बिजुली खेर जान थालेपछि बिहारसँग विद्युत आदान-प्रदानको प्रस्ताव
नेपाल विद्युत प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढी रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयातका लागि भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान-प्रदानको प्रस्ताव गरेको छ।
प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाबाट बर्खामा उत्पादित विद्युत देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनीसँग पारस्परिक मौसमी विद्युत आदान-प्रदानको प्रस्ताव गरेको हो। नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान-प्रदान हुँदै आएको छ।
बर्खाका ६ महीना नेपालबाट विद्युत बिहार पठाउने र हिउँदका ६ महीना उताबाट ल्याउने गरी पारस्परिक विद्युत आदान-प्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। “बर्खाका महीनामा २४सै घण्टा २०० मेगावाट एवं राति ११ बजेदेखि बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ। बर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युत्को मूल्य तय गरिनेछ,” घिसिङले भने।
उनका अनुसार, यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिएमा बर्खामा नेपालमा बढी भएको विद्युत् भारत पठाउन सकिन्छ भने हिउँदमा अपुग भारतबाट ल्याउन सकिन्छ। पारस्पारिक विद्युत आदान प्रदानको यो मोडेल कार्यान्वयनमा ल्याउन सकिएमा दुई मुलुकबीच विद्युत कारोबारको कोशेढुंगा हुने घिसिङको दाबी छ। “यसमा भारतीय पक्षको जवाफ सकारात्मक पाएका छौं, केही दिनभित्रमा यसबारे ठोस निर्णय आउने विश्वास छ,” घिसिङले भने।
माथिल्लो तामाकोशी सञ्चालनमा आएसँगै अहिले नेपालको विद्युत प्रणाली करीब एक हजार ८०० मेगावाट हाराहारीमा पुगिसकेको छ। यसमध्ये करीब एक हजार ५०० मेगावाट विद्युत उत्पादन भइरहे पनि माग भने थोरै छ।
बिहान-बेलुकी पिक समयमा एक हजार ५०० मेगावाट जति खपत भए पनि अरु समयमा भने विद्युतको खपत एक हजार मेगावाट हाराहारी हुन्छ। यसले ४-५ सय मेगावाट विद्युत खेर गइरहेको प्राधिकरणका अधिकारीहरु बताउँछन्। बिहारसँगको यो प्रस्ताव अघि बढे उब्रिएको बिजुली भारत पठाउन मिल्छ।
घिसिङकाअनुसार, यस वर्षको बाँकी तीन महीनामा नेपालमा खपत गरेर बढी हुने करीब ७० करोड युनिट र अर्को वर्ष तीन अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिनेछ। हिउँदे याममा त्यतिनै बराबरको विद्युत आयात गर्न सकिन्छ। यसले गर्दा बर्खामा खेर जाने विद्युतको उच्चतम् प्रयोग हुनेछ।
भारतसँग भएको पूर्व समझदारीअनुसार, ३०४ मेगावाट विद्युत आदानप्रदान गर्न सकिन्छ। तर, भारतले नेपालको विद्युत लिन आनाकानी गर्दै आएको छ। नेपालले पटक–पटक इनर्जी ब्यांकिङ अर्थात्, वर्षायाममा बिजुली भारत पठाउने र हिउँदमा सोही परिमाणमा ल्याउने प्रस्ताव गरे पनि भारतले अस्वीकार गरिसकेको छ।
अहिले बिहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारण लाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत आदान प्रदान गर्न सकिन्छ। प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर-मुजफ्फरपुर, रामनगर विन्दुबाट २४सै घण्टा विद्युत् नर्थ बिहार पावर डिष्ट्रिब्यूसन कम्पनीलाई उपलब्ध गराउन सकिने जानकारी गराएको छ।
साथै, राति ११ बजेदेखि बिहान ६ बजेसम्म थप विद्युत् उपलब्ध गराउन सकिनेछ। यसबाट सञ्चालमा रहेका दुई मुलुकबीच जोड्ने प्रसारण पूर्वाधारको समेत उपभोग हुनेछ।
बर्खामा उत्पादित विद्युत् आन्तरिक रुपमा खपत गर्न नसकी खेर जाने अवस्था आई प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल प्रभाव पर्ने देखिएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा टोली भारत गएको थियो। टोलीले बिहीबार बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध-निर्देशक सन्जीव हान्सलाई भारतको पटनामा भेटी विद्युत आदान-प्रदानका विषयमा छलफल एवं प्रस्ताव पेश गरेको हो।
प्राधिकरणले अहिलेसम्म ३४६ आयोजनासँग ६ हजार १७६ मेगावाटको पीपीए गरेको छ। यसमध्ये १११ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा छन्। आयोजनाको जडित क्षमता एक हजार ३०० मेगावाट (प्राधिकरणका बाहेक) छ।
तीन हजार ३४ मेगावाट जडित क्षमता भएका १३६ आयोजना वित्तीय व्यवस्वस्थापन गरी निर्माणाधीन छन्। एक हजार ८४१ मेगावाट जडित क्षमताका ९९ आयोजना वित्तीय व्यवस्थापन गर्ने प्रक्रियामा छन्।