किन घट्दै छ काम प्रतिको लगाव?
बेथिति र अनियमितता बढ्दै जानुमा केही प्रणालीगत कमजोरी होलान्, केही नजानेर वा नबुझेर पनि भएका होलान्। तर, बिगार्ने केन्द्रका काम जाने-बुझेकै मान्छेले गरेका छन्, दूरदराजकाले होइन।
महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको २०७८ सालको आफ्नो प्रतिवेदन अनुसार, गएको वर्षमा पनि बेथिति र बेरुजुको मात्रा बढेको छ। विगतमा भए जस्तै बेथिति दोहोरिएका छन्। प्रतिवेदन अध्ययन गर्दा विगतका सुझाव कार्यान्वयन भएको देखिंदैन।
विगतका प्रतिवेदन केलाउँदा पनि अनियमितताका घटना र प्रवृतिमा कमी आएको देखिंदैन। यस्ता घटनामा संलग्न विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि मुद्दा चलाउँदै आएको छ। कारबाही हुन्छ भन्ने जान्दाजान्दै पनि किन यस्ता घटना भइरहेका छन्?
सार्वजनिक क्षेत्रमा बेथिति हुन नदिन वा नियन्त्रण गर्न कानून छन्। अनुगमन तथा नियामक निकायबाट थप निगरानी पनि भइरहेकै छन्। गलत काम गर्नेलाई कारबाही पनि भएको छ। तैपनि बेथितिको मात्रा घट्दैन, किन?
अहिले साक्षरता बढेको छ, विद्यालय जानेको संख्या बढ्दै गएको छ। प्रविधिले पनि धेरै विषय र क्षेत्रमा जानकारी लिन सजिलो भएको छ। तर, समाजमा बेथिति, अनियमितता, आपराधिक घटना पनि बढ्दै गएका छन्। किन?
यस्तो रोग सार्वजनिक प्रशासनमा मात्र नभएर समाजका सबै क्षेत्रमा पुगेको छ। धेरैले पाउँदासम्म लिएकै छन्, जुनसुकै तरिका अपनाएर होस्। फेरि उनीहरूले नै सुशासनका गफ दिने प्रवृत्ति बढ्दो छ।
सार्वजनिक क्षेत्रमा बेथिति हुन नदिन वा नियन्त्रण गर्न कानून छन्। अनुगमन तथा नियामक निकायबाट थप निगरानी पनि भइरहेकै छन्। गलत काम गर्नेलाई कारबाही पनि भएको छ। तैपनि, बेथितिको मात्रा घट्दैन।
केमा छ समस्या?
आजका धेरै मानिस द्वैध चरित्रमा बाँचेका छन्। बोलीचालीमा एउटा कुरा गर्छन्, तर व्यवहारमा फरक। सार्वजनिक थलोमा आर्थिक अनुशासन, पारदर्शिता, मितव्ययिताको चर्चा गर्छन्, तर मौका पाउनासाथ त्यस विपरीत काम गर्न पछि पर्दैनन्। सभा–समारोहमा सुशासनका नारा लगाउनेहरू नै कार्यालय समयमा सेवाग्राहीको काम गर्न आवश्यक ठान्दैनन्, पूरा समय कार्यालयमा बस्दैनन्।
सन् १९८० मा साहित्यतर्फको नोबेल पुरस्कार पाएका लेखक चेस्ल मिलसले द क्याप्टिभ माइन्ड पुस्तकमा विशेष खालको औषधि खुवाएर मानिसमा अपेक्षित व्यवहार बनाउन सकिने तर्क गरेका छन्। त्यस्तो औषधि खाने मानिसले द्वैध व्यवहार देखाउने गर्छ। लेखक मिलसले भने जस्तै कतै हाम्रा खानपिन र बानीव्यहोराका कारण द्वैध मानसिकता त बनिरहेको छैन? होइन भन्न कठिन छ, किनकि जान्ने-बुझ्नेहरूकै कामबाट बेथिति र अनियमितता बढिरहेका छन्।
काम प्रति लगाव भएको मान्छेलाई कस्तो ठाउँमा काम गर्छु भन्ने विषयले अर्थ राख्दैन। जहाँ रहेर काम गरे पनि नतीजा दिन सक्छन्। यस्ता व्यक्तिले कम्तीमा पनि काम गर्ने प्रयास त गरिरहन्छन्।
काम प्रति इमानदारी वा सदाचार कम भएर यस्तो अवस्था आएको हो भन्न सकिएला। आफ्नो काम प्रति लगाव बढाउन उत्प्रेरणाका सिद्धान्तले कार्यस्थल, काम गर्ने वातावरण, दण्ड-पुरस्कार, अनुगमन सुपरिवेक्षण आदि चाहिन्छ भन्ने गरिन्छ। तैपनि, व्यक्तिको चाहना, अन्तर्मनको अवस्था, दृढ निश्चय एवं आचरण जस्ता पक्ष अझ महत्त्वपूर्ण हुन्छन्।
अब त सेवासुविधा बढ्दा काम हुन्छ भन्ने पनि रहेन। राम्रै स्थान र पदमा काम गरिरहेकाहरूमा पनि समस्या छ। व्यक्तिको काम प्रतिको प्रतिबद्धता वा लगाव कम भएपछि त्यससँग जोडिएका सेवाग्राही वा अन्य व्यक्ति पनि प्रभावित हुन्छन्।
एउटा कर्मचारीले कुनै दिन एउटा काम नगर्दा केही व्यक्तिको काम मात्र प्रभावित हुन्छ। एउटा चालकको काम प्रति लगाव नभएमा सवारी साधनमा यात्रा गर्ने व्यक्तिको जीवन थप जोखिमपूर्ण बन्छ। एउटा माझीको कामसँग डुङ्गामा चढ्नेको जीवन रहने/नरहने भन्ने अवस्था आउँछ। एउटा शिक्षकले काममा ध्यान नदिंदा कैयौं विद्यार्थी प्रभावित हुन्छन्। काम प्रतिको लगावले सम्बन्धित व्यक्तिलाई मात्र नभएर ऊसँग जोडिएका सबै प्रभावित हुन्छन्।
काम प्रति लगाव भएको मान्छेलाई कस्तो ठाउँमा काम गर्छु भन्ने विषयले अर्थ राख्दैन। जहाँ रहेर काम गरे पनि नतीजा दिन सक्छन्। यस्ता व्यक्तिले कम्तीमा पनि काम गर्ने प्रयास त गरिरहन्छन्। प्रश्न उठ्छ, काम प्रतिको लगाव कसरी मापन गर्ने?
यसको मापन गर्न सजिलो छैन, किनकि यो नितान्त वैयक्तिक पक्ष हो। तर, मापन गर्नै सकिंदैन भन्ने पनि होइन। यसको मुख्य सूचक त स्वमूल्याङ्कन नै हो। व्यक्ति स्वयंलाई आफ्नो बारे सोच्ने, विचार गर्न लगाउने नै हो। मनोविज्ञहरूका अनुसार, यसका लागि स्वमूल्याङ्कन नै उत्प्रेरक हुन्छ।
व्यक्तिले सीप हासिल गर्दै जानसक्छ, तर काम प्रतिको लगाव जीवनको शुरूआतबाटै जोडिने रहेछ। यो व्यक्तिको नितान्त वैयक्तिक पक्ष त हो, तर यसलाई पछि निर्माण गर्छु भन्ने कुरा सहज नहुन सक्छ। यसका लागि ठूलो साधना चाहिन्छ।
त्यस्तै, लेखक जय सेट्टीले आफ्नै अनुभवका आधारमा काम प्रतिको लगावबारे लेखेका छन्। सन् २०१९ मा थिङ्क लाइक अ मङ्क पुस्तकमा उनले एउटा व्यक्तिले आफूलाई कसरी परिवर्तन गर्नसक्छ भन्ने उजागर गरेका छन्। उनले काम प्रतिको लगाव र सीपको दृष्टिकोणबाट मानिसलाई ‘उच्च लगाव र सीप भएका, काम प्रतिको लगाव उच्च रहेको तर सीप नभएको, काम प्रतिको लगाव कम भएको तर सीप उच्च भएको एवं काम प्रतिको लगाव पनि नभएको सीप पनि नभएको’ गरेर चार समूहमा विभाजित गरेका छन्। सीप त पछि पनि हासिल गर्न सकिन्छ, तर काम प्रतिको लगाव भने व्यक्तिको अन्तर्मनबाटै आउनुपर्ने उनको तर्क छ।
काम प्रतिको लगाव कति महत्त्वपूर्ण हुन्छ भन्ने विषय चाणक्यको जीवनमा घटेको एउटा उदाहरणबाट लिन सकिन्छ। मगध राज्यमा शिष्यहरूले प्रश्नोत्तरमा भाग लिनुपर्थ्यो, आचार्यहरूका प्रश्नको उत्तर दिनुपर्थ्यो। राजाको कर्तव्य, राज्यको भूमिका, नागरिकको कर्तव्य एवं दायित्व आदि विषयमा शास्त्रार्थ हुन्थे। यसमा उत्तीर्ण भए मात्र दीक्षित भएको मानिन्थ्यो। त्यहाँका प्रमुख अमात्य यस्ता ज्ञानसभा राजा धनानन्दको उपस्थितिमा गराउन चाहन्थे।
एक दिन यस्तै ज्ञानसभाका लागि मगधका प्रमुख अमात्य राजा धनानन्दलाई आमन्त्रण गर्न गए। उनले ज्ञानसभामा आचार्यहरूले कुरिरहेको जानकारी दिए। मदहोसमा रहेका धनानन्द, जोसँग अहं थियो, शास्त्र र नीति वचनमा विश्वास थिएन। प्रमुख अमात्यकै करबलमा धनानन्द ज्ञानसभामा पुगे। उनमा ‘म नै राज्य हुँ’ भन्ने घमण्ड थियो।
ज्ञानसभामा उनी आचार्य र शिष्यको मर्यादा राख्दैनथे। मुखमा जे आयो, त्यही बोल्थे, अरूलाई होच्याउँथे, आफूलाई सर्वगुणी ठान्थे। सदा झैं त्यस दिन पनि उनले आचार्य र शिष्यहरूलाई होच्याए।
धनानन्दको व्यवहार देखेपछि चाणक्यले सभास्थल छोड्न खोजे। त्यस अघि धनानन्दका कटु वचनको प्रतिवाद गरे। धनानन्दको ‘आचार्य भनेको राजाको दयाबाट दान र भिक्षा पाउने मामूली व्यक्ति हो’ भन्ने भनाइको प्रतिवाद गर्दै चाणक्यले भने, “शिक्षक सामान्य व्यक्ति होइन। शिक्षकले व्यक्ति, समाज र समग्र राष्ट्र परिवर्तन गर्ने क्षमतावान् व्यक्ति उत्पादन गर्नसक्छ। व्यक्तिभित्र रहेको सम्भावनालाई बाहिर ल्याउने सामर्थ्य शिक्षकमा हुन्छ।”
शिक्षाले व्यवहार निर्माण गर्छ। तर, यस्तो व्यवहार निरपेक्ष हुँदैन। समाज र मुलुक अनुकूल व्यवहार निर्माणको अपेक्षा गरिन्छ।
चाणक्यले आफ्नो भनाइ पूरा गर्नेे वाचा गर्दै ज्ञानसभा छोडे। कालान्तरमा उनले आफ्नो वाचा पनि पूरा गरे, चन्द्रगुप्त मौर्यलाई सम्राट् बनाएर। उनको काम प्रतिको लगावकै कारण यस्तो असम्भव जस्तै लाग्ने कार्य सम्भव भएको हो भन्न सकिन्छ।
यसबाट के बुझ्न सकिन्छ भने, कुनै पनि व्यक्तिले सीप हासिल गर्दै जानसक्छ, तर काम प्रतिको लगाव जीवनको शुरूआतबाटै जोडिने रहेछ। यो व्यक्तिको नितान्त वैयक्तिक पक्ष त हो, तर यसलाई पछि निर्माण गर्छु भन्ने कुरा सहज नहुन सक्छ। यसका लागि अत्यन्त ठूलो साधना चाहिन्छ। सबैले यो साधना गर्न सक्दैनन्। यसका लागि जीवनको शुरूआतबाटै अभ्यास गरेमा निर्माण हुँदै जान्छ। चाणक्यले आफूले भनेको विषयलाई ठूलो साधनाबाट मात्रै हासिल गर्न सके।
काम प्रति प्रतिबद्ध रहनु, लगाव उच्च राख्नु भनेर वा बोलेर हुने विषय होइन, व्यवहारमा देखिनुपर्छ। कसले के बोल्यो भन्ने विषय होइन कि कसले के गर्दै छ भन्ने विषयले मात्र काम प्रतिको लगावलाई देखाउँछ।
कसरी गर्ने समाधान?
व्यक्तिमा काम प्रति लगाव कसरी जगाउने त? यसको उत्तर दिनु अघि व्यक्तिको मनोविज्ञान र व्यक्तित्व विकासतर्फ जानुपर्छ। व्यक्तित्व विकासका लागि तीन वटा पक्ष हुन्छन्। मनोविज्ञहरूका अनुसार, व्यक्तिमा रहेको वंशाणुगत गुण वा स्वभाव, व्यक्तिले हासिल गरेको सिकाइ र व्यक्ति रहेको समग्र वातावरण (जसमा सामाजिक, सांस्कृतिक, आर्थिक लगायत समग्र प्रणाली)ले व्यक्तित्व विकासमा भूमिका खेल्छन्।
तीनै पक्षको संयोजनबाट नै व्यक्तित्व निर्माण हुन्छ। कुनै व्यक्ति कस्तो छ भन्ने कुराको पछाडि तीनै वटा पक्ष जिम्मेवार हुन्छन्। व्यक्तिको व्यवहार निर्माणमा सहजीकरणसँगै नियन्त्रण र समन्वय पनि गरिरहेका हुन्छन्। तसर्थ यी तीनै पक्षमा जोड दिनुपर्छ।
शालीनता, शिष्टता, सदाचार घट्दो क्रममा छ। असल बन्नुपर्छ भन्ने भनाइ छायाँमा परेको छ। जित्नैपर्ने मनोदशामा छन् सबै। यस्तो सोचले एउटा पुस्तालाई नै दम्भी बनाएको छ।
शिक्षाले व्यवहार निर्माण गर्छ। तर, यस्तो व्यवहार निरपेक्ष हुँदैन। समाज र मुलुक अनुकूल व्यवहार निर्माणको अपेक्षा गरिन्छ। श्रीकृष्णले गीतामा अर्जुनलाई मान्छेको जीवनका तीन वटा पक्ष सत्व, रजो र तमो गुणबारे उल्लेख गरेका छन्। यति वेला समाजमा रजो र तमो गुणको भाव भएका व्यक्तिको बाहुल्य छ। धेरैलाई सम्पत्ति कमाउनैपर्ने तर मार्ग जे भए पनि हुन्छ भन्ने लाग्छ।
शालीनता, शिष्टता, सदाचार घट्दो क्रममा छ। असल बन्नुपर्छ भन्ने भनाइ छायाँमा परेको छ। जित्नैपर्ने मनोदशामा छन् सबै। यस्तो सोचले एउटा पुस्तालाई नै दम्भी बनाएको छ।
पूर्वीय दर्शनमा परिवर्तन व्यक्तिबाट शुरू हुन्छ। आफूले आफैंलाई नियाल्न सक्नुपर्छ। आफ्नो कामबारे स्वमूल्याङ्कन गर्न सक्नुपर्छ। यसका लागि ध्यान, एकाग्रता, घटना अध्ययन आदि उपयुक्त हुन सक्छन्।
व्यक्ति स्वयं निष्ठावान् नहुँदासम्म कानून र संरचना बनाएर पुग्दैन। समाजका सबै व्यक्ति उच्च सदाचारयुक्त, नैतिकवान् र इमानदार हुन्छन् नै भन्ने त नहोला, तर समाजको ठूलो हिस्सा कता छ भन्ने विषय महत्त्वपूर्ण हुुन्छ। सदाचार, इमानदारी घट्नु भनेको बेथिति गर्नेहरूको बोलवाला बढ्नु हो।
सबै सवारी साधनले ट्राफिक नियम पालना नगर्ने हो भने चोकमा उभिएका ट्राफिक प्रहरीले कारबाही गर्न पनि सक्दैन। थोरै सवारीले नियम नमानेको अवस्थामा पो ट्राफिकले कारबाही गरेर सुधार्न सक्छ। बेथिति गर्नेको संख्या धेरै हुँदा कारबाहीबाट पनि सुधार आउँदैन।
तसर्थ नागरिकको व्यवहार निर्माणका लागि पहिलो उपयुक्त शिक्षा चाहिन्छ, अनि मात्र नियन्त्रणका लागि कानून चाहिन्छ। अहिले भएका बेथिति र अनियमितता रोक्न शिक्षामा जोड दिनुपर्छ। व्यक्तिलाई इमानदार र कर्तव्यनिष्ठ बनाउने शिक्षामा अहिलेको आवश्यकता हो। शिक्षा भनेको प्रमाणपत्र दिनु वा पाउनु मात्र होइन। समाज, मुलुक र विश्व परिवेश अनुसारको शिक्षाबाट व्यक्तिको असल व्यवहार निर्माण गर्दै जानुपर्छ।
जीवन र जगत्लाई बुझ्ने, असल र खराब पहिचान गर्न सक्ने क्षमता विकास गर्ने, उपयुक्त सीप विकास गर्ने जस्तो पक्ष शिक्षामा हुँदैनन्, त्यति वेला लेखपढ गरेको व्यक्ति खोटो सिक्का बन्छ।
काम प्रति उच्च लगाव भएको व्यक्ति उत्पादन गर्न पनि शिक्षा नै राम्रो हुनुपर्छ। राम्रो शिक्षाका लागि असल शिक्षक चाहिन्छन्। चाणक्यले चन्द्रगुप्त मौर्य उत्पादन गर्न शिक्षाबाट मात्र सम्भव भएको हो। जीवन र जगत्लाई बुझ्ने, असल र खराब पहिचान गर्न सक्ने क्षमता विकास गर्ने, उपयुक्त सीप विकास गर्ने जस्तो पक्ष शिक्षामा हुँदैनन्, त्यति वेला लेखपढ गरेको व्यक्ति खोटो सिक्का बन्छ। यस्ता व्यक्तिले सार्वजनिक पद अनुसारको सेवा प्रवाह गर्न सक्दैन।
तत्काल के गर्ने?
अब शिक्षामा सुधार आउला, आगामी दिनमा दिइने शिक्षाले काम गर्ला। हाम्रो शिक्षालाई पनि व्यक्ति, समाज, मुलुक र विश्व परिवेश सापेक्ष बनाउन सकिएला। तर, अहिले कम स्तरको सदाचार र न्यून नैतिक मूल्यमान्यता भएका मान्छेको आचरण र व्यवहार कसरी सुधार गर्ने त?
उद्यमी पिटर टेलले समाजमा रहेका ९९ प्रतिशत व्यक्ति अरूका कार्यलाई पछ्याउने खालका हुन्छन् भनेका छन्। नयाँ सिर्जना गर्ने सामर्थ्य त एक प्रतिशत जतिमा मात्रै हुन्छ भन्ने उनको तर्क छ। यसकै आधारमा पनि समाज बदल्ने बाटो बनाउन सकिन्छ।
बेथिति र अनियमितताको मात्रा बढ्दै जानुमा केही प्रणालीगत कमजोरी हुन सक्लान्, केही नजानेर वा नबुझेर पनि भएका हुन सक्छन्। तर, धेरै बेथिति र कमजोरी जाने-बुझेकै मान्छेबाट भइरहेका छन्। दूरदराजमा रहेकाले मान्छेले बिगारेका छैनन्।
हाम्रो सन्दर्भमा समाज पदसोपानमा आधारित छ, उँच–नीचमा विश्वास गर्छ। शृंखलाको उच्च तहमा रहेको एक वा केही व्यक्तिको व्यवहारबाट धेरै जना निर्देशित हुन्छन्। यस्तो शृंखलाको माथिल्लो तहमा रहेका व्यक्ति परिचालन गर्न सकेमा ठूलो समूहलाई एकैपटक परिवर्तन गर्न सकिन्छ। राजनीतिक दलको उच्च तहमा रहेका व्यक्ति आदर्शवान्, इमानदार हुने हो भने तलका नेता तथा कार्यकर्तालाई दबाब पर्छ।
धेरै व्यक्तिलाई परिवर्तन गर्न पदसोपानको माथिल्लो तहमा रहेका व्यक्तिमा नैतिक दबाब सिर्जना गर्न सक्नुपर्छ। यसका लागि मिडिया र नागरिक समाजका अगुवाले नेतृत्वलाई थप दबाब दिन सक्छन्। सुधारका लागि आवाज उठाउन सक्छन्।
त्यस्तै, सार्वजनिक पदको माथिल्लो तहमा रहेकाहरूमा उच्च सदाचार हुने हो भने त्योभन्दा तलका व्यक्तिलाई नैतिक दबाब सिर्जना हुन्छ। उच्च तहको रहनसहन, जीवनशैलीमा सादगी र सार्वजनिक स्रोतमा मितव्ययी रहने संस्कार विकास हुने हो भने त्योभन्दा तलको तहमा रहेका व्यक्तिलाई अनुसरण गर्न नैतिक दबाब सिर्जना हुन्छ। यस्तो नैतिक दबाबले भएकै कानूनको पालनामा कडाइ आउँछ।
हाम्रो समाजमा सदाचारयुक्त व्यक्ति छँदै छैनन् भन्ने पनि होइन, तर उनीहरूको संख्या कम छ। उनीहरूको संख्या बढाउन सकेमा बेथिति घटाउन सकिन्छ। धेरै व्यक्तिलाई परिवर्तन गर्न पदसोपानको माथिल्लो तहमा रहेका व्यक्तिमा नैतिक दबाब सिर्जना गर्न सक्नुपर्छ। यसका लागि मिडिया र नागरिक समाजका अगुवाले नेतृत्वलाई थप दबाब दिन सक्छन्। सुधारका लागि आवाज उठाउन सक्छन्। कसैको विरोधभन्दा पनि समाजमा व्याप्त बेथितिको न्यूनीकरणका लागि प्रयास गर्न सक्छन्।
यति भन्दाभन्दै पनि परिवर्तन गर्न सजिलो छैन। तर, यो असम्भव पनि होइन। यसका लागि निरन्तरको साधना चाहिन्छ, अभ्यास चाहिन्छ। फरक यति मात्र हो, माथिबाट शुरू गरिएको सुधारको असर छिटो र व्यापक हुनसक्छ भने तलबाट गरिएको सुधारलाई समय लाग्छ। यसका लागि व्यक्ति-व्यक्ति जोडिएर सुधारमा बल पुर्याउन भने सकिन्छ।
अहिले समाजमा काम प्रतिको लगाव घटेकै छ। यसलाई बढाउन व्यक्तिलाई भित्रैबाट जगाउने, अन्तर्मनलाई उत्प्रेरित गर्ने, ध्यान एवं एकाग्रतामा जोड दिई ‘सेल्फ रिअलाइजेशन’ मा जोड दिनुपर्छ। यससँगै पदसोपानको उच्च तहमा रहेका व्यक्तिहरूमा दबाब सिर्जना गरी परिचालन गर्न सक्नुपर्छ।
(लम्साल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हुन्।)