साढे चार महीनापछि नयाँ संक्रमित हजारभन्दा कम
साढे चार महीनापछि दैनिक थपिने नयाँ संक्रमितको संख्या एक हजारभन्दा कम पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ९९४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। देशभर नौ हजार ८४० जनाको स्वाब परीक्षण गरिएको थियो।
जसमध्ये ६ हजार १३७ जनाको पीसीआर परीक्षण गर्दा ७७७ जनामा र तीन हजार ७०३ जनाको एन्टिजन परीक्षण गर्दा २१७ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि ५ वैशाखमा एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमण पुष्टि हुनेको संख्या दैनिक बढ्दै आएको थियो। ५ वैशाखअघि संक्रमितको संख्या एक हजारभन्दा कम थियो।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ।
आज कोरोनाबाट एक हजार ३६८ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या सात लाख ३८ हजार ३४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार देशभर ६८ हजार ६३० जनालाई खोप लगाइएको छ। अहिलेसम्म ५१ लाख ६० हजार ५२४ जनालाई पूर्ण खोप र ५७ लाख ६९ हजार ३२८ जनालाई पहिलो डोज लगाइएको छ।