एमालेका सांसदको विरोधबीच दुई विधेयक पारित
नेकपा (एमाले)का सांसदको विरोधबीच प्रतिनिधि सभाले दुई वटा विधेयक पारित गरेको छ।
प्रतिनिधि सभाको बिहीबार बैठकले ‘विनियोजन विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ लाई पारित गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बहुमतबाट विधेयक पारित भएको घोषणा गरेका थिए।
अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। यस अघि प्रतिस्थापन विधेयक पनि एमालेका सांसदको विरोधबीच नै पारित गरिएको थियो।
त्यस्तै, बैठकमा सभामुख सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए। बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए।
एमाले विभाजनमा सभामुखले भूमिका खेलेको भन्दै एमालेका सांसदले प्रतिनिधि सभा र राष्ट्रिय सभामा विरोध जनाउँदै आएका छन्।
प्रतिनिधि सभाको अर्को बैठक ११ असोज दिउँसो २ बजे बस्नेछ।