चम्पादेवीको जंगल मासेर खनेको सडकमा पहिरैपहिरो
पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण र चलनचल्तीमा रहेको चम्पादेवीको पदमार्ग मासेर काठमाडौंको कीर्तिपुर नगरपालिकाले बनाएको सडकभरि पहिरो गएको छ। वन मासिएको छ भने पहिरोको जोखिम अझ बढेको छ।
निषेधाज्ञाको मौका पारेर कीर्तिपुर नगरपालिकाले गत जेठमा चम्पादेवी सामुदायिक वन क्षेत्रभित्रको करीब पाँच किलोमिटर क्षेत्रमा सडक खनेको थियो। सडकभरि पहिरो खसेपछि पैदल हिंड्न नमिल्ने भएको छ।
पहिरोसँगै रूख र ठूलठूला ढुङ्गा खसेका छन्। पहिरोका कारण वनमा समेत थप क्षति भएको छ। ठाउँठाउँमा जमीन चिरा परेको छ। ठूलो वर्षा हुँदा थप पहिरो जाने जोखिम छ।
नगरपालिकाले अन्य योजनाको रकमान्तर गरेर कोरोनाभाइरसको महामारीका वेला वन कार्यालयको स्वीकृति नलिई र वातावरणीय परीक्षण विना सडक निर्माण गरेको थियो।
यस विषयमा डिभिजनल वन कार्यालय, काठमाडौं, बागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। अख्तियार र डिभिजन वनले सडक खनिएको विषयमा प्रक्रियागत रूपमा नगरपालिकासँग बुझ्ने काम गरे पनि कारबाही प्रक्रिया अघि बढाएनन्। जसले गर्दा नगरपालिकाले आगामी वर्षका लागि उक्त सडकमा रु.१ करोड ५० लाख बजेट छुट्याएको छ।
डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत बद्री कार्कीले नगरपालिकाले स्वीकृति विना जंगल मासेर सडक खन्नु गैरकानूनी काम हो भनेर लिखित रूपमा जानकारी गराइएको र सामुदायिक वनको ब्यांक खाता रोक्का गरिएको बताए।
मोटरबाटो निर्माण गरिएको क्षेत्र पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण स्थान हो। काठमाडौंको प्रमुख जलाधार र पदयात्रीका लागि उपयुक्त स्थानलाई मासेर नगरपालिकाले सीमित व्यक्तिको स्वार्थमा काम गरेको कीर्तिपुर नगरपालिकाको पर्यटन विकास रणनीतिक गुरुयोजनामा काम गरेका डा. तारालाल श्रेष्ठ बताउँछन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक समेत रहेका श्रेष्ठ भन्छन्, “अहिले बाटो खनिएको ठाउँ सिमसार क्षेत्र र निकै संवेदनशील क्षेत्र हो। सुन्दर डाँडोलाई मासेर कुरूप बनाउने काम भयो। जनप्रतिनिधिले केही व्यक्तिको स्वार्थमा काम गरे।”