नेपालमा झण्डै २ खर्ब प्रत्यक्ष वैदेशिक लगानी, ‘ट्याक्स हेभन’ मुलुकको मात्रै २४ प्रतिशत
नेपालमा झण्डै रु.२ खर्ब प्रत्यक्ष वैदेशिक लगानी रहेको पाइएको छ। सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भारतबाट भित्रिएको देखिएको छ।
२०७७ असार मसान्तसम्म भारतबाट सर्वाधिक रु.६२ अर्ब ४५ करोड प्रत्यक्ष लगानी भित्रिएको नेपाल राष्ट्र ब्यांकले सार्वजनिक गरेको ताजा अध्ययन प्रतिवेदनले देखाएको छ। यो नेपालमा रहेको कुल वैदेशिक लगानीको ३१.५ प्रतिशत हो।
प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७६/७७ का अनुसार, नेपालमा ५२ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ। भारतपछि क्रमशः चीनबाट रु.३० अर्ब ९७ करोड भित्रिएको छ। यो नेपालमा रहेको कुल वैदेशिक लगानीको १५.६ प्रतिशत हो। पछिल्ला वर्षहरूमा उद्योग दर्तामा चीनले भारतलाई उछिन्दै आए पनि प्रत्यक्ष वैदेशिक लगानी भने चीनको तुलनामा भारतको दोब्बर देखिन्छ।
त्यस्तै, नेपालमा शंकास्पद धनको कारोबार लुकाउन र कर छली गर्न सुरक्षित मानिने ‘ट्याक्स हेभन’ मुलुकहरूबाट पनि धेरै प्रत्यक्ष लगानी भित्रिएको देखिएको छ। क्यारेबियन टापु मुलुक सेन्ट किट्स एन्ड नेभिसबाट गरिएको रु.१५ अर्ब २७ करोड प्रत्यक्ष लगानी नेपालमा छ। यो नेपालमा रहेको कुल वैदेशिक लगानीको ७.७ प्रतिशत हो।
आयरल्यान्डबाट रु.१२ अर्ब ९३ करोड र सिङ्गापुरबाट रु. १२ अर्ब ४३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ। त्यसैगरी, युनाइटेड अरब इमिरेट्सबाट रु. ७ अर्ब १६ करोड लगानी रहेको छ।
यी चारवटै देश ट्याक्स हेभनका रूपमा चिनिन्छन्। स्रोत नखुल्ने सम्पत्ति लुकाउन सजिलो भएको र कर तिर्नुनपर्ने कारणले अन्य देशका लगानीकर्ताले यी देश हुँदै नेपालमा लगानी भित्र्याएका हुन्।
नेपालमा प्रतिष्ठित व्यावसायिक घराना चौधरी समूहको मुख्य लगानी रहेको नबिल ब्यांकमा आयरल्यान्डको कम्पनी लगानीकर्ताका रूपमा जोडिएको छ। नबिलमा लगानी गरेको बाङ्लादेशको एनबी इन्टरनेशनल आयरल्यान्डस्थित एनबी इन्टरनेशनल लिमिटेड अन्तर्गत छ। अर्बपति व्यवसायी विनोद चौधरीले एनबी इन्टरनेशनल आफ्नो स्वामित्वको भएको आत्मकथा मार्फत सार्वजनिक गरेका थिए।
नेपालमा २०७७ असार मसान्तसम्म रु.१ खर्ब ९८ अर्ब ५२ करोड वैदेशिक लगानीको मौज्दात रहेको राष्ट्र ब्यांकले जनाएको छ। यसमध्ये ट्याक्स हेभन मानिने चार मुलुकको मात्रै करीब २५ प्रतिशत लगानी छ। कुल वैदेशिक लगानीमध्ये चुक्ता पूँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ।
२०७६ असार मसान्तको तुलनामा २०७७ असार मसान्तमा नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ८.५ प्रतिशतले बढेको देखिएको छ।
राष्ट्र ब्यांकका अनुसार, नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ। औद्योगिक क्षेत्र अन्तर्गत उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत् क्षेत्रमा २७.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ।
यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.३ प्रतिशत सेवा क्षेत्र अन्तर्गत ब्यांक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको देखिएको छ।