एमसीसी अनुमोदन नगर्न प्रगतिशील आन्दोलनको अपील
प्रगतिशील रुपान्तरण आन्दोलन नेपालले अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन नगर्न सरकारलाई अपील गरेको छ।
प्रगतिशील आन्दोलनका संयोजक श्याम श्रेष्ठले प्रेस वक्तब्य जारी गरि एमसीसी नेपालको हितमा नभएको जिकिर गरेका छन्। वक्तब्यमा भनिएको छ, “नेपालको सार्वभौम संसद्ले एमसीसीलाई कदापि अनुमोदन नगरोस् भन्ने विषयमा प्रगतिशील रुपान्तरण आन्दोलन वेलैमा सम्पूर्ण माननीय सांसदहरूको ध्यानाकर्षण गराउन चाहन्छ।”
एमसीसी उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई पनि प्रगतिशील आन्दोलनले शंकाको दृष्टिले हेरेको छ। “एमसीसीका उपाध्यक्ष फातिमा सुमार लगायतका उच्च पदाधिकारीहरू नेपाल आएर नेपाली राजनीतिक नेतृत्वको घरघर धाउने र यथाशीघ्र एमसीसी संसद्बाट पास गरेर अमेरिकी अनुदान स्वीकार गरिदिन अनुनय-विनय गर्ने जुन परिदृश्य देखिएको छ, त्यो नेपालको वैदेशिक सहायताको इतिहासमा नितान्त अनौठो घटना हो,” वक्तब्यमा भनिएको छ, “यदि एमसीसीका पछाडि दाता मुलुकको निकै महत्वपूर्ण रणनीतिक स्वार्थ हुँदैनथ्यो भने तिर्खाको सट्टामा खोला नै तिर्खातिर धाउने यस्तो परिघटना हुन सम्भव नै थिएन भन्ने घाम जत्तिकै छर्लङ्ग छ।”
प्रगतिशील आन्दोलनले एमसीसी अनुमोदन गर्नु भनेको छिमेकी राष्ट्रविरुद्ध लाग्नु भएको ठहर गरेको छ। वक्तब्यमा भनिएको छ, “पञ्चशील र असंलग्न परराष्ट्र नीति अबलम्वन गर्दै अहिलेसम्म स्वतन्त्र र सार्वभौम रहिरहेको नेपाललाई कुनै महाशक्ति राष्ट्रको तथा उसको हिन्द-प्रशान्त रणनीतिको पक्षधर नबनाउन तथा आफ्नै छिमेकी मित्रराष्ट्र विरुद्ध नेपाललाई महाशक्ति मुलुकको द्वन्द्व-मैदान बनाउने दिशामा अग्रसर नहुन समेत हामी सरकारको ध्यानाकर्षण गर्न चाहन्छौं।”