सोलारको पाँच मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडियो
सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा निर्माण सम्पन्न भएको सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो। निजी क्षेत्रबाट विद्युत् बिक्री सम्झौता गरेको यो पहिलो कम्पनी हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले यो परियोजनाको शुभारम्भ गरेकी छन्। ऊर्जामन्त्री भुसालले प्रदेश २ मा २०० मेगावाट क्षमताको सोलार आयोजना निर्माण गर्ने निर्णय गरिएको पनि बताइन्।
सोलार विद्युत परियोजनाको निर्माण सन् २०१७ मा शुरु भएको थियो। कोभिड-१९ महामारीका कारण निर्माण सकिन ढिलाइ भएको कम्पनीका अध्यक्ष मोहन गुरुङले जानकारी दिए।
कम्पनीले भविष्यमा सोलारबाट थप १५ मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ। गुरुङका अनुसार, म्याग्दी जिल्लामा १२ र तनहुँ जिल्लामा थप तीन मेगावाट विद्युत् उत्पादन गरिनेछ।
आयोजनामा बेलायतमा बसोबास गर्ने नेपालीले स्थापना गरेको ‘नेपाल कर्पोरेटिभ इन्भेष्टमेन्ट समूह’ ले लगानी गरेको छ। रु. ४३ करोडको लगानीमा आयोजनाको निर्माण सम्पन्न भएको हो। आयोजनामा डोल्मा इम्प्याक्ट फन्ड र स्थानीय केही व्यवसायीको पनि लगानी छ।
आयोजनामा १३ हजार ५०० सौर्य प्यानल जडान गरिएको छ। कम्पनीले तनहुँको बेलचौतारास्थित भानुभक्त क्याम्पसको १०० रोपनी जग्गा भाडामा लिएर सोलार प्लानल राखेको हो। नेपाल विद्युत् प्राधिकरणसँग २०७५ साउनमा विद्युत् खरीद सम्झौता (पीपीए) हुँदा आयोजनाबाट २०७६ साउनदेखि विद्युत् उत्पादन शुरू गर्ने तालिका थियो।
भारतको रेनेर्गो कम्पनीले सोलार परियोजना निर्माण गरेको हो। आयोजनाबाट दैनिक करिब २४ हजार युनिट विद्युत् उत्पादन हुनेछ। आयोजनाले उत्पादन गरेको विद्युत् प्राधिकरणले २५ वर्षसम्म प्रतियुनिट रु. ७.३० मा खरीद गर्नेछ।