अझै किन ‘चरी जेलैमा!’
के हाम्रो समाज परम्परा र पितृसत्ताको दबदबाका कारण महिलाले निसासिँदै बाँच्न बाध्य ‘जेल’ को ढोका खोल्न अझै तयार छैन?
जसरी एउटै इन्जिनले ताने पनि रेलका सबै डिब्बा एउटै हुँदैनन्, त्यसै गरी समाजमा एउटै तालमा नाचेका देखिने सबै गोडा समान हुँदैनन्। समाजलाई हेर्ने नजर र यसको अध्ययनको शास्त्रमा प्रायः दुई तरिका पाइन्छन्। एउटा तरिकाले भन्छ, ‘चिजलाई समुच्चयमा हेर। अर्थात्, पूरै रेललाई हेर। सम्पूर्ण जङ्गललाई हेर। एउटा मानिसलाई होइन, उसको समाजलाई हेर।’
अर्को तरिकाले भन्छ- ‘होइन, भात पाकेको छ कि छैन भन्ने थाहा पाउन पूरै भाँडा घोप्ट्याउनु पर्दैन, एउटा सिता छामे पुग्छ।’ अर्थात्, समाजको नाममा कुनै आकार नभएको चिज हेरेर के फाइदा, हेर्ने भए मानिसलाई हेर। मानिसका खुशी र दुःखलाई हेर। उसको भावना र सङ्घर्षलाई हेर। रेललाई होइन, डिब्बालाई हेर। पूरै जङ्गलको कुनै चरित्र हुँदैन, चरित्र खोज्ने भए एउटा-एउटा रूखलाई हेर।
मानिसले आफ्ना भोगाइलाई कल्पनाको लेप लगाएर, कलाको जलपमा जोगाएर राख्ने गरेको छ। ठेट इतिहासको एउटा मोटो रेखा जहाँ जहाँ कोरिएको छ, त्यसकै समानान्तर अर्को एउटा पातलो रेखा पनि कोरिएको छ। त्यो रेखा हो- कलाका विभिन्न माध्यमले लेखेको बेग्लै इतिहासको। लोकगीत, लोकवाणी र लोक साहित्य/आख्यान यही रेखामा लामबद्ध हुन्छन्।
लोकगीतहरूले मानिसका कथालाई सङ्गृहीत र सुरक्षित गर्दै आएका छन्। यस्ता गीतहरूका एक-एक थुँगालाई एउटा मालामा उन्ने हो भने शायद समाजको एउटा चित्र देखा पर्छ। नेपाली समाजको थप विशेषता के छ भने, यसमा समय र अवसर अनुसार गुनगुनाउने भाका छन्, गाउने गीतहरू छन्। तीज एउटा त्यस्तै अवसर हो।
तीजलाई महिलाको पर्व, माइत जाने मौकाका रूपमा मात्र हेरिनु हुँदैन। त्यसले यसलाई पूर्ण आयाममा बुझिँदैन। तीज लामो समयदेखि गीत मार्फत आफ्ना भोगाइ व्यक्त गर्ने पर्व रहँदै आएको छ। विवाह गरेर गएका छोरीले आफ्नो माइती देशलाई आफूले भोगेको र देखेको नयाँ समाज, परिवार र मानिसहरूको कथा सुनाउने अवसर बन्दै आएको छ। ती कथा कहिले आफ्नै त कहिले आफूले देखेका घटनामा आधारित हुने गरेका छन्।
पछिल्लो समय तीजलाई लक्षित गरी स्थापित र नयाँ कलाकारहरूले गीत सार्वजनिक गर्ने परम्परा बनेको छ। यस पालि पनि थुप्रै गीत युट्युब र टिकटकमा देखिइरहेका छन्। यीमध्ये एउटा गीतले लोकप्रियताको सिंढी निकै छिटो चढेको देखियो, विष्णु माझीको गीत- चरी जेलैमा।
परिवारदेखि बालबच्चाको रेखदेखको सम्पूर्ण जिम्मेवारी बोक्नु भनेको ठूलै पहाडले थिच्नु बराबर हो। तर, कृतघ्न समाजले महिलाहरूलाई यस बापत पर्याप्त सम्मान दिन सकेको छैन।
तीन सातामा यो गीत युट्युबमा २० मिलियन (दुई करोड) पटक हेरिएको छ। यसमाथि बनेका टिकटक भिडिओको सङ्ख्या पनि उत्तिकै ठूलो छ। यसबारे फेसबूक र अन्य सञ्जालमा टिप्पणी पनि निकै धेरै गरिएका छन्। यो गीत सावर्जनिक भएपछि यसकी गायिका विष्णु माझी र सङ्कलक तथा भिडिओ निर्देशक सुन्दरमणि अधिकारीबारेका सामग्री पनि मूलधारका मिडिया र युट्युबमा देखिए।
यो गीतले लोकप्रियता र चर्चा मात्रै पाएको छैन, नेपाली समाजको संरचना र चरित्रमाथि प्रश्न गर्नेहरूका लागि एउटा सन्दर्भ सामग्री पनि दिएको छ। गीतलाई त्यसको भाका, भाव र भङ्गिमामा बुझ्नुपर्छ। यो गीतलाई समाजको अहिलेको सन्दर्भमा प्रकाश पार्ने प्रयास यहाँ गरिनेछ।
एक- गीतको भाका र भाव। यसको लोकप्रियता, खासगरी छोरी-बुहारीमाझ (यो चाहिं टिकटक र फेसबूक हेरेर मैले आफैं गरेको अनुमान हो) हेर्दा लाग्छ, यो गीतले नेपाली बुहारीहरूको मनोभाव र मनोदशालाई समातेको छ। टिकटकमा बनेका भिडिओ हेर्दा यसको भाका र बिटले पनि श्रोतालाई मुग्ध बनाएको देखिन्छ।
कसरी नेपाली समाजले बुहारीहरूलाई पिंजडामा थुनिएको चरीलाई जस्तो व्यवहार गर्दै आएको छ भन्ने भाव यो गीतमा व्यक्त हुन्छ, माथि भनिए जस्तो रूखलाई हेरेर जङ्गल बुझ्ने हो भने। केही प्रष्ट देखिने र धेरै नदेखिने सम्बन्धहरूका बन्धनमा नारीहरूलाई यसरी जकडिएको छ कि अधिकांशको अवस्था जिम्मेवारी बोक्ने तर त्यसको जस नै नपाउने प्राणीको छ। परिवारदेखि बालबच्चाको रेखदेखको सम्पूर्ण जिम्मेवारी बोक्नु भनेको ठूलै पहाडले थिच्नु बराबर हो। तर, कृतघ्न समाजले महिलाहरूलाई यस बापत पर्याप्त सम्मान दिन सकेको छैन।
आफ्ना रुचि, इच्छा र सपना सहित (कतिपयको सन्दर्भमा त त्यागेर नै) कसैको घरमा जानु आफैंमा एउटा पिंजडाभित्र प्रवेश गर्नु हो कि होइन? सफल हुनु-नहुनु अर्को कुरा, तर कसैलाई सपना साकार पार्ने प्रयास गर्न अवसर नै नदिनुलाई उसको स्वतन्त्रताको अपहरण भन्न मिल्छ कि मिल्दैन?
यस कुरालाई ‘बुहारी’ हरूको सन्दर्भमा जोडेर हेर्नासाथ किन यो गीतले महिला संवेदनालाई छोइरहेको छ भन्ने बुझ्न गाह्रो हुँदैन। अपवादका रूपमा वा केही सचेत परिवारमा यो कुरा लागू नहोला, तर अधिकांशका भोगाइ हेर्दा हाम्रो समाजले हातगोडा बाँधेर मान्छेलाई खोलामा पौडिन छोडिए जसरी महिलाहरूलाई ‘स्वतन्त्रता’ दिएको छ। पितृसत्ताले गाँजेको हाम्रो समाज केही रूढि र धर्मका नाममा गरिने भेदभावले थिलथिलो भएको छ।
हाम्रो समाजले हातगोडा बाँधेर मान्छेलाई खोलामा पौडिन छोडिए जसरी महिलाहरूलाई ‘स्वतन्त्रता’ दिएको छ। पितृसत्ताले गाँजेको हाम्रो समाज केही रूढि र धर्मका नाममा गरिने भेदभावले थिलथिलो भएको छ।
पछिल्ला वर्षहरूमा नेपाली समाजलाई दुई कुराले ठूलो प्रभाव पारेको छ- वैदेशिक रोजगारी र स्मार्टफोन/सामाजिक सञ्जाल। यसलाई छोटकरीमा भन्ने हो भने, वैदेशिक रोजगारीले धेरै परिवारमा ल्यायो- पैसा, स्मार्टफोन र आत्मविश्वास। र, त्यसलाई व्यक्त गर्ने/प्रदर्शन गर्ने सार्वजनिक चौतारो बनेर आयो- सामाजिक सञ्जाल।
यही चौतारोमा महिलाहरूले अहिले आफ्नो ‘जेलको कथा’ भनिरहेका छन्। तर, फेरि यसलाई मात्रै एउटा कारण मानियो भने त्यो गलत हुनेछ। टिकटक वा अन्य सञ्जालमा आफ्ना भावना पोख्नेमा कलाप्रेमी, आर्थिक रूपमा स्वतन्त्र, रोजगारी गर्ने तथा विद्यार्थी पनि छन्।
नारी अधिकारका पक्षमा पैरवी र अध्ययन गर्नेहरूको मोटामोटी निष्कर्ष छ- आर्थिक रूपमा सबल र आफ्नो शरीरमाथि पूर्ण स्वामित्व नभएसम्म महिला स्वतन्त्र हुन सक्दैनन्। यसका साथै, आफ्नो पहिचान- नागरिकता र स्रोतमाथिको नियन्त्रण- पैतृक सम्पत्तिमाथिको हक पनि नपाउने हो भने महिलाको स्वतन्त्र अस्तित्व हुँदैन। समाज, परिवार, संस्कृति र नैतिकताको ठेक्का महिलालाई लगाउने तर उनीहरूलाई आर्थिक रूपमा यतिसम्म निरीह बनाउने कि, कपडामा खल्ती समेत नराख्ने समाजबारे समाजशास्त्रीहरूले बोलिरहेका छन्।
पछिल्ला सर्वेक्षणहरूमा महिलाको नाममा सम्पत्ति जोड्ने क्रम बढेको देखिन्छ। महिलाको नाममा घरजग्गा किन्दा कर छूट पाइने भएकाले बुहारीहरूको नाममा घरजग्गा खरीद गर्ने गरेको पाइन्छ। यसलाई सकारात्मक परिवर्तन त मान्न सकिन्छ, तर त्यसको भोगचलन सम्बन्धी निर्णयमा वास्तवमै सम्बन्धित महिलाको भूमिका कति छ भन्ने नहेरी निष्कर्ष निकाल्नु सही हुँदैन।
यो किन पनि सही हुँदैन भने मन्त्रिपरिषद् गठन होस् वा संवैधानिक निकायमा गरिने नियुक्ति, तिनमा सरकारले संविधानमा तोकिए जति पनि महिलालाई स्थान दिएका छैनन्। शायद, यसमा पुरुषले कुनै छूट वा लाभ नपाउने भएर हो कि? यसरी हेर्दा देखिन्छ- पुरुषलाई वा सत्तालाई फाइदा हुने कुरामा मात्रै महिलालाई अघि सारिंदो रहेछ।
छलफलको विषय चाहिं किन हाम्रा घरहरू पिंजडा जस्ता बन्ने गरेका छन् भन्ने हो। (यो पिंजडामा यदाकदा पुरुषहरू पनि पर्ने गरेका छन्)। भुइयाँ लेख्ने क्रममा मैले कैयौं भूमिहीन महिलाहरू भेटें। देशका विभिन्न भागमा फरक आर्थिक-सामाजिक अवस्थाका महिलाहरूको जीवन हेर्दा नेपालको सामाजिक गतिविधिलाई उनीहरूले नै नेतृत्व गरेको देखिन्छ। सामाजिक आन्दोलनमा बच्चाका लागि पोलियो खोप अभियानदेखि विभेद विरुद्धका आन्दोलनसम्म पर्छन्।
‘चरी जेलैमा’ को लोकप्रियताको दोस्रो कारण यसकी गायिका विष्णु माझीको जीवनसँग यसको तादात्म्य हो। लोकगायनमा ठूलो नाम कमाए पनि गायिका माझी लामो समयदेखि भूमिगत जस्तै छिन्।
सामन्तदेखि सरकारसम्मको सामना उनीहरूले गरिरहेका छन्। वैदेशिक रोजगारीको यो युगमा त विवाहित भएर पनि एकल जीवन बिताउने महिलाहरूको कथाको च्याप्टर अझै व्यापक छ। सरसर्ती हेर्दा यो आर्थिक कुरा जस्तो लाग्छ, तर यसमा हाम्रो सामाजिक संरचनाले निर्माण गरेका विभेदलाई जोडेर अध्ययन हुनु जरुरी छ। यसको बृहत् अध्ययन नगरी गीतको भावसँग महिलाहरू कसरी एकाकार भइरहेका छन् भन्ने बुझ्न गाह्रो पर्छ।
‘चरी जेलैमा’ को लोकप्रियताको दोस्रो कारण यसकी गायिका विष्णु माझीको जीवनसँग यसको तादात्म्य हो। लोकगायनमा ठूलो नाम कमाए पनि गायिका माझी लामो समयदेखि भूमिगत जस्तै छिन्। उनको यस खाले जीवनले एउटा रहस्यको निर्माण गरेको छ। वेलावेला मिडियामा यसबारे रिपोर्टिङ पनि आउने गरेका छन्। माझीका पति सुन्दरमणि अधिकारीले उनलाई भूमिगत रूपमा राखेको आरोप पनि लाग्ने गरेको छ, जसलाई उनले खण्डन गरेका छन्।
रोचक चाहिं के छ भने, ‘चरी जेलैमा’ गीतका गीतकार र भिडिओ निर्देशक सुन्दरमणि नै हुन्। यस कारण पनि गीतले चर्चा पाएको मान्न सकिन्छ। सङ्गीत बजारमा सक्रिय एकथरी उनको एकान्तवासलाई दम्पतीको रोजाइको जीवनशैली मान्छन्। अर्काथरी, यसलाई मार्केटिङको तरिका। जति धेरै रहस्य भयो, उति धेरै चासो बढेर ध्यान तानिन्छ। एकान्तवासको खास कारण के हो, यो दम्पतीलाई नै थाहा होला। यति चाहिं भन्न सकिन्छ, यसका कारण गीतलाई भने फाइदा भयो।
र, तेस्रो कारण हो- गीतको भिडिओ। स्मार्टफोन र इन्टरनेट क्रान्तिपछि नेपाली सङ्गीत र सिनेमा नयाँ युगमा प्रवेश गरेको छ, जहाँ सबै मानिस गायक र सबै फिल्ममेकर बन्न सक्छन्। स्मार्टफोन ‘हेलो’ भन्न मात्र होइन, यसले तपाईंलाई अरूका प्रतिभासँग परिचित गराउँछ र आफ्नै प्रतिभा प्रदर्शनको मौका पनि दिन्छ।
अब तपाईं आफ्नो गीत आफैं रेकर्ड गरेर दुनियाँलाई सुनाउन सक्नुहुन्छ, आफ्नो फिल्म आफैं बनाउन सक्नुहुन्छ। केही नभए अर्काको गीतमा टिकटक बनाएर आफैं मोडल वा फिल्ममेकर बन्न सक्नुहुन्छ। आफ्नो ‘भर्सन’ तयार गर्न सक्नुहुन्छ।
यो गीतको भिडिओमा पनि मानिसहरूले थुप्रै त्यस्ता छोटा फिल्म बनाएका छन्। बच्चादेखि पाको उमेरका महिलाहरूले यो जेलको चरीका रूपमा आफूलाई प्रस्तुत गरेका छन्।
कुनै न कुनै क्षणमा नायिकाको हातबाट ती चरी पिंजडामुक्त होलान् भन्ने दर्शकलाई लाग्छ। किनभने, क्रान्ति गर्न नसक्नेले पनि त्यसलाई समर्थन गरेर भावनात्मक रूपमा आफूलाई सामेल गर्छन्।
यो गीतको मूल भिडिओ चाहिं धेरै हदसम्म परम्परागत लाग्छ। कुनै अन्तरामा त गीतको भावको उल्टो दृश्य पनि देखिन्छ। (गाउँकी केटी शहरैमा, दियौ बाबा रहरैमा भनिएको छ, तर केटीको घर विकट गाउँमा देखिन्छ।) भिडिओका दुइटा ट्र्याक छन्।
एउटामा जँड्याहा र जुवाडे लोग्नेले दिएको दुःखको कथा छ भने अर्कोमा तीजमा खुलेर नाचगान गरिरहेकी तिनै दुःखी महिला छन्। भिडिओ निर्देशकले तीजलाई दुःख-वेदना भुलेर रमाइलो गर्ने पर्वका रूपमा लिएर यस्तो नृत्यमय ट्र्याक बनाएका हुन सक्छन्। तर, यो कथासँग मेल खाने किसिमको लाग्दैन।
भिडिओको अन्त्य चाहिं अलि गम्भीर र सोचनीय लाग्यो। भिडिओमा नायिकाको घरको ढोकामा एउटा पिंजडा झुन्ड्याइएको छ, जसमा दुई चरी बन्द छन्। नायिकाले शुरूदेखि नै आफूलाई त्यस्तै पिंजडाको चरी मानेर गीत गाइरहेकी छन्।
स्वभावतः कुनै न कुनै क्षणमा नायिकाको हातबाट ती चरी पिंजडामुक्त होलान् भन्ने दर्शकलाई लाग्छ। किनभने, क्रान्ति गर्न नसक्नेले पनि त्यसलाई समर्थन गरेर भावनात्मक रूपमा आफूलाई सामेल गर्छन्। आफू जेलमा भए पनि अरू कसैलाई जेलमुक्त गर्दा त्यसले आफैं मुक्त भएको अनुभूति गर्न सक्छ।
तर, सुन्दरमणिको यो भिडिओको अन्त्यमा पनि ती चरा पिंजडामुक्त हुँदैनन्। न नायिका, न खलनायक, तिनलाई कसैले मुक्त गर्दैन। यस्तो लाग्छ, यो जेलको ढोका कहिल्यै खुल्दैन। जो जेलमा छन् ती त्यही जीवन व्यतीत गर्न अभिशप्त छन्। बरु भिडिओको अन्त्यमा त्यही पिंजडामुनि नायिका लम्पसार परेर सुतेको देखिन्छ। के यो उनको आत्मसमर्पण हो?
के हाम्रो समाज त्यो ढोका उघार्न तयार छैन? यो ढोका कहिल्यै खुल्दैन? जिन्दगीको अँध्यारो सुरुङभित्र निसासिइरहेकी नायिकाले उज्यालो देख्न अझै कति समय लाग्ला?
र, कुरा बुझ्नु पर्च
यो सन्दर्भ प्रकाश सपुतको गीत ‘कुरा बुझ्नु पर्च’ लाई नजोडी पूरा हुँदैन। जहाँ विष्णु माझीको गीतले विवाहित दुःखी महिलाको कथा भन्छ, त्यहीं सपुतको गीतले भने विवाह गर्ने उमेर भएका युवतीहरूले आफ्नो जीवनलाई स्वतन्त्रताका साथ कसरी जिउने भनेर गरेको संवाद प्रस्तुत गर्छ।
यसमा पति-पत्नी दुवैले जागीर खाने मात्रै कुरा छैन, बरु रक्सी पनि पतिले खाने नै भए आफूलाई पनि चखाओस् भन्ने कुरा छ। आफूलाई हेप्ने लोग्ने पर्यो भने कसले सहन सक्छ भन्ने प्रश्न गर्दै गीतले भन्छ- योभन्दा त बरु सिङ्गल लाइफ रक छ।
यो गीत सुन्दा लाग्छ- ‘चरी जेलैमा’ ले देखाएको बन्द सुरुङको पारिपट्टिको उज्यालो यसले बोकेर ल्याएको छ। जेलैमाले वर्तमान स्थितिको बयान गर्छ भने कुरा बुझ्नु पर्चले भविष्यको सङ्केत गर्छ। लोकगीतमा नेपाली समाजमा महिलाको यी दुई अवस्थाको चित्रण भएको छ, वास्तविक समाजमा चाहिं कुन चित्र बढी मिल्छ? यो अध्ययनको एउटा विषय हो।
(हिमालको २०७८ असोज अङ्कमा ‘चरी जेलैमा...’ शीर्षकमा प्रकाशित।)