चितवनमा कृष्णसार स्थानान्तरणको तयारी, असोज अन्तिम सातासम्म ल्याइने
कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा स्थानान्तरण गरिएका कृष्णसारको संख्या उल्लेख्य वृद्धि भएपछि सरकारले चितवनमा समेत स्थानान्तरण गर्ने तयारी गरेको छ ।
कृष्णसारको दीर्घकालीन संरक्षणका लागि बर्दियाबाट चितवन स्थानान्तरण गरिने भएको छ । असोज अन्तिम सातासम्म कृष्णसार चितवनमा ल्याउने गरी काम भइरहेको रत्ननगर नगरपालिकाका मेयर नारायण वनले हिमालखबरलाई बताए । उनका अनुसार कृष्णसार राखिने टिकौलीको मैदानमा तारबार गर्ने काम भइरहेको छ । कृष्णसार चितवनमा ल्याउनका लागि रत्नगनगर नगरपालिकाले अग्रसरता लिएको हो । यसको लागि नगरपालिकाले यो वर्ष रु. ५० लाख र गत वर्ष ३० लाख छुट्याएको थियो ।
रत्ननगर नगरपालिकाका मेयर वन ‘वाइल्ड लाइफ’ पर्यटनको विकासका लागि कृष्णसारको बासस्थान बनाउन सहयोग गरेको बताउँछन् । “चितवनमा बाघ र गैंडा बाहेक अन्य जनावर पनि छन् है भन्ने सन्देश दिन हामीले कृष्णसारको स्थानान्तरणमा पहल गरेका हौं,” उनी भन्छन् “नयाँ वन्यजन्तुको आगमनले पर्यटकलाई नयाँ अनुभव दिन सकिन्छ ।”
कृष्णसार स्थानान्तरणका लागि स्थानीय सरकार, चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्था तथा सामुदायिक वनको संयन्त्र निर्माण गरिएको छ ।
अहिले कृष्णसार बर्दियाको खैरापुर र कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा मात्र पाइन्छ ।
वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बुद्धि पौडेल कृष्णसारको संरक्षणका लागि स्थानान्तरणको तयारी गरिएको बताउँछन् । उनका अनुसार कुनै प्रजाति एक ठाउँमा मात्र रहँदा रोग तथा बाढी, पहिरोका कारण संरक्षणमा चुनौती हुने भएकाले कृष्णसारलाई चितवन ल्याउन लागिएको हो ।
यसअघि २०६९ असोजमा नेपालगञ्जबाट आठ वटा भाले, १४ वटा पोथी तथा ललितपुरको जावलाखेलस्थित सदर चिडियानाबाट तीन भाले, दुई पोथी र एक बच्चा कृष्णसार कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा स्थानान्तरण गरिएको थियो । अहिले त्यहाँ १३३ कृष्णसार छन् ।
कृष्णसारको बासस्थानका लागि खुला घाँसे मैदान भएको ठाउँ उपयुक्त मानिन्छ । यसले काँस, दुबो मन पराउँछ ।
वन्यजन्तुविज्ञ शान्तराज ज्ञवालीको भनाइमा सानो संख्यामा सीमित ठाउँमा रहेको जनावरलाई जति धेरै ठाउँमा स्थानान्तरण गर्यो संरक्षणका हिसाबले त्यति राम्रो मानिन्छ । “सानो संख्यामा सीमित ठाउँमा रहेका जनावरहरू जलवायुजन्य प्रकोप र रोगहरूबाट बचाउनका लागि स्थानान्तरण जरुरी छ,” ज्ञवाली भन्छन् “एक ठाउँमा रहँदा एउटै नश्लको हुने भएकाले आनुवांशिकतालाई कमजोर गराउँछ ।” ज्ञवाली कृष्णसारको बासस्थान सातवटै प्रदेशमा बनाउनुपर्ने बताउँछन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार, कृष्णसार अन्य वन्यजन्तुभन्दा फरक भएकाले यसलाई जहाँ पायो त्यहाँ स्थानान्तरण गर्न भने मिल्दैन । कृष्णसारको बासस्थानका लागि खुला घाँसे मैदान भएको ठाउँ उपयुक्त मानिन्छ । यसले काँस, दुबो मन पराउँछ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–सचिव (प्राविधिक) नारायण रुपाखेती जंगल र झाडी भएको ठाउँ कृष्णसारको लागि उपयुक्त नभएको बताउँछन् । “घना जंगल र झाडीमा हराउने डर हुन्छ,” रुपाखेती भन्छन् “बिहान/बेलुका घाँसे मैदानमा चर्ने र दिउँसोको चर्को घाम तापेर बस्ने यसको स्वभाव हुन्छ ।”
कृष्णसार संरक्षणको प्रयास
कृष्णसार नेपालको संरक्षित वन्यजन्तु हो । कुनै समय नेपालका साथै भारतको पञ्जाब, उत्तर प्रदेश र बाङ्लादेशसम्म सजिलै पाइन्थ्यो । तर, बासस्थान अतिक्रमण, चोरी शिकार र प्राकृतिक प्रकोपका कारण यसको संख्या घट्दै गयो । तराईमा प्रशस्त पाइने कृष्णसार भेटिन छाडेपछि सरकारले संरक्षणको प्रयास थालेको हो ।
यही प्रयासबाट झन्डै चार दशकपछि नेपालमा कृष्णसारको संख्या ३२५ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । जसमध्ये खैरापुरको संरक्षण क्षेत्रमा १९२ वटा र कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा १३३ कृष्णसार छन् ।
बर्दियाको खैरापुरमा २०३२ सालदेखि कृष्णसार संरक्षण क्षेत्रको काम शुरू गरेर २०६५ सालमा मात्र संरक्षण क्षेत्र घोषणा गरिएको हो । त्यहाँको १ हजार ६९५ हेक्टर जमीनलाई कृष्णसार संरक्षण क्षेत्रका रूपमा राखिएको छ ।
त्यसअघि २०३४ सालदेखि २०४९ सम्म बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत बघौरा फाँटमा कृष्णसारको बासस्थान विकास गर्ने प्रयास गरिएको थियो । बघौरा फाँटमा २०३४ सालमा सदर चिडियाखानाबाट १६ वटा कृष्णसार स्थानान्तरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–सचिव रुपाखेती बताउँछन ।
खैरापुरको संरक्षण क्षेत्रमा १९२ वटा र कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा १३३ कृष्णसार छन् ।
२०४५ सालमा गणना गर्दा बघौरा फाँटमा १७ वटा कृष्णसार भेटिएका थिए, भने लगत्तै अर्का वर्षको गणनामा एउटा पनि भेटिएन । त्यसपछि २०४७ सालमा जावलाखेलस्थित चिडियाखानाबाट बघौरामा २६ कृष्णसार लगिएको थियो । त्यसको दुई वर्षपछि २०४९ सालमा गणना गर्दा फेरि पनि कृष्णसार फेला परेन । स्थानान्तरण गरिएका कृष्णसार नरहेपछि बघौरामा कृष्णसार संरक्षणको योजना स्थगित गरिएको थियो ।
खुला जमीन र चौरमा अतिक्रमण हुँदा कृष्णसारको बासस्थान जोगाउन चुनौती थपिएको खैरापुर संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अर्जुन भुसाल बताउँछन् ।
कृष्णसार संरक्षणका लागि बासस्थानको अभाव भएपछि सरकारले खैरापुरमा निजी जग्गा विभिन्न समयमा अधिग्रहण गरेको थियो ।
बर्दिया र कञ्चनपुरमा कृष्णसार स्थानान्तरण र संरक्षणमा अमेरिकी सहयोग नियोग यूएसआईडीको सहयोगमा हरियो वन कार्यक्रममा गरिएको थियो ।
शुक्लाफाँटामा कृष्णसार संरक्षणको व्यवस्थापन विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले गर्दै आएका छन् ।