एकदिवसीय वरियतामा नेपालको सुधार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ।
आइसिसीले आज जारी गरेको नयाँ वरियतामा नेपालको एक स्थान सुधार गर्दै १५औं स्थानमा उक्लिएको हो। यसअघि नेपाल १६औं स्थानमा रहेको थियो।
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत २८ भदौमा भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेपछि नेपालको वरियतामा सुधार आएको हो। नेपालले आठ खेलमा २८८ अंक प्राप्त गरेको छ।
ओमान भ्रमणमा रहेको नेपालले अमेरिकासँग खेल्नुअघि पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय सिरिज पनि जितेको थियो।
एकदिवसीयमा वरियतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो स्थानमा छ। त्यसैगरी अष्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेका छन्।
एकदिवसीय मान्यता प्राप्त २० देशमा पपुवा न्युगिनी पुछारमा रहेको छ। नेपालभन्दा तल ओमान, यूएई, नामिबिया, अमेरिका र पपुवा न्युगिनी रहेका छन्।
त्रिदेशीय शृंखला अन्तर्गत नेपालले आज ओमानसँग खेल्दै छ। सोमबार अमेरिकालाई दुई विकेटले पराजित गरेको थियो।