यस्तो छ शेयर बजार घट्नुको कारण
शेयर धितोमा राष्ट्र ब्यांकको कडाइ, तरलता अभावको संकेत, निषेधाज्ञापछि अन्य लगानीका क्षेत्र खुल्नु लगायत कारण शेयर बजार घटेको देखिन्छ।
२० भदौमा शेयर बजार परिसूचक (नेप्से) ३.७० प्रतिशतले ओरालो लाग्यो। २९२८.८ बिन्दुबाट शुरू भएको बजार १०८.२६ अंकले घट्दै २८१७.१६ बिन्दुमा पुगेर रोकियो। कारोबार शुरू भएको दुई घण्टामै ५.०३ प्रतिशतले बजार घटेपछि ‘सर्किट ब्रेक’ लागेर ४० मिनेट कारोबार बन्द भयो। एकैदिन यति फराकिलो (१२८) अंकको गिरावट आएको शेयर बजारको इतिहासमै पहिलो पटक हो। यसअघि २१ मंसीर २०७७ मा १२३ अंकले घटेको थियो। गत वर्ष ५ पुसमा ९७ अंकको गिरावट आएको थियो।
परिसूचक ओरालो लागे पनि शेयर बेच्ने धेरै हुँदा कारोबार रकम भने खासै घटेन। आइतबार २२३ कम्पनीको २ करोड ३० लाख ७९ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ११ अर्ब २४ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। ३१ कम्पनीको शेयर मूल्य लगभग १० प्रतिशतले झरेको छ।
पछिल्लो पाँच कारोबार दिनमा शेयर बजार लगातार घटिरहेको छ। ३०४४ बिन्दुबाट झर्न थालेको बजार पाँच दिनमै २८१७ मा पुगेको छ। बजारमा ठूलो गिरावट आएसँगै करीब डेढ खर्ब रुपैयाँ पूँजीकरण घटेको छ। गत हप्तासम्म ४० खर्ब ८९ अर्ब रहेको पूँजीकरण आइतबार १ खर्ब ४५ अर्ब रुपैयाँले घटेर ३९ खर्ब ४४ अर्ब रुपैयाँ कायम भएको छ।
एकैदिन शेयर बजारमा उच्च अंकको गिरावट आएपछि पूँजी बजार सुधार संघर्ष समितिले गभर्नरको राजीनामा समेत माग्न भ्याए। पूँजी बजारमा प्रभाव पार्ने गतिविधि गरेको भन्दै राजीनामालाई मुख्य विषय बनाई समितिले १५ बुँदे माग राख्यो।
समितिले नेपाल राष्ट्र ब्यांकले मौद्रिक नीति मार्फत ल्याएको शेयर कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीले दिने लाभांशमा लगाइएको ‘क्याप’ हटाउनुपर्ने, प्रोभिजनिङको व्यवस्था परिमार्जन गर्नुपर्ने लगायत माग उठाएको छ।
राष्ट्र ब्यांकले चालू आर्थिक वर्षको मौद्रिक नीति मार्फत शेयर बजारमा केही कडा प्रावधानको व्यवस्था गरेकै हो। मौद्रिक नीतिमा एउटा ब्यांक तथा वित्तीय संस्थाले एक व्यक्ति वा संस्थालाई शेयर धितोमा बढीमा ४ करोड मात्रै कर्जा दिन पाउने व्यवस्था लागू गरेको छ। त्यस्तै, शेयर धितो राखेर एक व्यक्ति वा संस्थाले विभिन्न ब्यांक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँ मात्रै कर्जा लिन पाउने व्यवस्था छ।
राष्ट्र ब्यांकले मौद्रिक नीति मार्फत धितोमा मात्रै कडाइ गरेन, आफू मातहतका ब्यांक तथा वित्तीय संस्थालाई शेयर कारोबार गर्न पनि कडाइ गर्यो। ब्यांकहरूलाई लघुवित्तको शेयर खरीदमा घुमाउरो भाषामा ‘प्रतिबन्ध’ नै लगायो।
राष्ट्र ब्यांकको कडाइले ठूला र संस्थागत शेयर लगानीकर्ताको मनोबलमा असर परेको जानकारहरू बताउँछन्। शेयर विश्लेषक मुक्ति अर्याल बजारमा ‘करेक्सन’ देखिनुको एक मात्र कारण राष्ट्र ब्यांकले लिएको पछिल्लो नीतिलाई मान्छन्। “शेयर धितोमा गरिएको कडाइ नै बजार ओरालो लाग्नुको प्रमुख कारण हो,” उनी भन्छन्, “कोही व्यक्ति/संस्थाले आफ्नै सम्पत्ति धितो राखेर लगानी गरेर कमाउँछु भन्दा पनि नियामक निकायले बन्देज लगाउनु गलत छ।” राष्ट्र ब्यांकले पछिल्लो नीतिलाई सुधारेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ।
एक शेयर ब्रोकर चाहिं बजार घट्यो भनेर नियामक निकायलाई गाली गर्नुभन्दा लगानी गर्दा नै विचार पुर्याउनुपर्ने बताउँछन्। उनी हिजो नराम्रो ‘पोर्टफोलियो’ भएका कम्पनीले शेयर बजार उचालेका कारण आज घट्नुलाई स्वाभाविक मान्छन्। “राम्रा कम्पनीमा लगानीकर्ता आएर बजार माथि पुगेको भए यो अवस्था आउँदैनथ्यो,” उनी भन्छन्, “फाइदामा रहेका राम्रा कम्पनी नभएर विकास ब्यांक, जलविद्युत्, फाइनान्स जस्ता कम्पनीले बजार माथि लगेर अहिले यस्तो भएको हो।” कम्पनीको ‘पर्फमेन्स’ छोडेर बजार हल्लाको पछि लाग्ने लगानीकर्ताको बानीलाई उनी शेयर उतारचढावको कारण मान्छन्। राष्ट्र ब्यांकको नीतिमा पनि बजार घट्नुको धेरथोर भूमिका रहेको उनको बुझाइ छ।
यसरी बढेको थियो बजार
राष्ट्र ब्यांकको नीति मात्रै होइन, निषेधाज्ञा हटेसँगै अन्य लगानीका क्षेत्र खुला हुँदा शेयर बजार घटेको बुझ्न सकिन्छ। हिजो बजार बढ्नुमा कोरोना महामारी र निषेधाज्ञा प्रमुख कारण थियो। निषेधाज्ञाको समयमा लगानीका हरेक क्षेत्र ठप्प रहे पनि शेयर बजार चालूू रह्यो। अनलाइन कारोबार प्रणालीका कारण लगानीकर्ताले घरबाटै कारोबार गरे। लगानी गर्ने ठाउँ नहुँदा अधिकांशले शेयर बजारमा हात हाले। यही बीचमा नयाँ लगानीकर्ता ह्वात्तै भित्रिए।
निषेधाज्ञासँगै लगानीका क्षेत्र खुम्चिँदा ब्यांकको ब्याजदर घट्यो। अन्य क्षेत्रमा कर्जाको माग घट्न थालेपछि ब्यांकहरूले पनि शेयर धितोमा लगानी बढाए। यसको परिणाम निषेधाज्ञाकै समयमा शेयर बजारको कारोबारमा ऐतिहासिक रेकर्ड देखियो। ३१ साउनमा शेयर बजारमा २१ अर्ब ६४ करोड ७६ लाखको कारोबार भयो। ३१ जेठमा १९ अर्ब ५५ करोडको कारोबार भएको थियो। तर, अहिले ब्यांकहरूमा कर्जाको माग बढेको छ। लगानीयोग्य पूँजीको अभाव दोहोरिने संकेत देखिएको छ। यसकारण ब्यांकहरू ब्याजदर बढाउने तरखरमा लागेका छन्।