मदन पुरस्कार विजेता इङ्नाम भन्छन्- कथा सुने जस्तो भयो, विश्वासै लागेन
मदन पुरस्कार विजेता लेखक भगिराज इङ्नामले आफ्नो पुस्तकले पुरस्कार पाएको सुन्दा विश्वासै नलागेको बताएका छन्।
बिहीबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९-२०२० पुस्तकका लागि इङ्नामलाई २०७७ को मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। नेपालको इतिहासका प्राथमिक सामग्रीहरूको सङ्कलन र पहुँचलाई विस्तार गरेकाले उनको पुस्तक पुरस्कृत भएको गुठीले जनाएको छ।
मदन पुरस्कार पाएको खबर सुन्दा विश्वास नलागेको उनले बताए। “शुरूआतमा त मलाई विश्वासै लागेन,” इङ्नामले हिमालखबरसँग भने, “मदन पुरस्कार गुठीको विज्ञप्ति पढेपछि मात्रै पुरस्कार पाएछु भन्ने लाग्यो।”
पुरस्कार पाएको कुरा कथा सुने जस्तै भएको उनको भनाइ छ। लेखक इङ्नामले भने, “मलाई त कथा सुने जस्तो भयो। हो कि जस्तो पनि, होइन जस्तो पनि।”
पुरस्कार पाउँछु कि भनेर मदन पुरस्कार गुठीमा पुस्तक नबुझाएको उनी बताउँछन्। “मदन पुरस्कार पुस्तकालयमा सुरक्षित रहन्छ, त्यहाँ बुझाउनुपर्छ भनेकाले बुझाएको हुँ,” उनी भन्छन्।
तेह्रथुममा जन्मे-हुर्केका लेखक इङ्नाम अहिले काठमाडौंको अनामनगरमा बस्दै आएका छन्। २०७१ सालमा सरकारी जागीरबाट निवृत्त भएपछि भने ६५ वर्षीय इङ्नाम लेखनमा तल्लीन छन्।