शीर्षस्थानको ओमानलाई हराउँदै चौथो स्थानमा उक्लियो नेपाल
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आइतबार भएको खेलमा ओमानलाई हराउँदै नेपाल अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ। शीर्षस्थानका तीन टोलीले विश्वकप छनोट खेल्न पाउनेछन्।
ओमानमा जारी त्रिदेशीय शृङ्खला अन्तर्गत आइतबार भएको खेलमा बलर चम्किएपछि नेपालले सहज जित निकालेको हो। ओमानले दिएको १२२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको छ।
नेपालका लागि ज्ञानेन्द्र मल्लले ५२, आसिफ शेखले ४०, कुशल भुर्तेल र रोहित पौडेलले ६-६ तथा शरद भेषवाकरले एक रन बनाए। मल्ल र भेषवाकर नटआउट रहे।
घरेलु टोली ओमानलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछाने र करण केसीले चार-चार विकेट लिए भने शरद भेषवाकरले दुई विकेट लिए। लामिछानेले ८.१ ओभरमा दुई मेडन राख्दै १८ रन मात्रै खर्चिए।
त्यस्तै, केसीले ८ ओभरमा एक मेडन राख्दै २५ रन दिए। भेषवाकरले पनि ६ ओभरमा एक मेडन राख्दै २१ रन खर्चिए। आज सोमपाल कामी, आरिफ शेख र सुशन भारीले पनि कसिलो बलिङ गरे।
ओमानका लागि जिसन मक्सुदले ४१ रन बनाए। अन्य खेलाडी भने टिक्न सकेनन्।
यो जितसँगै नेपालको ८ अङ्क भएको छ। नामिबियाको ८ अङ्क नै भए पनि रनरेटका आधारमा नेपाल चौथो स्थानमा उक्लिएको हो। अहिलेसम्म नेपालले आठ खेलमा मात्रै खेलेको छ।
त्यस्तै, शीर्षस्थानमा रहेको ओमानले १३ खेलमा १० जित हासिल गर्दै २० अङ्क जोडेको छ। दोस्रो स्थानमा रहेको अमेरिकाले १५ खेलमा सात जित निकाल्दै १४ अङ्क जोडेको छ भने तेस्रो स्थानमा रहेको स्कटल्यान्डले आठ खेलमा चार जित र एकमा अङ्क बाँड्दै ९ अङ्क जोडेको छ।
त्यस्तै, यूएईले सात खेलमा तीन जित र एकमा अङ्क बाँड्दै ७ अङ्क जोडेको छ भने पपुवा न्युगिनीले अहिलेसम्म खेलका आठ वटै खेल हारेको छ।
लिग-२ मा रहेका सात देशमध्ये शीर्ष स्थानका तीन देशले सन् २०२३ विश्वकपका लागि छनोट खेल्न पाउनेछन्। विश्वकप छनोटमा १० टीम हुनेछन्। छनोट प्रतियोगिताको शीर्षस्थानमा रहेका दुई टीमले विश्वकप खेल्न पाउनेछन्।