सुजित मैनालीको पुस्तक ‘सती’ सार्वजनिक
मानव इतिहासकै क्रूरतम अध्याय मानिने सती प्रथाबारे सुजित मैनालीले लेखेको पुस्तक ‘सती : इतिहास र मीमांसा’ सार्वजनिक भएको छ।
किताब पब्लिसर्सले प्रकाशित गरेको यो अनुसन्धानमूलक पुस्तकले नेपालमा सती प्रथाको ऐतिहासिक, सामाजिक र मनोवैज्ञानिक पाटोबारे विमर्श गरेको छ।
नेपालमा सती प्रथामाथि रोक लगाइएको सय वर्ष पुगिसके पनि यसले पारेका असरहरू लैंगिक भेदभावका अनेक पाटोका रूपमा समाजमा अझै पनि व्याप्त छन्। यो पुस्तकले हालका लैंगिक भेदभावका कतिपय प्रवृत्तिहरू सती प्रथाकै धङधङी हुन् भन्ने कुरा उजागर गरेको छ।
पुस्तकमा मृतक पतिको नाममा पत्नीलाई जिउँदै जलाउने चलनबाट तात्कालिक पुरुषप्रधान समाजले कस्तो लाभ दोहन गर्यो भन्ने विषयमा चर्चा गरिएको छ।
त्यस्तै, महीनावारी बार्ने चलनदेखि बलात्कारसम्मका नारीद्वेषी चलनलाई सती प्रथाको आलोकमा बुझ्ने प्रयत्न गरिएको प्रकाशन गृहका तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ। नेपालमा लिच्छविराजा मानदेवको पालादेखि राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयसम्म सतीगमनका अनेक घटना भएका थिए। विसं १९७७ मा चन्द्रशमशेरले नेपालभरि सती प्रथाको अभ्यासमा रोक लगाएपछि पत्नीले पनि पतिको शवसँगै जलेर प्राण त्याग्नुपर्ने चलन कानूनी रूपमा बन्द भएको हो।
लेखकले नेपाल र भारतमा अभ्यस्त सती प्रथाबारे अध्ययनका लागि प्रकाशित लेख-रचनाबाहेक अप्रकाशित स्रोत, शिलालेख, पत्र, इस्तियार, लिखत आदिलाई सन्दर्भ सामग्री बनाएका थिए।
सती प्रथाको मुख्य उद्देश्य पतिव्रता धर्मको महिमा गाएर त्यसकै आवरणमा महिलाको यौन जीवन नियन्त्रित गर्नु थियो भन्ने कुरा पुस्तकले उजागर गरेको छ।
त्यस्तै, सती प्रथालाई राजपरिवारमा सत्ताप्राप्तिको हतियारका रूपमा कसरी उपयोग गरिन्थ्यो भन्ने विवेचना पनि यसमा छ। भारतमा इष्ट इण्डिया कम्पनीले सती प्रथामाथि प्रतिबन्ध लगाउँदा विरोध भए पनि नेपालमा त्यो कसरी सजिलैसँग उन्मूलन हुनसक्यो भन्ने कुराको अन्तर्य पनि पुस्तकमा खोतलिएको छ।