अर्को जीवन बाँच्न घुम्छु
मान्छे विभिन्न प्रयोजनले घुम्छन्। म अर्को जिन्दगी बाँच्न घुम्छु। घुम्नु भनेको फरक जिन्दगी बाँच्नु हो।
घुमफिरलाई नै काम र ‘प्यासन’ बनाएको म जस्तो व्यक्तिलाई कोभिड-१९ महामारी र लकडाउनका कारण घरबाट निस्किन नपाउँदा असहज हुने नै भयो। म अहिलेसम्म कति ठाउँ पुगें, हिसाबकिताब गरेको छैन। तर, पूर्वदेखि पश्चिमका थुप्रै ठाउँ घुमेको छु।
म हरेक चोटि नयाँ ठाउँ जानेभन्दा पनि एउटै ठाउँभित्रको अनएक्स्प्लोर्ड (अज्ञात) वा माइक्रो डेस्टिनेसन (स-साना ठाउँ)मा पुग्न मन पराउँछु। त्यही भएर एकै ठाउँ पनि धेरै चोटि पुगिरहेको हुन्छु।
एकै ठाउँका फरक-फरक घरमा बस्दा फरक-फरक चालचलन बुझ्न र संस्कृतिमा भिज्न पाएको छु। म चार-पाँच चोटि मनाङ पुग्दा हरेक पल्ट बेग्लाबेग्लै घरमा बसेको थिएँ।
मोटरसाइकल चलाएर मुस्ताङ नै ५-६ चोटि गइसकें। त्यहाँका गाउँहरू टन्नै घुमेको छु। सबैतिर पुगिरहनुभन्दा एउटै ठाउँलाई अलि बढी समय दिनु राम्रो लाग्छ ताकि त्यहाँका मान्छेहरू चिन्न सकूँ, ठाउँ राम्ररी बुझ्न सकूँ।
एउटै ठाउँमा फेरि-फेरि जाँदा एकदम द्रुत गतिमा बदलिरहेको अनुभव गर्छु। निकै परिवर्तन देख्न पाउँछु। जस्तो- कुनै वेला झरना थियो, अहिले छैन। यस्तो खालको परिवर्तन आफ्नै आँखाले देख्न पाएको छु।
एकै ठाउँका फरक-फरक घरमा बस्दा फरक-फरक चालचलन बुझ्न र संस्कृतिमा भिज्न पाएको छु। म चार-पाँच चोटि मनाङ पुग्दा हरेक पल्ट बेग्लाबेग्लै घरमा बसेको थिएँ। बस्दाबस्दै तिनै परिवारको सदस्य जस्तो भएँ। त्यहाँको रीतिथिति र जीवनशैली नियाल्न पाएँ।
मान्छे विभिन्न प्रयोजनले घुम्छन्। म अर्को जिन्दगी बाँच्न घुम्छु। घुम्नु भनेको फरक जिन्दगी बाँच्नु हो। अरूको जिन्दगी बाँच्दा वा हेर्दा आफ्नो दिमाग बढ्छ। जस्तै- भारतको कालिम्पोङ गएर कुनै संगीतकर्मीसँग घुम्यो भने उसले कसरी संगीत बनाउँछ, त्यहाँको रहनसहन कस्तो छ भन्ने अनुभव गर्न सकिन्छ।
भ्रमणका क्रममा मैले नेपालप्रति गुनासो गर्नेभन्दा गौरव गर्नेहरू धेरै भेटेको छु। सबैले नेपाल एकदम सुन्दर छ भन्छन्। कतिले त विश्वमा नेपाल मात्रै सुन्दर देश हो पनि भन्छन्। नेपाल धेरै कुरामा एकदमै पछाडि छ। तर, यही कुराले देश बनाउँछ पनि।
शुरूशुरूमा घुम्दा मसँग पैसा र तयारी हुँदैनथ्यो। जहाँ गए पनि मान्छेले चिन्छन्, स्वागत गर्छन्। कसैले नचिन्दाको संघर्ष र रोमाञ्च छुट्टै हुन्छ। चिनिने भएपछि आफ्नै पाराले बस्न, हिंड्न पाइँदैन।
स-साना गाउँहरू छन्, चिटिक्क परेका घरहरू छन्, सानो परिवार अनि गोठमा थोरै गाईबस्तु हुन्छन्। हाम्रो पहिचान नै थोरैमा पनि खुशी हुनु हो। अरू देशसँग दाँज्दा हामी विकसित नहोऔंला, तर हाम्रो छुट्टै बाँच्ने शैली, सरलता, आफ्नोपन छ।
जे जस्तो छ, हामीले नेपालको सराहना गर्नुपर्छ। हामी विकसित छैनौं त छैनौं। विकसित नहुनुमा पनि आफ्नै सौन्दर्यबोध छ। सडक बन्नु, ट्याक्सी गुड्नु, अन्नपूर्ण र सगरमाथा हिमालमा केबलकार चल्नु मात्रै विकास होइन। त्योसँगै प्रदूषण आउँछ, आकर्षण घट्छ। बरु शिक्षामा जोड दिँदा नेपालको वास्तविक विकास हुन्छ। हाम्रो संस्कृति र प्रकृति सुहाउँदो विकास भयो भने बल्ल नेपाल ‘एड्भान्स्ड’ भएको मान्न सकिएला।
म प्रायः एक्लै हिंड्दिनँ। तीन जना भएर घुम्नु सबैभन्दा उत्तम लाग्छ। तीन जनामा समूह विभाजित हुँदैन। चार जना भयो भने दुई-दुई जना भएर हिंड्न थालिन्छ, चार जनाभन्दा धेरै भयो भने व्यवस्थापन गर्नै गाह्रो।
शुरूशुरूमा घुम्दा मसँग पैसा र तयारी हुँदैनथ्यो। जहाँ गए पनि मान्छेले चिन्छन्, स्वागत गर्छन्। कसैले नचिन्दाको संघर्ष र रोमाञ्च छुट्टै हुन्छ। चिनिने भएपछि आफ्नै पाराले बस्न, हिंड्न पाइँदैन। यसो प्रकृतिको आनन्द लिएर बसौं भन्यो, मान्छेहरू खादा लगाइदिन आउँछन् ! तर, त्यो माया हो, ठीकै छ।
मेरो टीमको ट्राभल भिडिओ निकै रुचाइएको छ युट्युबमा। हाम्रो प्रस्तुति कलाले पनि प्रभावित गर्छ शायद। प्रायः १८ देखि ३५ उमेर समूहले हाम्रो भिडिओ धेरै हेरेको पाएको छु।
त्यसो त मैले युट्युबका लागि ट्राभल भिडिओ बनाउनुभन्दा धेरै अघिदेखि नै घुम्न थालेको हुँ। म पहिला जे थिएँ, त्यसलाई बाहिर ल्याउन युट्युब एउटा माध्यम बन्यो। युट्युबले मेरो जिन्दगीलाई बाटो देखाउनुभन्दा पनि आफ्नो जिन्दगीको बाटो मैले युट्युब मार्फत अरूलाई देखाएँ।
(हिमालको २०७८ भदौ अंकमा प्रकाशित।)