नन्दप्रसादलाई न्याय खोई?
छोराको हत्यारालाई कारबाहीको माग गर्दै आमरण अनशन बसेका वेला ६ असोज २०७१ मा ज्यान गएका गोरखा, फुजेल गाउँ–७ का नन्दप्रसाद अधिकारीको शवको अझै अन्तिम संस्कार हुनसकेको छैन।
राम शाह भन्थे– न्याय नपाए गोर्खा जानु। तर, गोरखाकै नन्दप्रसाद अधिकारी न्याय नपाएर विगत सात वर्षदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शव बाकस नं. ४ मा छन्।
फुजेल गाउँ–७, गोरखाका अधिकारीको आमरण अनशनकै क्रममा ६ असोज २०७१ मा ज्यान गएको हो। आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाही माग गर्दै लगातार ३३४ दिन अनशन बसेपछि वीर अस्पतालमा उनको ज्यान गएको थियो।
हत्यारालाई कारबाही नभएसम्म अन्तिम संस्कार नगर्ने अडानपछि नन्दप्रसादको शव शिक्षण अस्पतालमा छ। त्यस यता केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा पटक पटक प्रधानमन्त्री बने, तर नन्दप्रसादले न्याय पाएनन्।
शव बाकसबाट न्याय मागिरहेका नन्दप्रसादलाई न्याय माग्दै बुधबार परिवार, आफन्त र अधिकारकर्मीले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन्। उनीहरूले ‘नन्दप्रसादलाई न्याय खोई?’, ‘गंगामायालाई बचाऊ’ भन्ने जस्ता प्लेकार्ड सहित विरोध गरेका हुन्।
श्रीमान्को ज्यान गएपछि पनि गंगामाया अधिकारीले न्यायको लडाइँ जारी राखेकी छन्। छोराको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै उनी अझै अनशनरत छन्। तर, सरकार र सरोकारवालाले उनको माग सुनेको नसुन्यै गरिरहेको छ।
तस्वीरहरूः अमित मचामसी/हिमालखबर