‘बागमतीमा एकीकृत समाजवादीको मुख्यमन्त्री बनाउने समझदारी छ’
बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) को नेतृत्वमा सरकार बनाउने समझदारी भएको नेत्री मुनु सिग्देलले बताएकी छन्।
नेकपा (एमाले) विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवाद) गठन भएसँगै बागमतीमा सरकार फेरबलको तयारी थालिएको छ। एकीकृत समाजवादीको संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि समन्वय गर्न संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ।
गठबन्धन दलबीच एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनाउने समझदारी भएकाले तयारी थालिएको जनाइएको छ। हिमालखबरसँगको कुराकानीमा एकीकृत समाजवादी केन्द्रीय सदस्य एवं प्रदेश सांसद सिग्देलले पनि बागमतीमा एकीकृत समाजवादीको मुख्यमन्त्री बन्ने बताइन्।
“बागमती प्रदेशमा गठबन्धन दलको नै सरकार बनाउँछौं,’ नेत्री सिग्देलले भनिन्, “मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी)कै बन्ने समझदारी भइसकेको छ। कसलाई बनाउने भन्ने सहमतिबाटै टुंगो लगाउँछौं।”
नयाँ सरकार गठनका लागि तयारी पनि शुरू गरिसकिएको उनले बताइन्। एकीकृत समाजवादीले दल विभाजनको पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको छ भने संसदीय दलको नेता र पदाधिकारी चयन गरिसकेको छ। त्यसकै तयारीका लागि नेता पाण्डेलाई समन्वय गर्ने जिम्मेवारी दिइएको उनको भनाइ छ।
११० सदस्यीय प्रदेश सभामा अहिले १०९ सांसद छन्। जसमध्ये नेकपा (एमाले)का ४४, नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२, नेपाल मजदुर किसान पार्टीका ३, विवेकशील साझा पार्टीका ३, राप्रपाका २ र स्वतन्त्र सांसद १ जना छन्।
विपक्षी गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादी मिल्दा ५७ सांसद पुग्छन्। बहुमतका लागि ५५ सांसद आवश्यक पर्छ।
अहिले मुख्यमन्त्री रहेकी अष्टलक्ष्मी शाक्यसँग एमालेका ४४ सांसद मात्रै छन्। अब उनले प्रदेश सभामा विश्वासको मत लिनुपर्छ। संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भए ३० दिनभित्र विश्वासको मत लिनका लागि प्रदेश सभामा प्रस्ताव राख्नुपर्ने व्यवस्था गरिएको छ।