प्रदेश–२ कांग्रेस सभापतिमा निधि निकट चार आकांक्षी
नेपाली कांग्रेस प्रदेश–२ को सभापतिमा चार जना आकांक्षी देखिएका छन्।
प्रदेश–२ का भौतिक पूर्वाधार मन्त्री एवं कांग्रेस प्रदेश संसदीय दलका नेता रामसरोज यादव, कांग्रेस जिल्ला सभापतिहरू दिनेश यादव (सप्तरी), महेन्द्रकुमार यादव (महोत्तरी) र कृष्णा यादव (रौतहट)ले प्रदेश सभापतिमा उठ्ने इच्छा देखाएका हुन्।
प्रदेश सभापतिका चारै आकांक्षीसँग जिल्ला हाँकेको अनुभव छ। रामसरोज यादव कांग्रेस धनुषाका पूर्व सभापति हुन्। संविधानसभाका सभासद् रहिसकेका उनी भन्छन्, “वडा अधिवेशन सम्पन्न भएपछि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेर तयारी थाल्छु।”
महोत्तरीका महेन्द्रराय यादव चार पटक जिल्ला सभापति भइसकेका छन्। उनले कांग्रेस नेता सरोज कोइरालाको हातबाट भारतको मधुवनीमा २०२९ सालमा कांग्रेसको सदस्यता लिएका थिए । २०५६ सालमा महोत्तरी–४ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित उनी त्यतिबेला उद्योग, वाणिज्य तथा आपूर्ति सहायक मन्त्री बनेका थिए।
२०४२ सालबाट नेपाली कांग्रेसमा लागेका कृष्णा यादव दुई पटक जिल्ला सभापति भइसकेका छन्। उनी २०६४ मा संविधानसभा सदस्य थिए।
चारै आकांक्षी कांग्रेस उपसभापति विमलेन्द्र निधि निकट मानिन्छन्। धनुषा स्थायी घर भएका निधिले केन्द्रीय सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्।
सदस्यता विवादले अधिवेशन प्रभावित
कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवादले प्रदेश–२ का आठ वटै जिल्लाको अधिवेशन प्रभावित भएको छ। विवादले गर्दा यो प्रदेशका जिल्लाहरूमा वडा अधिवेशन समेत शुरू हुन सकेको छैन।
पार्टी नेतृत्वले आफू इतरकालाई हटाउने र नजिककालाई थप्न खोज्दा सदस्यता विवाद बढेको हो। कांग्रेस महोत्तरीका नेता बजरंग नेपाली पार्टीभित्र देखिएको गुटबन्दीका कारण सदस्यता विवाद सिर्जना भएको बताउँछन्।
आफ्नो जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता विवाद रहेकाले वडा अधिवेशन शुरू हुन नसकेको धनुषा सभापति महेशशंकर गिरी बताउँछन्। उनका अनुसार, धनुषा–१ र ४ मा सदस्यता विवाद छ।
कांग्रेस पर्साका सभापति अजय द्विवेदी केन्द्रबाटै क्रियाशील सदस्यहरूको छिनोफानो गरेर नामावली पठाए अधिवेशन प्रक्रिया अगाडि बढ्ने बताउँछन्।
प्रदेश–२ कांग्रेस संसदीय दलका नेता रामसरोज यादव भने ८ वटै जिल्लामा २५–२६ भदौभित्र वडा अधिवेशन सम्पन्न हुने बताउँछन्।