को हुन् एमसीसी उपाध्यक्ष फतिमा सुमार?
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा जे. सुमार २४ भदौमा काठमाडौं आएकी छन्।
उनी यसअघि पनि पटक पटक नेपाल आएकी छन्। २०७२ को भूकम्पपछि नेपाल आएकी थिइन्। उनले भूकम्पमा भत्किएका संरचनाका विषयमा स्थलगत जानकारी पनि लिएकी थिइन्।
सन् २०१४ मा पनि नेपाल आएकी थिइन्। त्यति वेला उनी भोटेकोशी पुगेकी थिइन्।
यस पटकको चार दिने नेपाल भ्रमणमा भने उच्च राजनीतिक भेटघाटमा व्यस्त हुनेछिन्। एमसीसी उपाध्यक्ष सुमारले नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससँगै २४ भदौ दिउँसो नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर राजनीतिक भेटघाटको शुरूआत गरेकी छन्।
अमेरिकाको विदेश सहयोग सम्बन्धी एजेन्सी एमसीसीको कर्पोरेट कार्यालयमा कम्प्याक्ट अपरेशन विभागमा उपाध्यक्षका रूपमा कार्यरत छिन्, सुमार। मोहम्मौद बाह कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रहेको एमसीसीका चार उपाध्यक्षमध्ये सुमार एक हुन्।
उनको विभागले एमसीसी सम्झौता गरिएका तथा सम्झौताको तयारीमा रहेका देशमा सञ्चालन सम्बन्ध तय गर्छ। सम्झौता अनुसारको कामको प्रगति बुझ्ने र विश्लेषण पनि यही विभागले गर्छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले सुमारलाई गत फेब्रुअरीमा कम्प्याक्ट अपरेशन विभागको उपाध्यक्ष नियुक्त गरेका थिए। यसअघि पनि, उनी सन् २०१५ देखि २०१८ सम्म एमसीसीमा एशिया, यूरोप, प्यासिफिक र ल्याटिन अमेरिका क्षेत्रीय उपाध्यक्षका रूपमा कार्यरत थिइन्।
सन् २०१८ मा उनले एमसीसी छोडेर अक्सफामको उपाध्यक्षका रूपमा काम गरेकी थिइन्। बाइडेन प्रशासनले उनलाई फेरि अमेरिकी सरकारको मुख्यालय क्यापिटल हिल भित्र्याएको हो। अन्तर्राष्ट्रिय विकास, वैदेशिक नीति, कूटनीति आदि विषयमा उनको दक्षता रहेको एमसीसीको आधिकारिक वेबसाइटमा उल्लेख छ।
यसअघि एमसीसीको क्षेत्रीय उपाध्यक्षका रूपमा काम गर्दा पनि सुमारले नेपाल सहित श्रीलंका, मंगोलिया, जोर्डन, फिलिपिन्स, इन्डोनेसिया, जर्जिया, कोसोभो, माल्दोभा र एल साल्भाडोरमा सम्झौताका विषयमा काम गरेका थिइन्। अर्थात्, सुमार नेपालको एमसीसीमा तयारीको चरणदेखि नै जानकार मानिन्छिन्। एमसीसी परियोजना तयारीकै क्रममा उनले नेपालको भ्रमण गरेकी थिइन्।
सुमारको अमेरिकी ब्यूरोक्रेसीमा लामो अनुभव छ। उनले सन् २०१३ देखि १५ सम्म अमेरिकी विदेश मन्त्रालयमा दक्षिण र मध्यएशिया मामिलामा उप-सहायक सचिवका रूपमा काम गरेकी थिइन्। दक्षिण र मध्यएशियाका देशको कूटनीतिक मामिला सोही विभागले हेर्छ।
त्यसअघि, सन् २००९ देखि २०१३ सम्म उनले अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समितिमा दक्षिण र मध्यएशिया हेर्ने गरी ‘सिनियर प्रोफेसनल स्टाफ मेम्बर’ का रूपमा काम गरेकी थिइन्। यो समितिको नेतृत्व जोन केरीले गरेका थिए।
अमेरिकाको ख्याति प्राप्त प्रिन्सटन विश्वविद्यालयको पब्लिक एण्ड इन्टरनेशनल अफेयर्स स्कूलबाट स्नातकोत्तर गरेकी सुमारले शैक्षिक उपलब्धिका लागि सम्मानित अवार्ड पनि पाएको उनको व्यावसायिक व्यक्ति-वृत्तमा उल्लेख छ।
सुमारले कोर्नेल विश्वविद्यालयबाट राजनीतिशास्त्र र सरकार विषयमा स्नातक गरेकी छन्। यससँगै इजिप्टको कायरोस्थित अमेरिकन विश्वविद्यालयमा राजनीतिक र अरबिक भाषा अध्ययन गरेकी थिइन्।
सुमारका बाबु भारतीय मूलका मुस्लिम हुन्। सन् २०२० को अप्रिलमा प्रकाशित गरेको एक लेखमा उनले आफ्ना काका जुल्फिकर गुन्जालाई कोभिड-१९ का कारण गुमाएको उल्लेख गरेकी थिइन्।
जुल्फिकरलाई काका सम्बोधन गर्ने गरेको र उनको जन्म भारतको मुम्बईमा गरीब परिवारमा भएको सुमारले उक्त लेखमा उल्लेख गरेकी थिइन्। ४२ वर्षीया सुमार तीन छोरीकी आमा हुन्।