शिक्षालयहरू खोल्ने कि बन्द गर्ने अहिलेको सङ्कथन यही हो। सिकाइ र पढाइ जोड्ने कला अपनाए यो सङ्कथन बदलिन्थ्यो नि! विद्यार्थी प्रथम भन्ने चिन्तन शिक्षक तथा प्राध्यापकमा आए यो सङ्कथन बदलिन्थ्यो नि!
विरासतका बाटाहरू : आचार्यकुल वैदिक शिक्षालय हो। सबै उमेरका र सबै क्षमताका एकैसाथ पढ्ने–पढाउने। त्यसैको निरन्तरता हो, उपनिषदीय गुरुकुलीन शिक्षा। त्यसकै लौकिकीकरण हो, सरदार भीमबहादुर पाँडेले भनेको राणाकालीन पिंढी शिक्षा। आत्मरतिजन्य चिन्तन बोकेर इभान इलिच, एभरेट रेमियरहरूले सन् १९७० मा चलाएको ‘डिस्कूलिङ’ पनि हाम्रै परम्पराको पश्चिमीकरण हो।
युरोकेन्द्रित चिन्तन बोक्ने नवप्रवर्तनात्मक चिन्तन हो– डिस्कूलिङ। अर्थात् आचार्यकुल, गुरुकुल, पिंढी शिक्षा तथा डिस्कूलिङका धेरै समानता छन्। एउटै स्थानमा बहु–उमेरका शिक्षार्थी हुने। बहु–क्षमताका विद्यार्थी हुने। दाजु–दिदीले भाइ–बहिनीलाई सिकाउने। जान्नेले नजान्नेलाई सिकाउने। शिक्षकले शिक्षार्थीलाई ग्रेडिङ गर्ने। ग्रेड अनुसार पढाउने। कहिले एक्लै, कहिले जोडी पारेर, कहिले तीन र तीनभन्दा बढीको समूहमा। कहिले विज्ञसँग भिडाएर, कहिले व्यवहारसँग जोडेर। इभान इलिच र रेमियरको शब्दमा ‘लर्निङ वेभ’ मा पनि त्यही हो। जाँच्ने तरिका पनि त्यस्तै हुन्छ। अहिलेको शब्दावलीमा मल्टिग्रेड। मल्टिक्लास।
मल्टिग्रेड हुँदा क्षमता भिन्न हुुन्छ। मल्टिक्लास हुँदा सिक्ने तह भिन्न हुन्छ। एउटै शिक्षकले धेरै कुरा सिकाउँछन्। राणाकालीन शिक्षाको शब्दमा कोही ‘तीन पासे’ बन्छन्। कोही ‘चार पासे’, कोही ‘पाँच पासे’ हुन्छन्। पढ्छन् एकै ठाउँमा। अहिले पनि देवघाटको महेश गुरुकुलमा त्यही चलन छ। काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षामा शुरू गरेको ‘समस्यामा आधारित सिकाइ’ को अभ्यास पनि त्यस्तै थियो। कोरोना–कहरमा शिक्षालाई निरन्तरता दिन यो अभ्यास अपनाएको भए विरासतको निरन्तरता हुन्थ्यो। यस्ता अप्ठेरामा प्रत्येक विद्यालय तथा कलेजले यस्तो अभ्यास गरे÷गराए हुने रहेछ भन्ने विश्वास बन्ने थियो। महाभारतको शान्तिपर्वमा उल्लिखित तलको श्लोकको कार्यान्वयन हुन्थ्यो।
आचार्यात् पादमादत्ते। पादं शिष्यः स्वमेधया।
पादं सब्रह्माचारिभ्यः। पादं कालक्रमेण।।
अर्थात्, आचार्य/गुरु/शिक्षकबाट एक पाउ (चौथाइ) सिक। साथीसँग अर्काे एक चौथाइ सिक। स्थानीय विज्ञसँग तेस्रो चौथाइ सिक। समयको क्रमसँगै आफ्नै अनुभवले अर्काे चौथाइ सिक। तब मात्र सिकाइ पूर्ण हुन्छ।
यी चार तरिकाबाट सिक्ने–सिकाउने काम आचार्यकुलमा थियो। पिंढी शिक्षामा थियो। गुरुकुलमा अझै छ। लर्निङ वेभमा पनि त्यही हुने हो। कोरोना–कहरमा यो तरिका अपनाउन कसैले रोकेको थिएन। तर, किन गरेनन् शिक्षकले? किन गरेनन् प्राध्यापकले? किन गराएनन् तिनका ‘मालिक’ (निर्णायक)हरूले?
परम्परागत प्रविधिका बाटाहरू
हामी बग्रेल्ती प्रविधिका धनी हौं। हाम्रो कोदालो प्रविधि हो। फरुवा प्रविधि हो। आरन प्रविधि हो। पञ्चेबाजा प्रविधि हो। नाङ्लो प्रविधि हो। डेहरी प्रविधि हो। खर्पन प्रविधि हो। घट्ट प्रविधि हो। जाँतो प्रविधि हो। ढिकी प्रविधि हो। जातै पिच्छे यस्ता प्रविधि छन्। धर्म पिच्छे छन्। भूगोल पिच्छे छन्। यस्ता हर प्रविधिमा विज्ञान छ। गणित छ। भाषा छ। संस्कृति छ। अनुसन्धान छ। त्यो कुराको खोजी गर्ने तागत भएको शिक्षकको चाहिं कमी छ। प्राध्यापकको कमी छ। तिनमा यी कुरा छन् कि, खोज भनिदिने प्रशिक्षकको कमी छ।
त्यसो गर्ने हो भने, निफन्ने तथा छिन्किने नाङ्लोमा वैदिक गणित, रैथाने गणित तथा पश्चिमी गणित भेटिने रहेछन्। त्यही नाङ्लोबाट बीजगणित, अङ्कगणित, ज्यामिति तथा त्रिकोणमिति रहेछन् भनेर पोखराका कक्षा ९ तथा १० का बालबालिकाले बुझिसके। त्यसैमा विद्यावारिधि गर्दै गरेकी खरिका पराजुलीले बुझिसकिन्। आरनमा त मेकानिकल इन्जिनियरले पढ्ने सबै कुरा रहेछन् भन्ने जानकारी विश्वविद्यालयका जिम्मेवार व्यक्तिहरूले बुझिसके। यसरी खोज्ने–खोजाउने शिक्षक तथा प्राध्यापकको मात्रै खाँचो हो। कोरोना–कहरमा यो तरिकाले सिक्ने सिकाउने विधि अपनाउन कसले रोकेको थियो र? त्यसो गरेको भए घरमै सिकाइ हुन्थ्यो। पढाइ जनमुखी बन्थ्यो। व्यावहारिक हुन्थ्यो। अनुसन्धानमुखी हुन्थ्यो। प्रश्न हो– कोरोना–कहरको झण्डै दुई वर्ष बित्दा पनि किन शिक्षक, प्राध्यापक तथा तिनका ‘मालिक’ मा यो चिन्तनले ठाउँ पाएन? उदेकलाग्दो कुरा यही हो।
आधुनिक प्रविधिका बाटाहरू
शहरी दुनियाँ ‘घोप्टे युग’ मा प्रवेश गर्यो– मोबाइलमा घोप्टिने। ल्यापटपमा घोप्टिने। यो युगले सबै कुरा सहज बनायो। दूर सिकाइ। दूर शिक्षण। ब्रह्माण्डको जानकारी। स्थानीय जानकारी। भर्चुअल प्रविधि। यो प्रविधि ‘रियालिटी’ पनि थियो, ‘सिमुलेटेड’ पनि थियो। यथार्थ पनि हुनसक्ने। काल्पनिक वा ‘एनिमेटेड’ पनि हुनसक्ने। अहिले ‘अग्मेन्टेड’ मा आधारित डिजिटल प्रविधि आइसक्यो, विद्यार्थीले प्रविधिमा अनुभव नै गर्न पाउने। त्यसमा पनि मिश्रित तथा ‘एक्सटेन्डेड रियालिटी’ मा आधारित प्रविधि थपिइसक्यो। यी प्रविधिहरू दिनहुँ सिकारुमैत्री बन्दै छन्। यसको अर्थ हो, हामीसँग तरेली–तरेलीका प्रविधिहरू छन्, हुन्छन्। तिनमै शिक्षा जोड्नुपर्ने हुन्छ। शिक्षकले। प्राध्यापकले। विद्यार्थीले।
रेडियो, टीभी, अफलाइन सुविधाहरू पनि बढिरहेका छन्। यो स्थितिमा विद्यालय, कलेज तथा विश्वविद्यालय खल्तीमा पुगिसके। टिच (पढाइ) क्लिक्मा बदलिइसक्यो। लर्न (सिकाइ) चाहनासाथ हुने कुरा भइसक्यो। यो कुराको उपयोग गर्न शिक्षकहरू किन डराइरहेछौं? प्राध्यापकहरू किन डराइरहेछौं? नेता तथा कर्मचारीहरू किन विद्यालय, कलेज तथा विश्वविद्यालय खोल्ने कुरा मात्रै गरिरहेछौं? शिक्षक र प्राध्यापक थप्ने, थप्न लगाउने कुरामा तल्लीन छौं? किन विद्यालय, कलेज तथा विश्वविद्यालय भवनहरू बनाउन बल गरिरहेछौं? अब त आधुनिक प्रविधि विस्तार पो बाटो हो कि? उपलब्ध आधुनिक प्रविधिको भरपूर उपयोग पो बाटो हो कि त? कोरोना–कहरले यी कुरामा गहिरिने परिवेश दिएको थियो।
तर, चार कुराले आधुनिक प्रविधि प्रयोग नगर्नमा हामी लाग्यौं। पहिलो, प्रविधि उपलब्ध छैन भनेर। दोस्रो, शिक्षक, विद्यार्थी तथा प्राध्यापक प्रविधि प्रयोगमा अभ्यस्त छैनन् भनेर। तेस्रो, विद्यार्थी तथा तिनका अभिभावकले किन्न सक्दैनन् भनेर। चौथो, प्रविधिले प्रयोगकर्ताको स्वास्थ्यमा असर पर्छ भनेर। तर, उपाय त थियो नि ! शिक्षक तथा प्राध्यापकका पेशागत भनिएका सङ्घ–सङ्गठनहरूले प्रविधि भित्र्याउन सक्थ्यौं नि !
तीन वटै तहका सरकारलाई तताउन सक्थ्यौं नि ! विश्वविद्यालय, विश्वविद्यालय अनुदान आयोग, सञ्चार सम्बन्धी कार्यालय, विदेशी दाता तथा साहुहरूसँग सहकार्य गरेर प्रविधि प्रयोग बढाउन सकिन्थ्यो। इलिच तथा रेमियरले नचिनेका ‘लर्निङ नोड’ हरू बनाई विद्यालयलाई टोलटोलमा विस्तार गर्न सक्थ्याै नि ! उल्टै प्रविधिको पहुँच छैन। यसले विभेद ल्याउँछ भनेर बोल्न थाल्यौं। यो भनेको प्रतिगामी स्वभावको पनि पराकाष्ठा हैन र? यही पराकाष्ठामा विद्यार्थीका भाग्य विधाताहरू रमाएका हैनौं र? हाम्रो यो रमाइले कोरोना–कहरलाई प्रविधि विस्तारको अवसर बनाउने परिवेश गुम्यो। अझै गुम्दै छ। यसको अर्थ हो– यो बाटोमा पनि हामी हिँडेनौं। हिँड्न चाहेनौं।
सिकाइ र पढाइ जोड्ने बाटाहरू
सिकाइ व्यक्तिगत हुन्छ, पढाइ सामूहिक। जोडाइ भने दोहोरो हुन्छ। विद्यार्थीले जोडे पनि हुने। शिक्षक तथा प्राध्यापकले जोडे पनि हुने। जोड्ने तरिका पनि सहज छ। गाग्री तथा बाल्टिनमा पानी बोक्ने विद्यार्थीले गाग्री वा बाल्टिन केबाट बन्छ भन्ने जान्दछ। कहाँ बन्छ भनी खोज्नसक्छ। पहिले कसले बनाउँथ्यो भन्नसक्छ। अहिले कसले बनाउँछ भन्नसक्छ। गाग्री वा बाल्टिनमा कति पानी अट्छ भन्नसक्छ। किन गह्रुँगो भयो भन्ने कुरा जान्दछ। अनलाइनवालाले त तुरुन्तै भन्नसक्छ। यस्ता अनेकन् कुरा छन्, जसमा विद्यार्थी जानकार हुन्छ। सोही जानकारीका आधारमा विद्यार्थीलाई पाठमा जोडाए हुँदैन र? मेलैसित खोरिया फाँडे झैं पढाउनुपर्ने हो र?
शिक्षक तथा प्राध्यापक क्रियाशील भएर पढाइलाई सिकाइमा जोडेको भए पनि हुन्थ्यो। म बाल्टिनबाट विज्ञानका कुन–कुन कुरा सिकाउन सक्छु? गणितका कुन–कुन कुरा सिकाउन सक्छु? भाषाका कुन–कुन कुरा सिकाउन सक्छु? यसरी आफूले पढाउने पाठलाई उपलब्ध सामग्रीसँग जोडेर पढाउने कला विकास गरे हुँदैन र? अर्थात् सिकाइमा पढाइ जोड्ने तथा पढाइमा सिकाइ जोड्ने काम शिक्षक तथा प्राध्यापकको हैन र? किन नगरेका हौं हामीले? किन नगराएका हुन् हाम्रा ‘मालिक’ हरूले? यो त काँक्राको झ्याङलाई थाँक्रो दिए जस्तो न हो। किसान थाँक्रो दिनसक्छ। शिक्षकले किन सकेनौं? प्राध्यापकले किन सकेनौं? किन गरेनौं? कोरोना दोषी हो कि शिक्षक तथा प्राध्यापकको कर्म दोषी हो? हामी सबैले घोत्लिनु पर्दैन र?
अनुसन्धान तथा समस्यामूलक सिकाइबाट पढाइ
खोज्ने–खोजाउने पढाइ वैदिक हो। त्यसैले खोजलाई गवेषण भनिएको हो। गाई खोज्ने। गाई भनेको गतिशील वस्तु हो। पत्ता लगाऊ गतिशील के–के हो? यो प्रश्नको उत्तर खोज्दा वैदिक पुर्खाले पृथ्वीलाई गाई माने। किनभने यसको गति छ। मान्छेलाई गति माने। किनभने ऊ कहाँबाट आयो? अनि कहाँ जान्छ? बिरुवालाई गाई माने। त्यो कहाँबाट आयो? कहाँ जान्छ? त्यस्तै, बुद्धले दुःख तथा सुखको क्षणभङ्गुरता खोज्न लगाए। उनको तरिका सहज छ। आँखा चिम्लिने। सासको गति हेर्ने। शरीरमा दुःखको अनुभूति हुन्छ। सुखको अनुभूति हुन्छ। ती दुवै एकछिन रहन्छन्। यही विधिमा टेकेर विद्यार्थीलाई प्रश्न दिए हुन्छ। त्यसैमा अनुसन्धान गर्न। आफैं प्रश्न बनाएर खोज्न लगाए हुन्छ। समूह मिलेर प्रश्न बनाए पनि हुन्छ।
समस्या दिएर खोजाउने पढाइ कानून विषय पढाउने संस्थाहरूमा व्यापक छ। नसुल्झिएका मुद्दाहरू दिने। उत्तर खोजाउने। यही प्रक्रियामा चिकित्सा शिक्षाका कक्षाहरू चलेका छन्। यो काम त सजिलै थियो। त्यसो गर्न कोरोनाले रोकेको हो र? बरु यजुर्वेद (३०.१०) को मन्त्र भन्छ– गुरु बन्न प्रश्न गर्न जान्नुपर्छ। शिष्य बन्न प्रश्न गर्न जान्नुपर्छ। अहिलेको सन्दर्भमा शिक्षक, प्राध्यापक तथा विद्यार्थी बन्न प्रश्न गर्न जान्नुपथ्र्यो, नभए सिक्नुपथ्र्यो। यो काम गर्न कोरोनाले रोकेको हो र? यसो गरेको भए हजारौं प्रश्नहरू बन्थे। हजारौं उत्तरहरू आउँथे। व्यक्तिगत रूपका। सामूहिक रूपका। त्यसतर्फ किन शिक्षक क्रियाशील भएनौं? किन प्राध्यापकहरू क्रियाशील भएनौं? किन तिनका मालिकहरूले यो कुरामा आँखा चिम्लियौं?
सालनाल जोडिएका दल र पेशाकर्मी सङ्घ–सङ्गठनहरू
दलहरूले पेशाकर्मीहरूका सङ्घ–सङ्गठन बनाए। किन बनाए उनीहरूले? उनीहरूको सोझाे रहर हो– आआफ्ना दलीय झाेला बोकाउनु। आफूले आन्दोलन गरेको वेला साथ पाउनु। सरकारी दाना खाएर दलको काम गर भन्नु। दलको सदस्यता बढाउनु। नियमित लेवी तिराउनु। त्यसरी गोडमेल गरेका शिक्षक तथा प्राध्यापकलाई आफू सत्तामा जानासाथ साखुल्ले सन्देश दिनु। सत्ता बाहिर आउनासाथ फेरि तिनै शिक्षक तथा प्राध्यापकलाई पछि लाग्ने सन्देश दिनु। देशको एक तिहाइ जनसङ्ख्यामा रहेका विद्यार्थीहरूको पढाइ तहसनहस हुँदा दलहरूले आआफ्ना शिक्षक तथा प्राध्यापकहरूलाई किन आदेश तथा सन्देश नदिएका हुन्? यस अर्थमा दलहरू शिक्षा सुधारक होइनन् भन्ने स्पष्ट हुन्छ। सर्वदलीय बैठकमा कोरोना–कहरको शिक्षाले प्रवेश नपाउनु अर्काे उदाहरण हो।
जाँच्ने भनेको पढेको कुरा विद्यार्थीले व्यवहारमा जोड्न सके कि सकेनन् भनेर खोजे हुँदैन र? त्यही ‘छाद्ने जाँच’ कै निरन्तरता दिनुपर्ने हो र? अनुसन्धान गराए के हुने? सिकाइ तथा पढाइ जोड्ने प्रश्न दिएर घरैमा लेखाए के हुने?
कोरोना–कहरमा शिक्षक तथा प्राध्यापक सङ्घ–सङ्गठनहरूले स्वस्फूर्त रूपमा साथीहरूलाई आधुनिक प्रविधिमैत्री बनाए। के गरौं, कसो गरौं भनी जानकारी बटुल्ने स्वैच्छिक समूह बनाए। यी स्तुत्य कामहरू थिए। ती कामहरूको सकारात्मक परिणाम पनि आयो। तर, त्यो कामलाई बोकेर विद्यार्थीहरूमा पुग्ने–पुर्याउने काम संस्थागत बनेन। यसरी हेर्दा शिक्षक प्राध्यापकका सङ्घ–सङ्गठनहरू पनि पेशागत होइन रहेछन् कि भन्ने शङ्का जन्मियो। कारण हो– पेशागत सङ्घ–सङ्गठनको धर्म हो पेशाकै चिन्तन। कोरोना–कहरमा कसरी पढाउने? कसरी सिकाउने? कसरी सिकाइ तथा पढाइ जोड्ने? कसरी जाँच गर्ने? कसरी गुणस्तर सुनिश्चित गर्ने?
यसबारे सङ्घ–सङ्गठनहरूले संवाद गरेनन्। गरेको भए शिक्षा मन्त्रालयले निर्देशन बनाएर बस्थ्यो र? शिक्षक तथा प्राध्यापकहरू ती निर्देशन कुरेर बस्थे र? यो आधारमा हेर्दा हाम्रा पेशागत भनिएका सङ्घ–सङ्गठनहरू आत्मकेन्द्रित देखिए। अर्काे शब्दमा भन्दा आफ्नै सुरक्षा केन्द्रित। आफ्नै सुविधा केन्द्रित। के यो आत्मकेन्द्रित चिन्तन विद्यार्थी केन्द्रित बनाउन मिल्दैन र? मिलेको भए शिक्षक तथा प्राध्यापक महासङ्घहरूले कोरोना–कहरको बाटो आफैं खोज्थे। खोजाउँथे। शिक्षा मन्त्रालय तथा विश्वविद्यालयका पदाधिकारीहरूलाई भन्थे– मालिकहरू हो, विद्यार्थीको पढाइका जिम्मेवार हामी हौं। कोरोना–कहरमा पढाउने डिजाइन हामीसँगै छ।
त्यो आँट नै भएन। के यसरी शिक्षक तथा प्राध्यापकका सङ्घ–सङ्गठनहरूले सोच्नुपर्ने हैन र? ज्यामी सोच्छ। हली सोच्छ। किन हामी शिक्षक महासङ्घ तथा प्राध्यापक महासङ्घले सोचेनौं? केले रोक्यो– प्रवृत्तिले? संवेगले? विवेकले? यो कुरामा राजनीतिक दलहरू किन मौन छन्? पठनपाठनको आन्दोलनमा शिक्षक तथा प्राध्यापकहरूलाई तिनले किन अपील नगरेका? सडकमा ओर्लिन अपील। विद्रोह गर्न अपील। जनसङ्ख्याको एक तिहाइ विद्यार्थीको भविष्य सुधार्न अपील गर्नु पर्दैन तिनले?
जाँचको बोझ
आराध्य शिक्षक तथा प्राध्यापकले जसरी पनि पढाए। तिनका विद्यार्थीको जाँच के हुने? कसैले आधाउधी पढाए। तिनको के हुने? कसैले ठ्याम्मै पढाएनन्। तिनको के हुने? कसैले अनलाइनमा पढे। कसैले रेडियो र टीभीमा। कसैले अफलाइनमा पढे। कसैले टोलटोलमा। कसैले स्वाध्ययन गरे। तिनको जाँच कसरी हुने? परीक्षा बोर्ड र विश्वविद्यालयका परीक्षा शाखाहरू परम्पराकै जाँचको रहरमा छन्। मानौं, विद्यार्थी चोर हुन्। तिनलाई पुलिसिङ गर्नुपर्छ। आचार्यकुलमा त्यसो गरेनन्। गुरुकुलमा त्यसो गरेनन्। पिंढी शिक्षामा त्यसो गरेनन्। इभान इलिचको लर्निङ नेटवर्कमा त्यसो गरेनन्। हाम्रा जाँचकी ‘मालिक’ हरूले चाहिं त्यसै गर्नुपर्ने हो र?
जाँच्ने भनेको पढेको कुरा विद्यार्थीले व्यवहारमा जोड्न सके कि सकेनन् भनेर खोजे हुँदैन र? त्यही ‘छाद्ने जाँच’ कै निरन्तरता दिनुपर्ने हो र? परियोजना दिए के हुने? अनुसन्धान गराए के हुने? सिकाइ तथा पढाइ जोड्ने प्रश्न दिएर घरैमा लेखाए के हुने? स्तरीय परीक्षा बनाएर विद्यार्थी, शिक्षक तथा अभिभावकलाई दिए के हुने? जुन प्रविधिमा पढे–पढाइयो, त्यही प्रविधि मार्फत जाँचे के हुने? पालिकाका विज्ञ तथा क्याम्पसका विज्ञबाटै समूहगत तथा व्यक्तिगत रूपमा परीक्षण गरी चोरेको तथा आफ्नै तागतले लेखेको कुरा पहिल्याए के हुने? नियमले गर्दा अप्ठेरो छ भने त्यो अंश नै बदले के हुने? यी र यस्ता प्रश्नको उत्तर खोज्न–खोजाउन कसले रोक्यो र? प्रणालीले? सरकारले? रुढमा चल्ने आदतले? परिवर्तन नचाहने बानीव्यहोराले? वा
अरू केहीले?
बन्द गर्ने कि खोल्ने?
शिक्षालयहरू खोल्ने कि बन्द गर्ने अहिलेको सङ्कथन यही हो। सिकाइ र पढाइ जोड्ने कला अपनाए यो सङ्कथन बदलिन्थ्यो नि ! विद्यार्थी प्रथम भन्ने चिन्तन शिक्षक तथा प्राध्यापकमा आए यो सङ्कथन बदलिन्थ्यो नि ! आफ्नै तथा पश्चिमी पुर्खाको विरासत स्विकारे पनि हुन्थ्यो नि ! शिक्षक तथा प्राध्यापकलाई तिमीलाई तलब दिएर पालेको विद्यार्थीकै लागि हो भने हुन्थ्यो नि ! कोरोना–कहरमा पढ्ने कसरी? सिक्ने कसरी? परम्परागत तथा आधुनिक प्रविधि सापेक्ष शैक्षिक सामग्री के बनाउने? भएका सामग्रीहरू कसरी उपयोग गर्ने? जसरी पनि ती विद्यार्थीले पढ्न पाउनुपर्छ। खेल्न पाउनुपर्छ। जाँच दिन पाउनुपर्छ। पढेका कुरा गुणस्तरीय हुनुपर्छ, त्यसको जिम्मा तिम्रो हो। उपाय खोज भनेर शिक्षक तथा प्राध्यापकलाई भने हुन्छ नि !
बुद्धको शब्दलाई सरलीकरण गरी ‘अप्प दीपो भवः’ भने हुन्छ नि ! सुकरातले भने झैं यसको उत्तर तिमी नै जान्दछौ भने हुने नि ! विद्यार्थी, शिक्षक, तथा अभिभावक जो डराए पनि समानान्तर पूरक शिक्षामा जाऊ भने हुन्थ्यो नि ! विद्यालय, कलेजमा आए यसरी आऊ। घरमा बसे यसरी पढ भने हुन्थ्यो नि ! लर्निङ वेभले त त्यही भन्छ। आजीवन शिक्षा प्रणालीले त्यही भन्छ। अनौपचारिक तथा खुला शिक्षालयले त्यही भन्छ। बढ्दो प्रविधि प्रयोगले त्यही भन्छ। यो वेलामा परस्पर विरोधी चिन्तन मात्रै ठीक हो र? बुद्धले सिकाएको मध्यमार्ग थियो नि ! अतिवादमै जानुपर्ने हो र? विद्यालय–कलेज खोल्ने अतिवाद। बन्द गर्ने अतिवाद।
बिसौनी
कोरोना–कहरमा पठनपाठनलाई निरन्तरता दिन घरेलु विरासतको समाधान थियो– आधुनिक प्रविधि नभएको ठाउँलाई। लर्निङ नेटवर्कको विरासत थियो– अफलाइन सुविधा भएको ठाउँमा। अनलाइन सुविधा भएको ठाउँमा शिक्षक तथा प्राध्यापक आफैंले सामग्री बनाएर पढाएको भए हुन्थ्यो।
हामी बुद्धिजीवी हौं भन्ने रहर भए ‘अप्प दीपो भवः’ को अभियान चलाउने समाधान थियो। एक्काइसौं शताब्दीका कुरा गर्ने भए विद्यार्थीलाई अनुसन्धान, समस्या समाधान, समालोचनात्मक चिन्तन, नवप्रवर्तन आदिका कार्यमा लगाउने समाधान थियो। वैकल्पिक शिक्षा भन्ने हो भने समानान्तर समकक्षी शिक्षाको समाधान थियो। डराएका विद्यार्थीलाई। डराएका शिक्षक तथा प्राध्यापकलाई। डराएका अभिभावकका सन्ततिलाई। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्छाैं भन्नेलाई त कहिले केले पो रोकेको थियो र?
यस अर्थमा हामीलाई योजक चाहिएको छ। मालिकहरूको आदेश चाहिएको छ। शिक्षक–प्राध्यापकलाई चुनौती दिने तथा सघाउने स्थानीय, प्रादेशिक, तथा सङ्घीय सरकार चाहिएको छ। बुद्धको मध्यमार्ग चाहिएको छ। विद्यार्थी प्रथम भन्ने शिक्षक तथा प्राध्यापक चाहिएको छ। कोरोना–कहरले खोजेको त्यही हो।
(हिमाल मासिकको २०७८ असोज अंकमा ‘किन कसैले केही गरेन?’ शीर्षकमा प्रकाशित लेख। )