५.७४ प्रतिशतले बढ्यो नेप्से, कारोबार ९ अर्ब ८२ करोडमा सीमित
२१ भदौमा शेयर बजार परिसूचक (नेप्से) ५.७४ प्रतिशतले बढेको छ।
२० भदौमा ३.७० प्रतिशतले घटेको बजार एकैदिन भारी अंकले उकालो लागेको हो। आज २८१६.९३ बिन्दुबाट शुरू भएको बजार २९८०.५३ बिन्दुमा पुगेर रोकिएको छ।
आइतबार भारी अंकले शेयर बजार घटेपछि आज अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका थिए।
कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पूँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन गभर्नर अधिकारीलाई आग्रह गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मन्त्री शर्माले शेयर बजार घट्न नदिन गर्नुपर्ने सुधार र पूँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई आग्रह गरेको जनाइएको छ। अर्थमन्त्री शर्माको चासोले लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पारेर बजार उचालिएको अनुमान गर्न सकिन्छ।
परिसूचक बढे पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि हुन सकेको छैन। आज २२४ कम्पनीको १ करोड ७९ लाख २२ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ९ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
७५ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।