आजबाट ७४ जिल्लामा भेरोसेल लगाइँदै, कुन जिल्ला कसलाई?
कोभिड-१९ विरुद्धको खोप भेरोसेलको पहिलो डोज आजबाट ७४ जिल्लाका विभिन्न उमेर समूहमा लगाउन थालिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, मनाङ, मुस्ताङ र रुकुम (पूर्व) बाहेक सबै जिल्लामा खोप लगाइनेछ। मनाङ र मुस्ताङका सबै जनालाई खोप लगाइसकिएको छ भने रुकुम (पूर्व)मा पछि लगाइने भएको छ। भेरोसेलको पहिलो डोज आजबाट १४ असोजसम्म लगाइनेछ।
चीनसँग जोडिएका ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, डोल्पा, हुम्ला, बाजुरा र दार्चुलामा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई भेरोसेलको पहिलो डोज लगाइनेछ। उनीहरूलाई ४ देखि १४ कात्तिकसम्म दोस्रो डोज लगाइनेछ।
त्यस्तै, काभ्रे र चितवनमा ३५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाइनेछ। दुवै जिल्लामा १८ वर्षभन्दा माथिका विद्यार्थीले पनि खोप पाउनेछन्।
काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप, मकवानपुर, सर्लाही र अछामका ४० वर्षभन्दा माथिका नागरिकले भेरोसेलको पहिलो डोज पाउनेछन्। यी जिल्लाका १८ वर्षभन्दा माथिका विद्यार्थीले पनि खोप पाउनेछन्।
यससँगै ५५ जिल्लाका ४५ वर्षभन्दा माथि नागरिकलाई भेरोसेलको पहिलो डोज लगाइने भएको छ। यी सबै जिल्लाका १८ वर्षभन्दा माथिका विद्यार्थीलाई पनि पहिलो डोज लगाइनेछ।
यस अघि छुटेका अग्रपंक्तिमा खटिने, अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र, होटल व्यवसायमा काम गर्ने व्यक्तिले पनि पहिलो डोज लगाउन पाउनेछन्। यसका लागि केही दिन अघि सरकारले चीनबाट ४४ लाख डोज खोप ल्याएको छ।