दिवंगत पितालाई अर्पण गर्दै अलका आत्रेय चूडालको ‘निनाद वल्लरी’
कुशे औंसीको तिथि पारेर अलका आत्रेय चूडालको खण्डकाव्य ‘निनाद वल्लरी’ सार्वजनिक गरिएको छ।
पब्लिकेशन्स नेपालयले 'नेपालय कविता' अन्तर्गत प्रकाशन गरेको कृतिमा विभिन्न नौ वटा छन्दमा लेखिएका करुण रसका कविताहरू छन्। चूडालले आफ्ना दिवंगत पिता साहित्यकार विष्णुराज आत्रेय ‘लाटो साथी’ को प्रथम वार्षिकीमा पितालाई अर्पण गरेर लेखिएको शोककाव्य हो, ‘निनाद वल्लरी’। यस काव्यले पिता-पुत्रीको वात्सल्य र वियोगलाई मार्मिक रूपमा अभिव्यक्त गर्नुका साथै छोरीलाई अर्कै गोत्र मानेर पिताको शोकमा सरिक हुन बन्देज लगाउने कर्मकाण्डीय रीतिमाथि पनि परोक्ष रूपमा व्यंग्य गरेको छ।
पुस्तकबारे उनी भन्छिन्, "हाम्रा कतिपय धार्मिक विधानहरूमा विवाहिता छोरीलाई पितृकार्यमा अर्कै गोत्रकी भनेर सरिक हुन वर्जना गरिएको रहेछ। शोकमा व्याकुल भएको वेला मलाई ती विधान अप्रिय लागेका थिए। धेरै सोचेपछि मलाई लागेको थियो, मेरा साहित्यानुरागी पितालाई आफ्नो श्रद्धाञ्जली चढाउन कविताभन्दा उपयुक्त अर्थोक के होला ! त्यसैले, आज मेरा पिताको प्रथम वार्षिकीमा उहाँले नै सिकाएको पथ अनुसरण गर्दै ‘निनाद वल्लरी’ अर्पण गर्न चाहन्छु।"
चूडालले छन्द र संस्कृत साहित्यको प्रारम्भिक शिक्षा आफ्ना पिताबाटै पाएकी थिइन्। कक्षा दशसम्म घरमै पिताबाट अनौपचारिक शिक्षा ग्रहण गरेकी उनले अठार वर्षको उमेरमै प्राचीन व्याकरण लगायत अन्य दुई विषयमा स्नातकोत्तर गरेकी थिइन्।
दक्षिणएशियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गरेकी चूडाल हाल अस्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापन गर्छिन्।
प्रकाशकीय मन्तव्य दिंदै नेपालयकी सम्पादक भूषिता वशिष्ठले नेपाली साहित्यमा खण्डकाव्य प्रचलित विधा भएको र पाठकबीच लोकप्रिय रहे पनि यो समृद्ध विधामा महिला लेखक विरलै भेटिने बताइन्।
"नेपालय छन्द कविताको प्रवर्द्धनमा त कटिबद्ध छँदै छ, साथै अलका आत्रेय चूडाल जस्ता ओजस्वी साहित्यकारको छन्दोबद्ध खण्डकाव्य प्रकाशन गरिनाले, यसले अन्य मेधावी छन्द कवि तथा कवयित्रीहरूका लागि पनि मार्गप्रशस्त गरोस् भन्ने हाम्रो कामना छ।"
नेपाली बजारमा 'निनाद वल्लरी’ को मूल्य रु. १६५ राखिएको छ। यो कृति देशका प्रमुख पुस्तक पसलहरूमा तथा यसको इबूक र अडियो बुक थुप्रै डट कममा उपलब्ध हुनेछ। विश्व बजारमा भने अमेजन मार्फत उपलब्ध हुनेछ।