समाचारमा मनोसामाजिक पक्षलाई बेवास्ता
आत्महत्याका समाचारलाई प्राथमिकता दिएर विस्तृत र सनसनीपूर्ण रूपमा प्रस्तुत गर्दा नकारात्मक प्रभाव मात्रै पार्दैन, आत्महत्या गर्न दुरुत्साहन पनि मिल्छ।
संसारकै लागि चिन्ताको विषय बनेको छ, आत्महत्या। हरेक ४० सेकेन्डमा एक जना र प्रत्येक वर्ष आठ लाख मानिसले आत्महत्या गर्दै आएको तथ्यांक छ। नेपाल पनि यो समस्याबाट टाढा छैन।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभागका अनुसार, केही वर्ष यता आत्महत्याको दर बढ्दै आएको छ। पाँच वर्षअघि २०७२/७३ मा पाँच हजार १२४ जनाले आत्महत्या गरेका थिए भने २०७७/७८ मा पुग्दा यो संख्या सात हजार ११७ पुगेको छ। जनसंख्या वृद्धिका अनुपातमा आत्महत्या बढ्दै जानु चिन्ता र चासोको विषय बनेको छ।
एक व्यक्तिले आत्महत्या गर्दा त्यसको प्रत्यक्ष प्रभाव कम्तीमा ६ जनामा पर्ने विभिन्न अध्ययनले देखाएका छन्। कुनै व्यक्तिले अकाल मृत्युवरण गर्दा समाजमा पनि नकारात्मक तरंग पैदा गर्छ। यो नकारात्मक तरंग फैलाउन सञ्चार माध्यमको पनि भूमिका देखिन्छ।
धेरैजसो आत्महत्याका पछाडि मानसिक स्वास्थ्यको भूमिका रहेको हुन्छ। डिप्रेसन, एन्जाइटी, मेनिया, बाइपोलार डिसअर्डर, स्किजोफेनिया लगायतका मानसिक असन्तुलन तथा लागूऔषध एवं नशालु पदार्थको सेवनका कारण धेरै मानिसले आत्महत्या गरेको पाइएको छ।
आत्महत्याका कारण
आत्महत्याको एउटै मात्र कारण हुँदैन। धेरैजसो आत्महत्याका पछाडि मानसिक स्वास्थ्यको भूमिका रहेको हुन्छ। डिप्रेसन, एन्जाइटी, मेनिया, बाइपोलार डिसअर्डर, स्किजोफेनिया लगायतका मानसिक असन्तुलन तथा लागूऔषध एवं नशालु पदार्थको सेवनका कारण धेरै मानिसले आत्महत्या गरेको पाइएको छ। यो मस्तिष्कसँग सम्बन्धित निर्णय, व्यवहारमाथिको नियन्त्रण र सकारात्मक चिन्तनको अभावका कारणले सिर्जना हुने घटना हो।
सामान्यतया गरीबी वा तत्काल सिर्जना भएको कुनै समस्या विशेषका कारण आत्महत्या गरेको अनुमान गरिन्छ। सामान्य कारणले कसैले आत्महत्या गर्दैन, आत्महत्याका पछाडि उसको मानसिक स्वास्थ्य, आचरण तथा आवेगले भूमिका खेलेका हुन्छन्। त्यस्तै, बाल्यकालीन आघात, लागूपदार्थको सेवन र दीर्घकालीन शारीरिक पीडाले पनि आत्महत्यातिर डोर्याउन सक्छ।
आत्महत्याका विषयमा ‘अमेरिकन फाउन्डेसन फर सुसाइड प्रिभेन्सन’ ले अनुसन्धान गरी विभिन्न तथ्य बाहिर ल्याएको छ। यस संस्थाका अनुसार, आत्महत्या गर्नेमध्ये धेरैजसो व्यक्ति मानसिक समस्याबाट ग्रसित हुन्छन्। आत्महत्याका लागि प्रयोग हुने साधनको पहुँचमाथि नियन्त्रण गर्न सक्ने हो भने यस्ता घटनामा कमी ल्याउन सकिने यो संस्थाको निष्कर्ष छ।
आत्महत्याबारे कुराकानी गर्दैमा आत्महत्याको सोच नआउने अनुसन्धानमा देखिएको छ। बरु आत्महत्या गर्न चाहेको व्यक्तिसँग त्यसबारे कुराकानी गर्दा सोच परिवर्तन हुने यो संस्थाको अध्ययनले देखाएको छ। यससँगै मनोपरामर्श, मानसिक स्वास्थ्य सचेतना आत्महत्या रोकथामका प्रभावकारी उपायहरू हुन्। डिप्रेसन लगायतका रोगमा सन्तुलित रूपमा औषधिको उपयोगले पनि आत्महत्याको सोचलाई रोक्न सकिन्छ।
कुनै समाजमा बेइज्जत हुनुभन्दा आत्महत्या गर्नु नै उत्तम हो भनेर बालबालिकालाई प्रशिक्षित गरिएको हुन्छ। कुनै समाजमा आत्महत्यालाई ठूलो अपराध र पापी कामका रूपमा चित्रण गरिएको हुन्छ।
आत्महत्याबारे विभिन्न समाजमा आ-आफ्नै किसिमका दृष्टिकोण हुन्छन्। कुनै समाजमा बेइज्जत हुनुभन्दा आत्महत्या गर्नु नै उत्तम हो भनेर बालबालिकालाई प्रशिक्षित गरिएको हुन्छ। कुनै समाजमा आत्महत्यालाई ठूलो अपराध र पापी कामका रूपमा चित्रण गरिएको हुन्छ। समाजमा रहेको ‘स्टिग्मा’ का कारणले पनि आत्महत्या सम्बन्धी चिन्तन र दृष्टिकोणमा भिन्नता ल्याउने गर्छ। चिन्तन तथा दृष्टिकोण निर्माणमा सूचनाले नै सहयोग गर्छ।
अहिले समाज सूचनाको अभावले भन्दा सूचनाको बाढीले आक्रान्त छ। जिम्मेवार सञ्चार माध्यमले सनसनीपूर्ण भन्दा पनि समाजलाई सिर्जनशील बनाउने र स्वस्थ मानसिक स्थितिको सिर्जना गर्ने किसिमका समाचारलाई प्राथमिकता दिनुपर्छ। पाठकमा पार्ने मनोवैज्ञानिक असरबारे सावधान हुनुपर्छ।
सनसनीपूर्ण समाचारका माध्यमबाट आफूलाई चिनाउन चाहने, अनौपचारिक सञ्चारका माध्यम तथा सामाजिक सञ्जाल चुनौती बनेका छन्। यस्ता माध्यमले मनोसामाजिक पक्षमा ध्यान नदिने र आवेश प्रेरित समाचारले समेत रोकटोक विना प्रविष्टि पाउने भएकाले मानसिक समस्या बढाउने तथा आत्महत्याजन्य घटनामा वृद्धि गराउने माध्यम बन्नसक्ने सम्भावना रहन्छ।
कसरी गर्ने रोकथाम?
आत्महत्या रोकथाममा सञ्चार माध्यमको महत्त्वपूर्ण भूमिका हुन्छ। तर, यसको मनोसामाजिक पक्षलाई बेवास्ता गरी समाचार प्रकाशन-प्रसारण गर्दा अन्य व्यक्तिलाई पनि आत्महत्या गर्न दुरुत्साहन मिल्छ। सञ्चार माध्यमले सावधानी नअपनाउँदा समाचारले समाजमा नकारात्मक प्रभाव पार्ने गरेको विभिन्न अध्ययनले देखाएका छन्। आत्महत्याका समाचार प्रकाशन प्रसारण गर्दा केही विषयमा ध्यान दिनु जरुरी हुन्छ।
विश्व स्वास्थ्य संगठनले ‘प्रिभेन्टिङ सुसाइड अ रिसोर्स फर मिडिया प्रोफेसनल्स २००८’ का माध्यमबाट सञ्चार माध्यमले समाचार प्रसारण गर्नु पूर्व ध्यान दिनुपर्ने विषयमाथि प्रकाश पारेको छ। यस मापदण्ड अनुसार, आत्महत्याका समाचारलाई भित्री पृष्ठको तल्लो भागमा मात्र प्रकाशन गर्नुपर्छ। टेलिभिजनमा पनि यस्ता समाचारलाई धेरै महत्त्व नदिई दोस्रो वा तेस्रो विश्रामपछि मात्रै प्रसारण गर्नुपर्छ।
समाचारमा आत्महत्या वा आत्महत्या प्रयासको विस्तृत विवरण दिंदा जोखिममा रहेका अन्य व्यक्तिले अनुकरण गर्न सक्ने मनोवैज्ञानिक आधार रहन्छ। त्यसैले कसरी, कुन उपकरण र कस्तो तरिकाले आत्महत्या गर्यो भन्ने समाचारमा उल्लेख गर्नु हुँदैन।
समाचारमा आत्महत्या वा आत्महत्या प्रयासको विस्तृत विवरण दिंदा जोखिममा रहेका अन्य व्यक्तिले अनुकरण गर्न सक्ने मनोवैज्ञानिक आधार रहन्छ। त्यसैले कसरी, कुन उपकरण र कस्तो तरिकाले आत्महत्या गर्यो भन्ने समाचारमा उल्लेख गर्नु हुँदैन। कसैले ‘ओभरडोज’ औषधि सेवनबाट मृत्युवरण गरेको भएमा औषधिको नाम, प्रकृति, मात्रा र उपलब्धताबारे समाचारमा उल्लेख गर्नु हुँदैन।
त्यस्तै, आत्महत्या गरेको स्थानबारे सञ्चार माध्यमले जानकारी दिनु हुँदैन। जस्तो आत्महत्या गरेको नदी, भीर, सडक, रेल्वे वा अन्य स्थानबारे उल्लेख गरी विस्तृत विवरण दिंदा अरूले पनि त्यही स्थान चयन गर्ने वा त्यहाँ पुग्दा आत्महत्याको मनस्थिति बनाउने सम्भावना रहन्छ।
यससँगै समाचारलाई आकर्षक बनाउने नाममा सनसनीपूर्ण शीर्षक चयन गर्नु हुँदैन। अनधिकृत, अविश्वसनीय र अपुष्ट खबरलाई प्रस्तुत गर्ने तथा शीर्षकमै आत्महत्या शब्दको प्रयोग गर्ने कामलाई निरुत्साहित गर्नुपर्छ। सञ्चार माध्यममा आत्महत्याका दृश्य प्रकाशन वा प्रसारण गर्दा नकारात्मक प्रभाव पर्नुका साथै आफन्तलाई पीडा थप्छ।
आत्महत्या गरेका व्यक्तिका आफन्तको पहिचान पनि गोप्य राख्नुपर्छ। छरछिमेकी र आफन्तलाई मृतकबारे बोल्न बाध्य बनाउनु हुँदैन। सामाजिक प्रतिष्ठा प्राप्त गरेका व्यक्तिले आत्महत्या गरेको समाचारले सञ्चार माध्यममा प्राथमिकता पाउने गरेका छन्। यसले ‘सेलिब्रेटी’ का आनीबानीको अनुकरण गर्ने व्यक्तिको मानसिकता कमजोर बनाउँछ।
निरपेक्ष रूपमा समाचार आत्महत्याको कारक नभए पनि प्रस्तुतिको शैलीले व्यक्तिको मनोसंरचनामा प्रभाव पार्छ। त्यसैले हरेक सञ्चारगृहले आफूलाई समाज प्रति अझ बढी उत्तरदायी बनाउनुपर्छ।
आफूले आदर्श मानेको व्यक्तिले आत्महत्या गरेको समाचारले अनुयायीमा पनि निराशा, चिन्ता र जीवनप्रति वितृष्णा फैलाउन सक्छ। यस्तो विषयलाई बढाइचढाइ गर्ने वा मनोरञ्जनात्मक रूपमा प्रस्तुत गर्नु हुँदैन। यस्ता समाचार प्रकाशन वा प्रसारण गर्नुअघि यसले समाजमा पार्ने प्रभावबारे गम्भीर रूपमा सोच्नुपर्छ।
पत्रकार पनि समाजकै सदस्य हुन्। आत्महत्याका घटनाले पत्रकारलाई समेत नकारात्मक प्रभाव पार्छन्। आत्महत्याका रिपोर्टरले समयान्तरमा त्यस्तै प्रयास गरेका वा मृत्युवरण गरेका घटना पनि देखिएका छन्। त्यसैले पत्रकारलाई आत्महत्याका नकारात्मक प्रभावबाट बचाउन सञ्चारगृहले समय-समयमा आवश्यक मनोसामाजिक तालीम तथा सहयोग गर्नुपर्छ।
यसका अतिरिक्त विश्व स्वास्थ्य संगठनले आत्महत्या सम्बन्धी समाचारको अन्तिममा मानसिक समस्या सिर्जना भएमा वा आत्महत्या सम्बन्धी सोच आएमा सहयोगका लागि सम्पर्क राख्ने स्थान, व्यक्ति र संस्थाबारे जानकारी दिनुपर्ने विषयलाई गाइडलाइनमा समावेश गरेको छ।
निरपेक्ष रूपमा समाचार आत्महत्याको कारक नभए पनि प्रस्तुतिको शैलीले व्यक्तिको मनोसंरचनामा प्रभाव पार्छ। त्यसैले हरेक सञ्चारगृहले आफूलाई समाज प्रति अझ बढी उत्तरदायी बनाउनुपर्छ। यसका अतिरिक्त समाचारको मानसिक प्रभावलाई समेटेर आचारसंहिता निर्माण तथा पालना गराउन नेपाल प्रेस काउन्सिल लगायतका निकायले तदारुकता देखाउनुपर्छ।