किन चिन्ने चीन?
विश्वास तथा समन्वय मात्र होइन संशय सहितको चनाखो दृष्टिबाट पनि चीन चिन्ने नेपाली भाष्य निर्माण गर्नुपर्छ।
चिनियाँ आहान छ- पहाड नउक्लिएसम्म तिमी समथर देख्न सक्दैनौं। यसको सन्दर्भ फरक हुन सक्ला। तर, बाँकी विश्वलाई चीन चिन्ने हाँक हो यो। किनकि, आज पनि चीन विश्वमै कम बुझिएको मुलुकमा पर्छ।
विश्वको सबैभन्दा बढी जनसंख्या, दोस्रो ठूलो अर्थतन्त्र, सबैभन्दा बढी सैन्य शक्ति अनि चौथो ठूलो देश चीनसँग नेपालले उत्तरमा १,४१४ किलोमिटर सीमा साझा गर्छ। मिथकका मञ्जुश्री, बौद्धमार्गी यात्री फा सियान र स्वान चाङ तथा यताका भृकुटी, अरनिको आदि नेपाल-चीन सम्बन्धको चर्चा गर्दा नर्बिसिइने नाम हुन्।
मल्लकाल मात्र होइन, शाहकालमै पनि भोट (तिब्बत)लाई युद्धमा पटक पटक पराजित गरेको नेपालले भोटबाट वार्षिक ठूलो धनराशि पाउने अधिकार राख्दथ्यो। भोटमा चल्ने सिक्का नेपालमै बनाइन्थ्यो। यताका व्यापारीहरूले उतै घरजम पनि गरे। मानवशास्त्री डोरबहादुर विष्टले ‘नेप्लिज इन टिबेट’ (सन् १९८०) लेखमा सर चार्ल्स अल्फ्रेड बेललाई उद्धृत गर्दै ‘सन् १९२० को आफ्नो ल्हासा भ्रमणमा ६००-७०० जति नेवार र एक हजारभन्दा बढी ठिमाहा नेपाली भेटिएको’ लेखेका थिए।
२०१२ सालमा चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापना हुँदा माओत्सेतुङको नेतृत्वमा ‘जनवादी गणतन्त्र चीन’ स्थापना घोषणा भएको सात वर्ष मात्र भएको थियो। नेपालमा पनि राणा शासन ढलेर प्रजातन्त्र भर्खर ६ वर्ष लागेको थियो।
चीनसँगको सहकार्यबाट समृद्धि हासिल गर्ने सङ्कथनमा हाम्रा लोकतान्त्रिक मूल्य-मान्यतासँग किमार्थ सम्झौता गर्नु हुँदैन।
तर, माओकालमै सन् १९५९-६१ को भोकमरीमा दशौं लाख नागरिक गुमाएको चीन ६ दशकमै आर्थिक समृद्धिको यस्तो बिन्दुमा आइपुगेको छ, जो विश्वकै ठूलो निर्यातकर्ता बनेको छ। र, सी चिनफिङ सन् २०४९ सम्ममा चीनलाई विश्वकै समृद्ध राष्ट्र बनाउने ‘चिनियाँ सपना’ साकार गर्ने ध्याउन्नमा छन्।
२३ वर्षको अन्तरालपछि असोज २०७६ मा चिनियाँ राष्ट्रपति चिनफिङले नेपालको भ्रमण गरी हिमाल छिचोलेर उत्तरी ढोका खोल्ने, नेपाललाई भूपरिवेष्टित हुनुको हीनताबोधबाट मुक्त गराउने सम्भावना दिलाए। केरुङ-काठमाडौं रेलमार्गमा सकारात्मक देखिए। चीनसँग पारवहन तथा यातायात सम्झौतामा हस्ताक्षर हुनुलाई नेपाली भूराजनीतिको ‘पाराडाइम सिफ्ट’ नै मानियो।
बुझ्नुपर्ने कुरा के हो भने, भूराजनीतिक परिस्थितिका कारण चीनले नेपाललाई सहयोग गर्नुमा उसको पनि स्वार्थ गाँसिएको छ। तिब्बतसँग जोडिएको आफ्नो सीमा, नेपालमा रहेका तिब्बती शरणार्थीका गतिविधि, नेपाल मार्फत दक्षिणएशियामा आफ्नो प्रभाव विस्तार, नेपाल हुँदै भारतको विशाल बजारसँगको सम्पर्क उसका चासो र चिन्ताका विषय हुनसक्छन्।
तर, पञ्चशीलका आधारमा स्थापित चीनसँगको हाम्रो दौत्य सम्बन्धलाई नेपालले सधैं पालना गरिरहेको छ। चीनलाई दक्षिणएशियाका सार्वजनिक मञ्चहरूमा नेपालले सधैं उदार हृदयले स्वागत गरेको छ। तिब्बत मामिलामा पनि नेपाल सधैं ‘एक चीन नीति’ प्रति प्रतिबद्ध छ।
यो पृष्ठभूमिमा चीनसँग नेपालको सम्बन्ध सम्मान, मर्यादा र स्वाभिमान सहितको हुनुपर्छ। खासगरी, विश्वमै आफ्नो शक्ति र प्रभाव फैलाउँदै लम्किरहेको चीनले छिमेक मामिलामा पनि चासो एवं चिन्ता देखाउन थालेको सन्दर्भमा नेपालले बराबरी स्तरको सम्बन्ध बनाउने गरी उभिनुपर्ने हुन्छ। चुरो कुरा चाहिं, चीनसँगको सहकार्यबाट समृद्धि हासिल गर्ने सङ्कथनमा हाम्रा लोकतान्त्रिक मूल्य-मान्यतासँग किमार्थ सम्झैता गर्नु हुँदैन।
आजको हाम्रो विमर्श उत्तरी र दक्षिणी छिमेक विश्वशक्ति बनिरहँदा आफू चाहिं कहिलेसम्म सत्ता केन्द्रित राजनीतिक खेलमा रुमल्लिएर युगौंसम्म गरीबीको भासमा पिल्सिरहने भन्ने हुनुपर्छ। आर्थिक रूपमा आफूलाई कसरी ‘भारतनिर्भर’ बाट आत्मनिर्भर बनाउने भन्ने हुनुपर्छ। चिनियाँ बस्तीमा झिलिमिली देखेका वारिका नेपालीले त्यसबाट कसरी लाभ लिने भन्ने हुनुपर्छ।
आजको चीन चिन्न हामीले सबैभन्दा पहिले तङ स्याओफिङको ‘लो प्रोफाइल’ कूटनीति अब ‘वुल्फ वारियर’ कूटनीतिमा बदलिएको तथ्य आत्मसात् गर्नुपर्छ, चीनलाई माओकाल र अनुदारवादी वाम विचारद्वारा नियाल्ने चश्मा उतार्नुपर्छ।
बेइजिङसँगको विकास साझेदारीमा हातेमालो गरिरहँदा नेपालले नयाँ दिल्लीको सुरक्षा संवदेनशीलताप्रति भने ध्यान पुर्याउनैपर्छ। सीमा विवादलाई नै लिएर दुवै छिमेकबीच सन् १९६२ मा युद्ध समेत भएको र सम्पूर्ण सीमा विवाद टुङ्गो लागिनसकेको तथ्यबीच भारतीय मनोदशा पनि हामीले मनन गर्नुपर्छ।
यसका लागि चीनसँगको हाम्रो विकास साझेदारी कुनै अर्को छिमेक विरुद्ध लक्षित नहुने बरु विकसित नेपाल नै भारतको समग्र हितमा हुने कुरा आश्वस्त तुल्याउन सक्नुपर्छ। चीन र भारतको शान्तिपूर्ण र सहज सम्बन्ध नै आफ्नो दिगो विकासको कडी पनि हो।
यति वेला अमेरिका, पश्चिमा राष्ट्रहरू, दक्षिण-पूर्वी एशियाली देशहरू र पछिल्लो समय भारतले पनि व्यापारिक होस् वा सामरिक स्वार्थले, चीनलाई नजिकबाट नियाल्ने प्रयत्न गरिरहेका छन्। चिनियाँ सोच र जोखिम पर्गेल्ने प्रयासमा ठूलो लगानी गरिरहेका छन्।
नेपालले भने न सरकारी न त निजी स्तरबाट यस्तो तयारी गरेको छ। तथापि ‘चीनले कहिल्यै नेपालको अहित गर्दैन’ भन्ने एकखाले विश्वास नेपाली जनस्तरमा अहिलेसम्म रहेकै छ, जुन दुवै देशका शासकका लागि सम्बन्ध सुधारको विशेष पूँजी हो।
आजको चीन चिन्न हामीले सबैभन्दा पहिले तङ स्याओफिङको ‘लो प्रोफाइल’ कूटनीति अब ‘वुल्फ वारियर’ कूटनीतिमा बदलिएको तथ्य आत्मसात् गर्नुपर्छ, चीनलाई माओकाल र अनुदारवादी वाम विचारद्वारा नियाल्ने चश्मा उतार्नुपर्छ। वेलावेला पश्चिमा र भारतीय सञ्चार माध्यमले फैलाउने चीन विरुद्धको ‘प्रोपगान्डा’ को निहितार्थ बुझ्नुपर्छ।
देशभित्रै पनि माओवादका नाममा दशक लामो हिंसात्मक राजनीति गरेका, मूलधारमा आएर माओका विचार र व्यवहार दुवै त्यागेका तर विगतका गल्ती प्रति सार्वजनिक रूपमा माफी पनि नमागेका ‘माओवादी पार्टी’ हरूका विरोधाभासपूर्ण कथ्य अस्वीकार गर्नुपर्छ। र, विश्वास तथा समन्वय मात्र होइन संशय सहितको चनाखो दृष्टिबाट पनि चीन चिन्ने नेपाली भाष्य निर्माण गर्नुपर्छ। हिमालको यो अङ्क चीन चिन्ने यही भाष्य निर्माणको एउटा यत्न हो।
(हिमालको २०७८ असोज अंकमा ‘चीन चिन्ने नेपाली भाष्य’ शीर्षकमा प्रकाशित।)