एक दिनमा झण्डै तीन लाखले लगाए कोरोना खोप
कोभिड-१९ विरुद्धको खोप लगाउनेको संख्या एक करोड १४ लाख नाघेको छ। बुधबार मात्रै झण्डै तीन लाख नागरिकले खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर दुई लाख ९९ हजार १३१ जनाले खोप लगाएका छन्। यसमा अधिकांशलाई दोस्रो डोज लगाइएको छ।
योसँगै पूर्ण खोप लगाउनेको संख्या ५४ लाख १५ हजार ४२७ पुगेको छ। त्यस्तै, बुधबारसम्म ६० लाख चार हजार १९ जनाले पहिलो डोज लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अहिलेसम्म कोभिशिल्ड तथा एस्ट्राजेनेका खोप १४ लाख ३३ हजार ६२७ जनालाई दुई डोज र २४ लाख ७६ हजार १३९ जनालाई पहिलो डोज लगाइएको छ। त्यस्तै, भेरोसेलको पहिलो डोज ३५ लाख २७ हजार ८८० जनालाई र दोस्रो डोज २५ लाख ८२ हजार ५८९ जनालाई लगाइएको छ।
जोनसन एन्ड जोनसन खोप पनि १३ लाख ९९ हजार २५१ जनालाई लगाइएको छ। यो खोप एक डोज लगाए पुग्छ।
खोप लगाउने क्रम बढेसँगै संक्रमण थपिने दर पनि केही दिनयता स्थिर देखिएको छ। पछिल्लो २४ घण्टामा १६ हजार ८४४ जनाको स्वाब परीक्षण गर्दा एक हजार ७६० जनाका संक्रमण पुष्टि भएको छ। त्यस्तै, एक हजार २२० जना निको भएका छन्।
आज कोरोनाबाट सात जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९९१ पुगेको छ।