बालबालिकालाई दशैंअघि नै कोरोना विरुद्धको खोप : राज्यमन्त्री श्रेष्ठ
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड-१९ विरुद्धको खोप ल्याउने तयारी गरिरहेको बताएका छन्।
शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै राज्यमन्त्री श्रेष्ठले दशैंअघि एक लाख डोज खोप ल्याइने बताए। बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडर्ना’ र ‘फाइजर’ खोप ल्याउने मन्त्रालयले तयारी गरिरहेको उनको भनाइ थियो।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने, “बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ। फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।”
यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल चलिरहेको उनले बताए। आगामी चैत महीनाभित्र कोरोना विरुद्धको पूर्ण खोप लगाइसक्ने गरी ल्याइने तयारी गरिएको श्रेष्ठले जानकारी दिए।
उनले भने, “अहिले १८ वर्षभन्दा माथिका विद्यार्थी र ४५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाइएको छ। अब बालबालिकालाई पनि लगाउँछौं।”
भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजनालाई कार्यान्वयन गरिने उनको भनाइ थियो। (रासस)