संस्कृतिका नाममा थोत्रा चलन कहिलेसम्म बोक्ने?
संस्कृतिको प्रकृति नै परिवर्तनशील छ, तर संस्कृति जोगाउने नाममा अमानवीय थोत्रा र पुराना चलनलाई बोकिराख्नु पनि त्यसका विरुद्ध हिंड्नु हो।
शरद यामको आरम्भसँगै हिन्दू समुदायका महिला केन्द्रित धार्मिक र सांस्कृतिक पर्वहरू शुरू भएका छन्। दशैं, तिहार र छठ आउँदै छन् भने भर्खरै तीज र ऋषिपञ्चमी सकिएका छन्। तीज र ऋषिपञ्चमीसँगै रीतिथितिलाई आलोचनात्मक ढङ्गले हेर्ने जमात पनि बढ्दै गएको छ।
मिथकसँग जोडेर महिलालाई महीनावारी जस्ता नियमित प्राकृतिक प्रक्रियालाई समेत अशुद्ध मान्ने बनाइएको छ। जसले गर्दा महीनावारीको समयमा अरूलाई छोइँदा ‘पापको भारी बोक्नुपर्छ’ भन्ने सन्त्रास मेट्न पञ्चमी पूजा गर्नुपर्ने धार्मिक मान्यतालाई पछ्याइरहन बाध्य छन्।
एक त यी कुरा अवैज्ञानिक छन्। अर्को, कथाका विषयलाई लिएर उही शास्त्रीय र पितृसत्तात्मक संरचनालाई नै पछ्याइरहने कि यस्ता विभेदपूर्ण संस्कृतिलाई छोडेर अघि बढ्ने भन्ने आवाज उठिरहेका छन्।
यस्ता सवाल उठाउँदा परम्परागत चिन्तन बोकेका धेरै मानिसले भने तीज र पञ्चमीभित्रै वैज्ञानिकता देख्छन्, हिन्दू संस्कृतिलाई अवहेलना गरेको आरोप लगाउँछन्। अझ डलरवादी, उग्रनारीवादी भनेर उडाउँछन्। तर, यस्ता संस्कृतिका पहरेदारका रूपमा पुरुषलाई भन्दा महिलालाई नै प्रस्तुत र प्रदर्शित गरिएको पाइन्छ, धेरै समुदाय र समाजमा।
संस्कृतिले आफैंलाई बुझ्ने बाटो देखाउँछ। मानिसको जीवन जिउने शैली निर्माण गर्छ। मिथक, धर्म र चाडपर्वले यसलाई अगाडि बढाउन मद्दत गर्छन्। यो मानवीय जीवनको अजैविकीय सामाजिक पक्ष हो।
के हो संस्कृति?
संस्कृति भन्ने बित्तिकै हाम्रो दिमागमा धर्म, कला, साहित्य, सङ्गीत, दर्शन, रीतिथिति, आचरण भन्ने आउँछन्। अध्येताहरू भन्छन्- संस्कृति वृद्धि हुँदै जान्छ र यसको अस्तित्व कालान्तरसम्म रहिरहन्छ। यहाँसम्म कि हामीले सोच्ने, सही र गलत छुट्याउने, हिंडाइ, बसाइ, मानसम्मान आदि विषय पनि संस्कृतिमै पर्छन्।
पश्चिमा र पूर्वीय संस्कृति भनेर अध्ययन पनि गरिन्छ। स्थान विशेष र वातावरण विशेष भए पनि आदिम संस्कृति कतै आप्रवासी जनसंख्याको आधारमा बनेका छन् भने कतै सामाजिक मूल्य–मान्यतामा आधारित छन्। कहीं अन्नबाली तथा खेतीपातीको विकासबाट त कहीं धर्मबाट प्रभावित भएको मानिन्छ।
समाजशास्त्रीय दृष्टिकोणमा संस्कृति भन्नाले भाषा, रहनसहन, विश्वास, नीति–नियम, कला, ज्ञान, सङ्ग्रहात्मक पहिचान र पुराना संस्मरण हुन्। यी तमाम विषयवस्तु मानव समुदायले विकास गरेका हुन्। यिनैले सामाजिक वातावरण अर्थपूर्ण बनाउँछ।
संस्कृति मानवीय तत्त्व हो, जैविक होइन। मान्छेका विश्वास र अभ्यास पनि यसमै पर्छन्। जसरी प्रकृतिले वातावरणलाई आकार दिइरहेको हुन्छ, त्यसैगरी संस्कृतिले पनि प्रकृतिसँग सम्बन्धित भएर मानवीय अभ्यासलाई आकार दिइरहेको हुन्छ। सामाजिक जीवनका मूल्य-मान्यतालाई प्रतिविम्बित गर्छ। व्यक्ति र समाजले गर्न हुने र नहुने जस्ता विषय पनि संस्कृतिभित्रै पर्छन्।
संस्कृतिले आफैंलाई बुझ्ने बाटो देखाउँछ। मानिसको जीवन जिउने शैली निर्माण गर्छ। मिथक, धर्म र चाडपर्वले यसलाई अगाडि बढाउन मद्दत गर्छन्। यो मानवीय जीवनको अजैविकीय सामाजिक पक्ष हो।
संस्कृतिभित्र भाषा, रहनसहन, विश्वास, अभ्यास, नीति–नियम, कला पर्छन् भन्ने पक्षलाई आधार मान्ने हो भने पनि हाम्रो देशमा हिन्दू संस्कृतिको बाहुल्य छ र हिन्दू धर्मग्रन्थमा उल्लिखित आचारसंहितालाई अपनाउँदै आएका छौं, अहिलेसम्म। प्रसिद्ध समाजशास्त्री डोरबहादुर विष्टले भाग्यवाद र विकासः आधुनिकीकरण हेतु नेपालको जमर्को पुस्तकमा नेपालको शक्ति यहाँका विभिन्न जनजाति समूहका मौलिक गुणहरूमा निहित रहँदै आएको छ, तर भारतीय मोडेलको नक्कल गर्ने कोशिशले गर्दा यी गुणहरू ओझेलमा पर्न र दबिन गएको उल्लेख गरेका छन्।
प्रसिद्ध समाजशास्त्री डोरबहादुर विष्टको निचोड छ- आयातीत संस्कृतिका नकारात्मक तत्त्वहरू पहिचान गरी फैलनबाट रोक्नुपर्छ र मिल्काउनु पनि पर्छ। यससँगै हिन्दू जात प्रथा र संस्कृतिमा नकारात्मक तत्त्व छन् र ती तत्त्वलाई पनि हटाउनुपर्छ।
त्यस्तै, यहाँको मौलिक संस्कृतिमा भारतीय अमिल्दा विषय लाद्न खोजिएकाले प्रगतिमुखी र परिवर्तनकारी काममा धक्का पुगेको जनाएका छन्। लेखक विष्टले भविष्यमा पनि लगातार बाहिरी संस्कृतिको आगमन भइरहन सक्ने भएकाले यस प्रति सचेत हुनुपर्ने औंल्याएका छन्। उनको जोड छ- आयातीत संस्कृतिका नकारात्मक तत्त्वहरू पहिचान गरी फैलनबाट रोक्नुपर्छ र मिल्काउनु पनि पर्छ। हिन्दू जात प्रथा र संस्कृतिमा नकारात्मक तत्त्व छन् र ती तत्त्वलाई हटाउनुपर्छ।
संस्कृति भनेका मानव समाज चलायमान र प्रगतिशिल हुने बाटाहरू हुन् भन्ने बुझ्न सकिन्छ। संस्कृतिभित्र चलेका सबै विषयवस्तु मानिसले नै चलाएका भए पनि सम्पूर्ण मानवहितका लागि नहुन पनि सक्छन्। त्यस्ता संस्कृतिलाई हटाउन वा छोड्न पनि पर्छ।
संस्कृतिको विकास
सांस्कृतिक मानवशास्त्रका पिता मानिने बेलायती मानवशास्त्री इडवर्ड बर्नेट टेलरको सन् १८७१ मा प्रकाशित प्रिमिटिभ कल्चर पुस्तक नै मानव संस्कृतिबारे अध्ययन तथा खोज गर्न कोशेढुङ्गा सावित भएको थियो। उनी चार्ल्स डार्बिनको उद्विकासवादी सिद्धान्तबाट पनि प्रभावित थिए। उनको परिभाषा अनुसार, संस्कृति एउटा त्यस्तो जटिल समग्रता हो जसमा ज्ञान, विश्वास, नैतिकता, कानून, वेशभूषा, रीतिरिवाज, अन्य क्षमता र बानी पर्छन्, जुन मानिसले समाजको सदस्यका रूपमा अभ्यास र अवलम्बन गर्छन्।
टेलरकै समयदेखि मानव संस्कृतिका खोजलाई अनुसन्धात्मक र तथ्याङ्कीय रूपमा अध्ययन गर्न थालिएको थियो। संस्कृतिको अध्ययन गर्दा सांस्कृतिक विविधताको चेत र व्यावहारिक विधिको प्रयोग गनुपर्ने औंल्याएका छन्। उनका यी मान्यताले पनि प्रत्येक समाजै पिच्छे संस्कृति फरक-फरक हुनसक्छन्। टेलरले समाजलाई विभिन्न समूहमा विभाजन गर्दै त्यही अनुसार संस्कृतिको वर्णन गरेका छन्, आदिम, मध्ययुगीन र आधुनिक संस्कृति।
यसरी संस्कृतिलाई मानव सभ्यताको विकासका रूपमा पनि लिन सकिन्छ। १५औं र १६औं शताब्दीमा यूरोपियनमा आदिम संस्कृतिको बृहत् अभ्यास थियो। यो अभ्यास गर्ने दार्शनिकमध्ये थोमश हब्सले आदिवासी प्रति आफ्नो ‘बायस्ड’ धारणा व्यक्त गरेका थिए। उनले आदिवासी समुदाय कला, अक्षर र समाज विना बाँचिरहेको तर्क गरेका थिए।
संस्कृति अभ्यास हुँदै जाने, नयाँ परिवर्तन र आविष्कार थपिंदै जाने प्रक्रिया पनि हो। यो परिवर्तनशील पनि छ। गतिशील हुने भएकैले कुनै पनि संस्कृतिको परिभाषालाई एउटै कोणबाट परिभाषित गर्न गाह्रो हुन्छ।
यस्ता एकपक्षीय अवधारणाहरू पनि संस्कृतिका विषयमा देखा परेका थिए। तर, मानव समाज विशाल छ। मानव सभ्यता, वासस्थान र वातावरण अनुसार संस्कृतिमा विविधता हुने गर्छन्।
संस्कृति अभ्यास हुँदै जाने, नयाँ परिवर्तन र आविष्कार थपिंदै जाने प्रक्रिया पनि हो। यसलाई कलात्मक तथा आध्यात्मिक सभ्यताको उपलब्धि मात्रै पनि ठान्नु हुँदैन। मानव निर्मित प्रविधि, मूल्य-मान्यता जस्ता चरण पार गर्दै जाँदा संस्कृतिको जगमा पनि इँटा थपिंदै गएको हुन्छ। यो परिवर्तनशील पनि छ। गतिशील हुने भएकैले कुनै पनि संस्कृतिको परिभाषालाई एउटै कोणबाट परिभाषित गर्न गाह्रो हुन्छ।
परिवर्तनशील संस्कृति
परिवर्तन संस्कृतिको प्रकृति भए पनि विगत सांस्कृतिक सम्पदालाई संरक्षण र सम्मान गर्नु जरुरी पनि छ। संस्कृति झल्काउने स्मारक, भवन, स्थानको संरक्षणको लागि संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (यूनेस्को) गठन भएको छ।
संस्कृतिले सामाजिक जीवनशैलीलाई प्रतिनिधित्व गर्छ। आधुनिक र विकसित विश्व परिवेशमा संस्कृतिसँगै विशिष्ट सभ्यता पनि आउँछ। हामीले अभ्यास गरिरहेका संस्कृति कतिपय अवस्थामा सभ्यताको चरणमा नपुगेका हुन्छन्। त्यसैले नै आफ्नै संस्कृति र धर्ममाथि प्रश्न गरिन्छन्।
आधुनिक र विकसित विश्व परिवेशमा संस्कृतिसँगै विशिष्ट सभ्यता पनि आउँछ। हामीले अभ्यास गरिरहेका संस्कृति कतिपय अवस्थामा सभ्यताको चरणमा नपुगेका हुन्छन्। त्यसैले नै आफ्नै संस्कृति र धर्ममाथि प्रश्न गरिन्छन्।
सभ्यताले सामाजिक, भौतिक, आध्यात्मिक आदि अवस्था र उन्नति प्रगतिलाई प्रतिविम्बित गर्छ। संस्कृतिभित्रका असामञ्जस्य र द्विविधालाई छोड्दै नयाँ अवधारणा तथा व्यवहार कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्छ।
आखिर संस्कृति त परिवर्तनशील तथा प्रगतिशील नै रहेछ नि। मार्क्सवादी लेखक निनु चापागाईंले पनि यस्तै तर्क गरेका छन्। घनश्याम शर्मा पौड्यालको पुस्तक धर्म, समाज र संस्कृतिको भूमिकामा चापागाईंले भनेका छन्, ‘जनतालाई प्रगतिको मार्गमा लैजान, राष्ट्रलाई माथि उठाउन र समग्र देशलाई नयाँ चेतना तथा लोकतन्त्रको भावनाबाट ओतप्रोत बनाउन चाहने हो भने हामी सबैले धार्मिक रूढिवाद र सामाजिक पूर्वाग्रहको आवरणबाट आफूलाई बाहिर निकाल्नैपर्छ।”
संस्कृतिलाई चेतनाको अभिव्यक्ति पनि भनिन्छ। महिला केन्द्रित विभिन्न चाडबाड तथा महिला प्रतिको सामाजिक, लैंगिक बुझाइ र गरिने व्यवहारबारे समाजमा उठिरहेका आलोचनात्मक प्रश्नलाई स्वाभाविक मान्न सकिंदैन र? यस्ता सवाल तथा नयाँ अभ्यासहरू पनि त संस्कृति निर्माणकै सहायक रहेछन् नि। अहिले ‘संस्कृति विरोधी कुरा नगरौं’ भन्ने जमातले यसरी पनि सोच्ने हो कि?
अर्को, संस्कृति जोगाउने भन्दै पुराना र थोत्रा भइसकेका, महिलालाई अमानवीय लाग्ने चलन र रीतिथितिलाई अँगाल्दै कहिलेसम्म रमाइरहने हो? थोत्रा भइसकेका काम नलाग्ने कुरा त छोड्दै जाने हो। त्यसको ठाउँमा मानवीय र विश्व परिवेशसँग सुहाउने अनि वैज्ञानिक र प्राकृतिक पक्षलाई अवलम्बन पो गर्नुपर्छ।
- शर्मा समाजशास्त्रकी विद्यार्थी हुन्।