ गइसकेकी छु। तिब्बतमा समेत दुई-दुई पटक गएकी छु। पूर्वी तिब्बतका गभर्नरले मलाई औपचारिक रूपमै बोलाएका थिए। एक दिन कार्यक्रम सकेर म होटल फर्किएकी थिएँ, त्यहाँका दुई-चार जना औतारी गुरु भेट्न आउनुभयो। हाम्रो समुदायमा यो असम्भव जस्तै चिज हो। म अति साधारण आनी हुँ। न खेम्पो दर्जा छ, न म सिद्धिप्राप्त साधक हुँ, न कुनै ठूलो घरानाकी छोरी।
औतारी गुरुहरूलाई मैले स्वागत-सत्कार गरें, खादा चढाएँ। त्यो वेला वृत्तचित्र बनाउन भनेर हङकङका निर्माता-निर्देशक मेरो पछि-पछि लागेका थिए। उनीहरूले यो सबै खिचे। गुरुहरूको अन्तर्वार्ता लिए। ‘आनी छोइङलाई कसरी चिन्नुभएको छ’ भनेर सोध्दा उहाँहरूले भन्नुभएको थियो, “आनी गायिका हुन् भन्ने सुनेका थियौं, स्वर पनि राम्रै लाग्यो। तर, आज कार्यक्रम हेरेपछि उनी गायिका मात्रै होइनन्, साधक हुन् भन्ने लाग्यो।” मबाट प्रेरित भएर चीनमा केही औतारी गुरुहरूले गीत गाउन थाल्नुभएको मैले सुनेकी छु।
आनी भएर गाना-बजानामा लागिस् भनेर यहाँ मेरो आलोचना हुन्छ। तर, विदेशमा त्यस्तो हुँदैन। बरु धन्यवाद भन्छन्। मैले सांसारिक गीत गाएको छैन, कम्मर मर्काइ-मर्काइ भन्ने खालका गीत गाएको भए आलोचना गर्नु स्वाभाविक हुन्थ्यो। तर, मैले भजन, बुद्धज्ञान, बुद्ध दर्शनहरू गाइरहेकी छु। ‘फूलको आँखा...’ नै धम्मपदबाट लिइएको हो। बुझ्नेले यो कुरा बुझेकै छन्, नबुझ्नेलाई घरछेउमै पहिरो!
खुशीको खोजी
अहिलेको आर्थिक उदारीकरणले चिनियाँहरूको जीवनस्तर धेरै माथि उठेको छ। तैपनि मन शान्त छैन। अब खुशी केबाट पाइन्छ भनेर खोज्दै जाँदा बुद्ध धर्ममा आएर जवाफ टुङ्गिएछ। शायद चीनका सरकारी कर्मचारीदेखि बाटोमा व्यापार गरिरहेका सर्वसाधारणको मन-मस्तिष्कमा ‘बुद्ध शरणले हामीलाई कल्याण गर्छ’ भन्ने भाव जागेको छ।
अहिलेको आर्थिक उदारीकरणले चिनियाँहरूको जीवनस्तर धेरै माथि उठेको छ। तैपनि मन शान्त छैन। अब खुशी केबाट पाइन्छ भनेर खोज्दै जाँदा बुद्ध धर्ममा आएर जवाफ टुङ्गिएछ।
म जहाँ-जहाँ जान्छु, ‘हिमालय बौद्धमार्गी नेपाली’ को सांस्कृतिक परिचय सँगसँगै जान्छ। तिब्बतीहरू नेपाललाई ‘देवीदेवताको देश’ भन्छन्। बुद्ध जन्मेको देश भन्ने त छँदै छ। चिनियाँ उच्च अधिकारीहरू नेपाल आउँदा लुम्बिनीको दर्शन नगरी फर्किंदैनन्।
मेरा गीत सुनेपछि अधिकांश चिनियाँ श्रोताले दिने प्रतिक्रिया उस्तै खालको हुन्छ, ‘जीवनमा निराश भएका वेला, दुःख परेका वेला तपाईंको गीतले मलाई साथ र साहस दियो।’ एक पटक म कुनै बैठकका लागि शाङ्हाईको जुमेइरा हिमालयज होटलमा थिएँ। मलाई देखेपछि त्यो होटलकी साहुनीले खुशी भएर मेरो हात समातिन्, फोटो खिचिन्।
पहिलो बच्चा जन्माउने क्रममा प्रसव पीडा भइरहेका वेला कसैले मेरो गीत बजाइदिएको र त्यो सुनेपछि आधा दुखाइ कम भएको उनले सुनाइन्। “तपाईंको सङ्गीतले मलाई धेरै साहस दिएको छ। तपाईंका गीत यहाँका फेमस डेलिभरी म्युजिक हुन् नि,” उनले भनिन्।
चीन जाँदा म सधैं ‘लो प्रोफाइल’ मा बस्ने गरेकी छु। चीनका लागि म संवेदनशील मान्छेमा पर्छु भन्ने मलाई थाहा छ। किनभने म आनी हुँ, त्यसमाथि हिमालयन बौद्धमार्गी! तिब्बतको राजनीतिक मुद्दासँग मलाई कसैले अनाहकमा जोडिदिन सक्छ। त्यसैले म सतर्क हुने गरेकी छु।
चीनमा मेरो उद्देश्य गीत सुनाउनु मात्रै हो। गीतभन्दा पनि करुणामयी देउताका मन्त्र सुनाउनु हो। यसले हरेकको मन-मस्तिष्कमा करुणा जगाउने विश्वास गरिन्छ। तसर्थ, म जहाँ जहाँ बोलाइएको हो, त्यहाँ मात्रै जान्छु, कतै केही बोल्दिनँ। कार्यक्रम सकेर खुरुक्क घर फर्किन्छु।
सङ्गीत क्षेत्रमा म चर्चित भए झैं पाटनका थुप्रै मूर्तिकारहरू चीनमा लोकप्रिय छन्। यहाँबाट सामान लग्दा धेरै विघ्नबाधा झेल्नुपर्छ। त्यसकारण चीनले यहाँका राम्राभन्दा राम्रा सबै मूर्तिकारहरूलाई जति भन्छन्, उति पैसा तिरेर चीन झिकाएको छ।
उनीहरूले त्यहाँ ठूलठूला मूर्तिहरू बनाइरहेका छन्। हाम्रो सरकारले यसको सराहना गरेको छ कि छैन? हाम्रै अरनिकोलाई चीनले मन्त्री बनाएर राख्यो। त्यत्रो मान, सम्मान दियो। तर, हाम्रो सरकारले चाहिं के गर्यो भन्ने प्रश्न अझै छ।
हामीले छिमेकमै रहेका सम्भावना चिन्न सक्नुपर्छ अब। म ठूलठूला कार्यक्रम गरेर नामदाम कमाइरहेकी छु। यो मैले मात्रै गर्न सक्ने वा मेरा लागि मात्रै सम्भव कुरा होइन, अरूले पनि गर्न सक्छन्। गलैंचा, मूर्ति, पूजापाठका सामग्री निर्यात गर्न सकिन्छ। हाम्रो देशमा कलाकारको खानी छ भन्ने कुरा चीनले बुझेको छ, अब हामीले पनि बुझ्नुपर्यो।
(सजना बरालले गरेको कुराकानीमा आधारित भएर हिमालको २०७८ असोज अंकमा प्रकाशित सामग्री।)