हिमालय एअरलाइन्सका जहाजमा एईडी
नेपाल–चीन संयुक्त लगानीको हिमालय एअरलाइन्सले सबै जहाजमा अटोमेटेड एक्सटर्नल डेफिब्रिलेटर (एईडी) राखेको छ।
एअरलायन्ससँग तीन वटा एअरबस–३२० र एउटा एअरबस–३१९ छ।
एईडीले हृदयगतिमा अकस्मात् समस्या आउँदा त्यसलाई रोकी हृदयगति चलाउन मद्दत गर्दछ। एईडीको सहायताले जहाज उडिरहेको समयमा कुनै यात्रुमा श्वासप्रश्वास वा हृदयगतिमा समस्या आए तत्कालका लागि बचाउने काम गर्दछ।
हृदयगति शिथिल हुन थालेमा एईडी मेसिनको सहायताले बिरामीको मुटुमा दबाब दिएर मुटु, श्वासप्रश्वास र नाडीको गति पुनः कायम गराउन मद्दत गर्छ।
एअरलाइन्सले यस्ता मेसिन आफ्नो प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ग्राउण्ड ह्याण्डलिङ कार्यालयमा समेत जडान गरी सम्पूर्ण कर्मचारीको स्वास्थ्य–सुरक्षाको समेत प्रत्याभूति गराएको छ। एअरलाइन्सले यसको प्रयोगबारे सबै कर्मचारीलाई तालिम समेत दिएको छ।