सभामुख सापकोटा एमाले विभाजनको मतियार बन्नुभयोः भट्टराई
नेकपा (एमाले) संघीय संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटामाथि पार्टी विभाजनमा भूमिका खेलेको आरोप लगाएका छन्।
बुधबार शुरू प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक भट्टराईले भने, “तपाईं एमाले विभाजनको सारथि किन बन्नुभयो? किन सहयोगी बन्नुभयो? दल विभाजनका लागि किन मतियार बन्नुभयो भन्ने प्रश्न यो सम्मानित संसद् समक्ष उठाउन चाहन्छौं।”
उनले दलको अनुशासन उल्लंघन गर्ने १४ सांसदलाई कारबाही गर्न दिएको सिफारिश कार्यान्वयन नभएको बताए। ९ भदौमा नेकपा (एकीकृत समाजवादी) गठन भएपछि १३ भदौमा आएर बल्ल सभामुखले ती सांसदहरूको विषयमा निर्णय सुनाएर पूर्वाग्रह देखाएको भट्टराईको आरोप छ।
साउन अन्तिम साता संसद् अधिवेशन हठात् अन्त्य गरेर एमाले विभाजन गर्न अध्यादेश ल्याइएको उनको भनाइ छ।
सभामुख अग्निप्रसाद सापकोटाले भने संसद्मा विचाराधीन विषय भएकाले आफूले तत्काल सूचना जारी गर्न नमिलेको बताए। सभामुखको जवाफबाट असन्तुष्ट एमाले सांसदहरूले नाराबाजी जारी राखेपछि बैठक १५ मिनेटका लागि अवरुद्ध भएको छ।