दल विभाजनले प्रदेश सभामा पनि थपियो व्ययभार
नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर दुई वटा नयाँ पार्टी बनेसँगै प्रदेश सभामा पनि व्ययभार थपिएको छ।
दुई दल विभाजन भएसँगै प्रदेश सभामा पनि नेकपा (एककृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी थपिएका छन्। जसले गर्दा प्रदेश २ को प्रदेश सभामा दलको नेता, सचतेक र उनीहरूको लागि संसदीय दलको कार्यालय थप्नु पर्ने भएको हो। संसदीय दलको कार्यालयमा कर्मचारीको पनि व्यवस्था गर्नुपर्छ।
अहिले प्रदेश २ मा दलको संख्या सात पुगेको छ। प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलको संख्या बढेपछि ती दलबाट चयन भएका दलका नेता र प्रमुख सचेतक सहितका पदाधिकारीलाई दिइने सेवा सुविधाले व्ययभार बढेर जाने प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले बताए।
अहिलेसम्म एमाले, नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जसपा र नेपाल संघीय समाजवादी पार्टीले दलका नेता, प्रमुख सचेतक सहितका पदाधिकारीले सेवा सुविधा लिदै आएका थिए। यसबाहेक एक जना प्रदेश सभा सदस्य रहेको नेपाल संघीय समाजवादी पार्टीका सांसदले पनि दलको सेवा सुविधा लिँदै आएका छन्।
अब नयाँ थपिएका माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि दलका नेता र प्रमुख सचेतकको सेवा सुविधा पाउनेछन्। प्रदेश २ को प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविध सम्बन्धी ऐन अनुसार विपक्षी दलका नेताले उपसभामुख सरह सुविधा पाउने व्यवस्था छ।
दलका प्रमुख सचेतक र सचेतकले मासिक ५३ हजार पारिश्रमिक, बैठक भत्ता एक हजार, संचार सुविधा तीन हजार २००, आवास सुविधा १६ हजार र फर्निचरका लागि पाँच वर्षको अवधिमा ६० हजार पाउने गरेका छन्।
त्यस्तै, निजि सचिवालय बन्दोवस्तीका लागि दुई हजार, सवारी ईन्धन २०० लिटर, मोबिल १० लिटर, बिजुलीको दुई हजार, दैनिक भ्रमण भत्ता दुई हजार ५०० र यातायात खर्च ५०० पाउने व्यवस्था छ। अझ चाड पर्वको छुट्टै सुविधा पाउने व्यवस्था छ।
प्रदेश सभा सचिवालयका सचिव यादवले भने, “दल गठनले मात्रै हुँदैन, निर्वाचन आयोगले दल गठन भएको औपचारिक जानकारी गराइसकेपछि गठित दलले प्रमाण सहित प्रदेश सभामा दाबी सहितको माग गरेमा सोही दिनदेखि दलका नेता र प्रमुख सचेतकले सेवा सुविधा पाउनेछन्।”
१०७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रले तीन जनालाई कारबाही गरेको छ। अहिले १०४ जना सांसद रहेका छन्। त्यसमध्ये सभामुख बाहेक जसपाका ३९, कांग्रेसका १९, लोसपाका १६, एकीकृत समाजवादीका १३, एमालेका आठ, माओवादीका आठ र संघीय समाजवादीका एक जना सांसद छन्।