एमाले अध्यक्ष ओलीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल सहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै दिएको निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
एमालेले प्रतिनिधि सभाका १४ सांसदलाई कारबाही गर्दै पदमुक्त भएको घोषणा गर्न सिफारिश गरेको थियो। एमालेले सिफारिश गरेको ११औं दिनमा सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त गर्न नसकिने जवाफ दिएका थिए।
त्यो अवधिमा नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको थियो। जसमा एमालेले पदमुक्त गर्न सिफारिश गरेका १४ जना सांसद पनि थिए।
सभामुखले पदमुक्त नगरेको र निर्वाचन आयोगले कारबाही गरेका सांसदको सनाखत गरेको भन्दै एमाले अध्यक्ष ओलीले १७ भदौमा सर्वोच्च अदालतमा निवेदन दिएका थिए। ओलीले उनीहरूलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गरेका थिए।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ।
यस्तै, लुम्बिनी प्रदेश सभाका दुई जना सांसदलाई पदमुक्त गर्न माग गरिएको ओलीको अर्को निवेदनमा पनि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। त्यसमा पनि कारण देखाउ आदेश दिएको छ।
सर्वोच्चले निर्वाचन अयोग, संघीय संसद् सचिवालय र लुम्बिनी प्रदेश सचिवालयबाट सक्कली फाइल मगाउन आदेश दिएको छ।