दुई मन्त्री थपिएसँगै बलियो भए मुख्यमन्त्री भट्ट
नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्री थपिएसँगै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट ढुक्क भएका छन्। अब उनको सरकार बलियो भएको छ।
मुख्यमन्त्री भट्टले १ असोजमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तारा लामा तामाङ र राज्यमन्त्रीमा माया तामाङ बोहरालाई नियुक्त गरेका हुन्। योसँगै सरकारले पनि पूर्णता पाएको छ।
नेकपा (एमाले) विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको रूपमा उभिएको छ। ठूलो दलको साथ पाएपछि नेकपा (माओवादी केन्द्र) का मुख्यमन्त्री भट्ट ढुक्क भएका हुन्।
सुदूरपश्चिम सरकारका ६ मन्त्रालयमा चार एकीकृत समाजवादीको र दुई माओवादीको भागमा परेका छन्। जसमा आर्थिक मामिला, भौतिक पूर्वाधार विकास, सामाजिक र आन्तरिक मामिला तथा कानून मन्त्रालय एकीकृत समाजवादीको भागमा र भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय माओवादीको भागमा परेका छन्। जसमा माओवादीका चार र एकीकृत समाजवादीका सात मन्त्री सरकारमा सहभागी भएका छन्।
माओवादीले एक जना सांसदलाई कारबाही गरेपछि ५३ सदस्यीय प्रदेश सभामा अहिले ५२ सांसद छन्। बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। अहिले एकीकृत समाजवादीका १४, माओवादीका १३, कांग्रेसका १२, एमालेका १०, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टीका एक-एक जना सांसद छन्।
एमाले विभाजन भएपछि माधवकुमार नेपालको पक्षमा रहेका प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले आर्थिक मामिला मन्त्री र अर्चना गहतराजले राज्यमन्त्रीबाट २२ भदौमा राजीनामा दिएका थिए। त्यही पदमा तामाङ र बोहरा नियुक्त भएका हुन्।
तामाङ कञ्चनपुर १ ‘क’ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् भने बोहरा बझाङबाट समानुपातिक प्रदेश सभा सदस्य हुन्। तामाङ एकीकृत समाजवादीका कञ्चनपुर अध्यक्ष हुन्। उनले यसअघि एमालेको प्रमुख सचेतक रहेर काम गरेका थिए।
एमालेको समर्थनमा ५ फागुन २०७४ मा भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री बनेका थिए। यसअघि नेकपा छँदा र एमाले तथा माओवादी ब्युँतिएपछि पनि सरकार फेरबदलको प्रयास भएको थियो। एमाले स्थायी कमिटीले सरकारबाट समर्थन फिर्ता लिने निर्णय समेत गरेको थियो।
तर, यस अघि एमालेकै नेपाल समूहले र अहिले नवगठित एकीकृत समाजवादीले साथ दिएपछि मुख्यमन्त्री भट्ट जोगिएका छन्।
बजेटलाई ट्र्याकमा ल्याउने प्रतिबद्धता
नवनियुक्त आर्थिक मामिला मन्त्री तामाङले बजेटलाई ट्र्याकमा ल्याउने प्रतिबद्धता गरेका छन्। प्रदेशको हितमा इमानदारीपूर्वक काम गर्ने उनले बताए।
अर्थ मन्त्रालयको जिम्मेवारी पाउनु चुनौतीपूर्ण भएको बताउँदै सबै पक्षसँग समन्वय गरेर बजेट कार्यान्वयन गर्ने उनको भनाइ छ।