बीपी र महेन्द्रले किन बनाए सैन्य ‘कू’ को योजना? [आर्काइभ]
बुबा राजा त्रिभुवनले साली रत्नसँग विवाह गर्न नदिएका कारण युवराज महेन्द्रले बीपीसँग सहयोग मागे। बीपीले युवराजको प्रेमका खातिर राजा विरुद्ध सैन्य ‘कू’ सम्मको योजना बनाए। तर, उनै महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपीलाई ‘कू’ मार्फत गलहत्याए।
राजा त्रिभुवन र युवराज महेन्द्रको राम्रो सम्बन्ध थिएन। खास गरी युवराज्ञी इन्द्रको मृत्युपछि साली रत्नको प्रेममा चुर्लुम्म थिए महेन्द्र। महेन्द्र रत्नसँग विवाह गर्न चाहन्थे।
अर्कोतर्फ राजा त्रिभुवन राणा परिवारसँग सम्बन्ध राख्ने पक्षमा थिएनन्। उनी आफूले खोजेकी कन्यासँग विवाह गर्न युवराजलाई दबाब दिइरहेका थिए। नारायणहिटी दरबारभित्रको यो झगडा उत्कर्षमा छताछुल्ल भयो।
रत्नसँग विवाह गरे भाइ हिमालयलाई राजा बनाउने धम्की राजा त्रिभुवनले दिइसकेका थिए। बुबालाई घुर्की लगाउँदै महेन्द्रले पनि भनिदिएका थिए- 'आफ्नो प्रेमको रक्षा गर्छु, परे गद्दी त्याग्न तयार छु।'
बीपीको बेडमा महेन्द्र
ती दिनमा दरबार अत्यन्त कमजोर थियो। नेपाली कांग्रेस पार्टी स्थापना गरी २००७ सालको क्रान्ति सफल पारेकाले नेपाली राजनीतिमा बीपी कोइराला प्रभावशाली थिए। गद्दी त्याग्ने घुर्की लगाए पनि राजालाई मनाउन महेन्द्रले बीपीको सहयोग मागे।
यस प्रसंगमा बीपीका कान्छा भाइ (पूर्व प्रधानमन्त्री) गिरिजाप्रसाद कोइरालाले यो लेखकसँगको कुराकानीमा भनेका थिए- बाहिरबाट आएर सरासर सान्दाइको बेडरुममा म गएको थिएँ। कोट–पाइन्ट लगाएर कोही सुतेको छ। अचम्म लाग्यो। सान्दाइको बेडमा त्यसरी को सुतेको होला भन्ने लाग्यो। पछि थाहा भयो, उनी त युवराज महेन्द्र पो रहेछन्।
संयोगले त्यति वेला बीपी घरमा थिएनन्। ती दिनमा बीपीको आफ्नै मोटर थिएन। विशालनगरस्थित वसन्तशमशेरको दरबारमा बसेका बीपी प्रायः साइकलमा यात्रा गर्थे। जहाँ जानुपरे पनि निजी सचिव डा. तुलसी गिरी हरहमेशा साथमा हुन्थे।
तिनै ताकाको एउटा प्रसंगमा बीपी आफैंले भनेका छन्, “एक दिन अचानक युवराज महेन्द्र मेरो डेरामा आएर भने– मैले युवराजबाट राजीनामा दिन थालें। अब म साधारण मानिस भएर बस्छु।”
महेन्द्रले राजा त्रिभुवनलाई सम्बोधन गरेर लेखिएको चिठी देखाउँदै थपे, “म एउटी केटीसँग बिहा गर्न खोज्छु। बुबा चाहि हुँदैन हुकुम हुन्छ। त्यति मात्र होइन। एउटी केटी खोजिदिएको छ, उसैसँग बिहा गर हुकुम हुन्छ। एक त आफूले चाहेकी केटीसँग विवाह गर्न नपाउनु। अर्को, उहाँले खोजेकैसँग गर्नुपर्ने? त्यसैले आफ्नो प्रेमका खातिर मैले पद त्याग गर्नुको विकल्प देखिनँ।”
“राजासँग कुरा गरेर मिलाउँला। सरकारले राजीनामा दिने कुरा छैन,” बीपीले सम्झाएपछि महेन्द्र फर्किए।
केही दिनको अन्तरालमा बीपी र त्रिभुवनबीच कुरा भयो- “सरकार, अस्ति मकहाँ युवराजाधिराज सवारी भएको थियो। राजीनामाको कुरा गरिबक्सन्थ्यो।” अनि राजाले भने, “राणाकी छोरीसँग बिहे गर्छु भन्छ। म राणाहरूसँग सम्बन्ध टुटाउनुपर्छ भन्छु, मान्दैन। ठीक छ, उसलाई भनिदिनू- बिहा गर्ने भए म उसको राजीनामा स्वीकृत गर्छु र भाइ हिमालय राजा हुन्छन्।”
बीपीले राजा त्रिभुवनलाई सम्झाउँदै भने, “सरकार, प्रजातन्त्र आएपछि पनि मन पराएकी केटीसँग बिहा गर्न नपाउने कुरा जायज हुन्छ र ?”
बीपी महेन्द्रलाई उनको गद्दीसिद्ध अधिकार दिलाउन चाहन्थे। दुवैको निकट मित्रता थियो। त्यसैले राजासँग मध्यस्थताको प्रयास गरे। त्यही वेला राजा त्रिभुवनले बीपीलाई भनेका थिए, “बीपी, तपाईं प्रजातन्त्रको कुरा गर्नुहुन्छ। तर, मेरो छोरालाई मैले जति चिनेको छु, तपाईंले चिन्नुभएको छैन। यसले दुःख दिएपछि थाहा पाउनुहुनेछ। तपाईंहरूलाई धुरुधुरु रुवाउनेछ युवराजले।”
राजाको त्यो वचनलाई बीपीले गम्भीरतापूर्वक लिएनन् बरु त्रिभुवनले नमाने महेन्द्रको राजा हुन पाउने अधिकार रक्षाका लागि सैन्य ‘कू’ सम्म गर्ने गुप्त योजना उनले बनाए।
यस प्रसंगमा विश्वबन्धु थापाले लेखकलाई सुनाएका थिए, “बीपी र महेन्द्रको भेट प्रायः कांग्रेस नेता सूर्यप्रसाद उपाध्यायको भाटभटेनीस्थित निवासमा हुन्थ्यो। एक दिनको भेटमा महेन्द्र एकदमै आत्तिएका थिए। उनलाई आश्वस्त पार्दै सान्दाइले भन्नुभयो– युवराजबाट राजीनामा नगर्नू र भाग्ने काम पनि नगर्नू, परिआयो भने हामी सैनिकको साथ लिएर ‘कू’ सम्म गरौंला।”
त्यस वेला बीपी र विश्ववन्धुबीचकाे वार्तालाप :
बीपी: हेर विश्वबन्धु, युवराज रत्नसँग बिहे गर्न नपाए क्राउन प्रिन्सको पदवी छोड्छु भन्दै छन्। त्रिभुवन पनि त्यो गरे भाइलाई युवराज बनाइदिन्छु भनेर धम्क्याउँदै छन्। भोलि राजा हुने मान्छेले आफूले मन पराएकी केटीसँग बिहा गर्न नपाउने पनि हुन्छ त प्रजातन्त्रमा। म राजालाई सम्झाउँछु, भएन भने पनि प्रेम गरेकी केटीसँग विवाह गरेको अभियोगमा कसैलाई गद्दी त्यागको सजाय दिनु त अति नै हुन्छ।
बिश्ववन्धु: सम्झाउँदा पनि राजाले मानेनन् भने के गर्ने ? सान्दाइ।
बीपी: आवश्यक परे सैनिक 'कू' गरेर भए पनि उनलाई गद्दीको अधिकार दिलाउनुपर्छ।’
थापाले सुनाए, “सान्दाइले सैनिक ‘कू’ का लागि सेनाका जनरलहरूसँग कुरा गर्ने जिम्मा मलाई दिनुभयो। गोप्य रूपमा धेरैसँग कुरा गरे। उनीहरूले भने- यो मिशनमा बीपी र महेन्द्र एक ठाउँमा छन् भनेर हामीले कसरी विश्वास गर्ने?”
त्यसैका लागि गोप्य रूपमा योजना बन्यो। सैनिक अधिकारीहरूलाई सिनेमा हेर्ने निहुँमा जय नेपाल हलमा बोलाउने। त्यहीं बीपी र महेन्द्र दुवैले एकै चोटि हात हल्लाएर दुवै एकसाथ रहेको सन्देश दिने। अनि सैनिक ‘कू’ मार्फत त्रिभुवनलाई हटाएर महेन्द्रलाई राजा बनाउने।
राजालाई सम्झाउन बीपीले ठूलै कसरत गरे। त्यही वेला त्रिभुवनले भनेका थिए- ‘ठीक छ, प्रजातन्त्र उसलाई लागेको छ भने मलाई पनि लागेको छ। ऊ चाहेको केटीसँगै विवाह गरोस्, म रोक्तिनँ, तर म विवाह समारोहमा सहभागी हुन्नँ। बम्बै जान्छु।’
राजा भारततिर लागे। यता, काठमाडौंमा युवराज महेन्द्रको विवाह भयो। नारायणहिटीमा भित्र्याउन राजा राजी नभएपछि दुलही रत्नालाई नागार्जुन दरबारमा भित्र्याइयो। यसरी महेन्द्रको विवाहमा त्रिभुवन बाधक नहुने निश्चित भएपछि ‘कू’ गर्नैपरेन।
इतिहास निर्मम हुन्छ। दश वर्षअघि बीपीले जसका लागि सैन्य ‘कू’ को योजना बनाए, १ पुस २०१७ मा उनै महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीलाई जेलमा कोचेर प्रजातन्त्रमाथि ‘कू’ गरे।
‘कू’ को कारण
राजाले हठात् निर्दलीय पञ्चायती व्यवस्था लादे? के त्यो कदम चालेकामा उनी खुशी थिए त?
यही प्रश्न मैले त्यो वेलाका राजनीतिक खेलाडीहरू डा. तुलसी गिरी, विश्वबन्धु थापा र सूर्यबहादुर थापा समक्ष राखेको थिए। तीनै जनाले सुनाए- राजा महेन्द्र र बीपीको सम्बन्ध व्यक्तिगत रूपमा कहिल्यै नराम्रो थिएन। दुवैले एक–अर्काको आलोचना गरेको पनि कहिल्यै सुनिएन। बरु राजा महेन्द्र सधैं बीपीको प्रशंसा मात्र गर्थे।
पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले भनेका थिए, “पञ्चायती व्यवस्था लागू गरे पनि चाहे जस्तो काम गर्न सकिनँ भन्ने अनुभूति राजा महेन्द्रलाई भइरहन्थ्यो। प्राय: वरिष्ठ पञ्चहरूसँगको भेटमा उनी भन्ने गर्थे– बीपी जस्तो लायक अर्को प्रधानमन्त्री अब मैले जीवनमा पाउनेछैन। दुनियाँलाई देखाउन लायक प्रधानमन्त्री उही एउटा हो।”
त्यसो भए महेन्द्र ‘कू’ को बाटोमा किन गए त ? थापाले सुनाए, “बीपीको व्यक्तित्वका अगाडि राजा फिक्का थिए। त्यति अध्ययन थिएन। अन्तर्राष्ट्रिय जगत्मा पनि बीपीकै ख्याति थियो। बीपी बलियो भए राजा बलियो हुँदैन भन्ने उनलाई राम्ररी थाहा थियो। राजा बलियो भए प्रधानमन्त्री कमजोर हुन्थ्यो। एउटै वनमा दुई वटा बाघ नअटाए जस्तो भयो, बीपी र महेन्द्रको कथा।”
राजाले शासन गर्ने होइन, जनप्रतिनिधिले गर्ने हो भन्नेमा बीपी प्रष्ट थिए। अर्कोतर्फ राजा सार्वभौमसत्ता आफ्नो हातमा हुनुपर्छ भन्ने मान्यता राख्थे। विवाद बीपी र महेन्द्रको थिएन। सर्वभौम राजा हुने कि जनता भन्ने थियो।
सशर्त प्रधानमन्त्री !
त्यसैले चुनावमा दुई तिहाइ बहुमतको अपार सफलता पाउँदा समेत राजाले तीन महीनासम्म कांग्रेस सभापति बीपीलाई सरकार बनाउन आमन्त्रण गरेनन्। उनी कांग्रेसकै अर्का नेता सुवर्ण शमशेरलाई प्रधानमन्त्रीका रूपमा हेर्न चाहन्थे। प्रधानमन्त्री भएको एक वर्षमा पद छोडिदिने शर्त स्वीकार गरेपछि मात्र बीपी प्रधानमन्त्री हुने वातावरण बन्यो।
सरकारमा गएपछि बीपीको सरकारले राजा रजौटा उन्मूलन, वनको राष्ट्रियकरण, क्रान्तिकारी भूमिसुधार जस्ता जनमुखी कार्यक्रम लागू गर्न खोज्यो। बीपीको लोेकप्रियता बढ्दै गर्दा राजा त्रसित थिए। सरकारले पहिलो वर्ष पूरा गर्दा नगर्दै राजाले कांग्रेस पार्टीभित्र र बाहिरबाट प्रधानमन्त्रीको राजीनामाको दबाब बढाए।
बीपीलाई हटाउन राजालाई साथ दिएका कांग्रेस संसदीय दलका प्रमुख सचेतक विश्वबन्धु थापाले लेखकलाई सुनाएका थिए, “सरकार बनेको एक वर्षपछि बीपीले राजीनामा गरेर पार्टीकै अर्का नेता सुवर्णशमशेर राणालाई प्रधानमन्त्री बनाएको भए पञ्चायती व्यवस्था आउने नै थिएन। बीपीको आफ्नै व्यक्तित्व थियो। उहाँले राजालाई नमानेको पनि होइन। तर, उहाँको व्यक्तित्वमा राजालाई उछिन्न गाह्रो थियो। बीपीलाई फाल्न निहुँ खोज्नुपर्यो। त्यसैले 'टेकओभर' भयो।”
बीपी र राजा महेन्द्रको सम्बन्धबारे बुझ्ने मेरो चाहना बुझेर पत्रकार जीवराम भण्डारीले मलाई पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीसँग उनको बूढानीलकण्ठस्थित निवासमा भेटघाटको व्यवस्था मिलाइदिएका थिए। पत्रकारसँग खुलेर कुरा नगर्ने डा. गिरीको मनसाय बुझेका भण्डारीले त्यो दिन मलाई पत्रकारका रूपमा नभई रत्नराज्य लक्ष्मी क्याम्पसमा पढाउने शिक्षकका रूपमा चिनाए।
राजासँग मिलेर बीपीलाई थुनेपछि प्रधानमन्त्री बनेका डा. गिरीले भने, “पञ्चायती व्यवस्थाको शुरूआती दिनमा राजा मैले जे भन्यो त्यही ठीक हो भन्ने ठान्थे। तर, जब मसँग कुरा मिल्न छोड्यो, एक दिन हठात् सोधे– त्यसो भए डा. गिरी, तिमी र बीपीमा के फरक भयो र।”
गिरीले राजासँग भनेछन्, “सरकारको कुरा सुनेर मलाई ताजुब लाग्यो। म र बीपीमा आकाश–जमीनको फरक छ सरकार। बीपी जनता सार्वभौम हुन्, राजा जनताले दिएको मानो खाएर बस्नुपर्छ भन्नेमा विश्वास गर्छन्। म चाहिं जसरी भेडाले भेडा चराउन सक्दैन, बाख्राले बाख्रा चराउन सक्दैन। लाटो भए पनि मान्छे चाहिन्छ। त्यसैगरी मान्छेले मान्छे चराउन सक्दैन त्यसैले भगवान्को अवतार राजा चाहिन्छ भन्ने मान्छे हुँ। त्यही फरक हो सरकार, बीपी र मेरो बीचमा। राजा केही बाेलेनन्।”
राजाको ‘अन्तिम चाहना’
पञ्चायती व्यवस्थाको एक दशक पुग्दा नपुग्दै राजा महेन्द्र त्यसलाई धान्न नसकिने निष्कर्षमा पुगिसकेका थिए। त्यसैले पञ्चायती संविधानलाई संशोधन गरी बीपीसँग मेलमिलापको हात अघि बढाउने विषयमा निकट पञ्चहरूसँग उनी सघन छलफल गरिरहेका थिए।
यस प्रसंगमा पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले लेखकलाई भनेका थिए, “संविधानको मस्यौदा बनिसकेकाे थियो। २०१७ सालको राजनीतिक ‘कू’ पछि लगातार आठ वर्ष बन्दी भएर छुटेपछि भारत प्रवासमा गएका बीपीलाई राजाले सन्देश पठाएका थिए- पञ्चायत नाम राखेर संविधानमा जस्तो व्यवस्था गरे पनि मलाई मान्य छ।”
बीपीसँगको सल्लाहमा राजाले संविधानको मस्यौदा बनाउन लगाएको राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीले पनि लेखकलाई बताएका छन्। राजा महेन्द्रसँग भएको वार्तालापबारे सुवेदीले भनेका छन्, “म गृह राज्यमन्त्री थिएँ, एक दिन सरकारबाट हुकुम भयो- ए नवराज, म तिम्रो अध्यक्षतामा एउटा सानो कमिटी बनाइदिन्छु। संविधानमा सुधार गर्नुपर्यो। पार्टी दिने कुरा नलेख। त्यो बाहेक सम्पूर्ण प्रजातान्त्रिक व्यवस्था लेख।”
सुवेदीले थपे, “मैले ड्राफ्ट बनाएर राजाकहाँ पठाए। त्यही ड्राफ्ट शम्भुप्रसाद ज्ञवालीलाई हेरेर मिलाऊ भन्नुभयो। अनि ड्राफ्टमा छलफल गरेर अन्तिम टुङ्गो लगाउन राना आफैंले चितवनको दियालो बंगलामा मन्त्रिमण्डलको बैठक बोलाए। पहिलो दिन छलफल सकिएन, भोलि सकेर लागू गर्ने भनिएको थियो। त्यही रात (२०२८ साल माघ १७) राजालाई हार्ट एट्याक भइहाल्यो।”
बीपी र राजा महेन्द्रको सम्बन्ध र ‘कू’ का विषयमा मैले शाही चिकित्सक डा. मृगेन्द्रराज पाण्डेसँग विभिन्न चरणमा लामो कुराकानी गर्ने अवसर पाएको थिएँ। डा. पाण्डेले भनेका थिए, “बीपीलाई सत्ता हस्तान्तरण गरेर आफू सुनकोशी किनारमा आनन्दले बस्ने योजना राजा महेन्द्रको थियो। यो कुरा राजा आफैंले मलाई भनिबक्सेको चाहिं होइन। मेरी श्रीमती बालमन्दिरकी सचिव थिइन् भने रानी रत्न संरक्षक। रानीले मेरो श्रीमतीसँग भनिबक्सेको रहेछ- राजनीतिक सुधार गरेर सुनकोशी किनारमा गएर आनन्दले बस्ने योजना सरकारले बनाइबक्सेको छ।”
पाण्डेले सम्झिए, “”सरकारबाट मसँगै हुकुम भएको छ। म डेमोक्रेसी मार्ने राजा भएर मर्न चाहन्नँ। संयोग नै मान्नुपर्छ, राजनीतिक व्यवस्थामा आमूल सुधार गर्ने गरी संविधान संशोधन गर्न आफैंले बोलाएको मन्त्रिमण्डलबाट निर्णय गर्न नपाउँदै राजा महेन्द्रको मृत्यु भइहाल्यो।”
यस प्रसंगमा तत्कालीन प्रधानमन्त्री कीर्तिनधि विष्टले पनि लेखकसँग भनेका थिए, “राजाको मृत्यु नभएको भए त्यही वेला राजनीतिक सुधारको घोषणा हुनेवाला थियो।”
राजा महेन्द्रको निधनसँगै पञ्चहरूले खेल्ने मौका पाए। राजसंस्था कमजोर बन्दै गयो। पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले लेखकसँग भनेका थिए, “त्यो वेला राजा महेन्द्रले ‘कू’ नगरेर संसद्लाई चल्न दिएको भए सायद यति छिटै (२०६५ सालमा) राजतन्त्रको अन्त्य हुँदैनथ्यो होला।”
(हिमालखबरमा १ पुस, २०७७ प्रकाशित।)