संखुवासभा सामूहिक हत्याकाण्डका अभियुक्तसम्म यसरी पुग्यौंः डीआईजी
संखुवासभामा एकै घरका ६ जनाको हत्या भएको घटनाको अनुसन्धान टोलीको नेतृत्व गरेका नेपाल प्रहरीका डीआईजी अरुण बिसीले दिएकाे जानकारी उनकै शब्दमा:
संखुवासभाको मादी नगरपालिका वडा नम्बर १, उम्लिङ खोला गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीय पार्वता कार्की, श्रीमती ५४ वर्षीय मनमाया कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, नाति १० वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीय गोमा कार्कीको २१ भदौ बिहान हत्या भएको जानकारी आएपछि हामीले तुरुन्तै प्रहरी परिचालन गर्यौं।
म पनि घटनास्थलमा पुगें। २२ भदौदेखि अनुसन्धान अघि बढायाैं। घटनास्थल प्रकृति मुचुल्का, लाश प्रकृति मुचुल्का सबै गरेर पोस्टमार्टमका लागि पठायौं।
घटना कसरी भयो भन्नेबारे विश्लेषण गर्यौं। व्यक्तिगत रिसइबी, आवेग लगायत सम्भाव्यताका फरक–फरक कोणबाट हेर्यौं। लुटपाट वा बाहिरबाट आएर कसैले गरेको कुनै संकेत पाएनौं। किनभने सुन, गरगहना र नगद घरमै थिए।
हेर्दै जाँदा खोला गाउँमै बस्ने २५ वर्षीय लोकबहादुर कार्कीमा हाम्रो अनुसन्धान सोझियो। उनलाई ‘ट्र्याक’ गर्न थाल्यौं । त्यहाँका अन्य व्यक्तिसँगको कुराकानीमा विभिन्न कागजात र जानकारी प्राप्त गर्यौं। लोकबहादुर प्रति शंका अझै बढ्याे।
हामीले लोकबहादुरलाई सोधपुछ गर्न थाल्यौं। उनी वैदेशिक रोजगारीका लागि मलेसिया र कतार गएर फर्किएको खुल्न आयो। अन्तिम पटक विदेश जाँदा चाहिं बिरामी भएर काम गर्न नसकेर फर्केका रहेछन्। उनको गतिविधि बुझ्दा अलि आक्रामक र बुबा, भाइहरूसँग झगडा गर्छन् भन्ने थाहा पायौं।
दैनिक क्रियाकलापमा उनी अलिक अल्छी, काम गर्न जाँगर नगर्ने भन्ने खालका कुरा पनि खुल्न आयो। अभियुक्तका हजुरबुबा दिवंगत हुने वेला तेजबहादुर कार्कीसँग (जो मृतक ६ जनामध्येका एक थिए।) मेरो सन्तानहरू कमजोर छन् भन्नुभएको रहेछ। अभियुक्तका हजुरबुबाले 'तिनीहरूको स्याहारको जिम्मा तिम्रो' भनेको पायौं।
तेजबहादुर कार्की त्यो परिवारको हर्ताकर्ता भएको अनुसन्धानबाट पायौं। तेजबहादुरले अभियुक्तलाई बारम्बार काम गर्न भनेर सम्झाउने गर्दा रहेछन्।
घरीघरी ‘कमाउन नसकेको’ भनेको सुन्दा अभियुक्तले मृतक तेजबहादुर प्रति घृणा पालेर बसिरहेकोे पाइयो। अभियुक्तले वेलावेला जे भेट्यो त्यसले भाइबहिनीलाई हान्ने, बढी आक्रोशित हुने गरेको पायौं।
घटनाको भोलिपल्ट मृतक तेजबहादुरकोमा खेताला लैजाने तयारी रहेछ। त्यसमा अभियुक्त लोकबहादुर र उनको भाइलाई पनि लैजाने कुरा रहेछ। बिहान तेजबहादुर बोलाउन जाँदा भाइ र बुबा घाँस काट्न गएकाले अभियुक्त घरमा एक्लै रहेछन्। तेजबहादुरले खेताला पक्का गरेर फर्कने वेला अभियुक्तकाे मनमा तेजबहादुरले जहिल्यै गाली गर्ने, केही गर्ने नसक्ने भनेर भनिरहने कुरा खेल्न थालेछ। त्यति नै वेला अभियुक्तले दाउरा राखेको ठाउँबाट चिर्पट लिएर पछाडिबाट हानेको देखिन्छ।
गाेगनको रूखमा पुग्दा दुई–तीन पटक हिर्काएर तेजबहादुरलाई अभियुक्तले ढालिसकेका थिए। ‘मलाई लोकेले मार्याे’ भनेर तेजबहादुर कराएपछि बुहारी र श्रीमती बाहिर निस्केका रहेछन्।
र, त्यही चिर्पटले तेजबहादुरकी श्रीमतीलाई हिर्काएको र निजलाई पनि खोल्सामा धकेलेको रहेछ। बुहारी पनि होश गुमाए जस्तो भएपछि त्यही चिर्पटले हानेको देखिन्छ।
बाहिर कराएको आवाज आएपछि घरबाट बच्चाहरू निस्किएको र उनीहरूलाई पनि खेदाई–खेदाई मारेको अवस्था छ। त्यसपछि अभियुक्त तेजबहादुरको घरभित्रै गएर उसको नाता पर्ने हजुरआमालाई कुँडो पकाएकै स्थान छेउमा भित्तामा टाउको बजारेर मारेको देखिन्छ। त्यसपछि चिर्पट ल्याएर आफ्नो घरमा कुँडो पकाएको अँगेनामा जलाएको देखिन्छ ।
तेजबहादुर कार्कीको ‘लाश त्यहाँ छ’ भनेर हल्ला गर्ने पनि अभियुक्त नै रहेछ।
यसरी पहिला घरको मूली मान्छे तेजबहादुर (जो हट्टाकट्टा, बलिया र आँटिला थिए)लाई ढालेपछि महिला र बालकहरूलाई सजिलै ढाल्न सक्छु भन्ने मानसिकताले घटना घटाएको देखिन्छ। आवेगमा घटना भएको पाइएको छ।
तेजबहादुरले सधैं अभियुक्तलाई पागल भनेर होच्याउने, ‘कमाउन सकिनस्’ भनेर गाली गर्ने भनाइले अभियुक्तको मनमा नकारात्मक असर परेकाे रहेछ। घटना हुने दिन पनि तेजबहादुर अभियुक्तलाई बोलाउन जाँदा अभियुक्त बिहान ढिलो उठ्ने गरेको कुरामा तेजबहादुरले रिसाएका रहेछन् ।
घटनास्थलको वरपर तीन–चार वटा मात्र घर भएको, मृतक र अभियुक्तको घरबीच एक सय मिटरको मात्र दूरी रहेको छ। आफन्त मर्दा हुनुपर्ने प्रतिक्रिया नदेखिएकाले अभियुक्तलाई शंका गर्ने बाटो खुलेको थियो।
६ दिनमा हामी घटना उजागर गर्न सफल भयाैं ।
(इलाका प्रहरी कार्यालय, चैनपुरमा २७ भदौमा अभियुक्त सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा व्यक्त डीआईजी अरुण बिसीको मन्तव्यको सम्पादित अंश)