चार महीनायताकै सबैभन्दा कम संक्रमित पुष्टि
कोरोनाभाइरस संक्रमितको संख्या बिस्तारै कम हुँदै गएको छ। आज चार महीनायताकै सबैभन्दा कम संक्रमित पुष्टि भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शनिबार एक हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये पीसीआर परीक्षणमा एक हजार २४ र एन्टिजेन परीक्षणमा २४४ जनामा संक्रमण देखिएको छ। देशभर नौ हजार ८७५ जनाको स्वाब परीक्षण गरिएको थियो।
आजभन्दा चार महीनाअघि ६ वैशाखमा सात हजार ५४८ जनाको स्वाब परीक्षण गर्दा एक हजार २८१ जनामा कोरोना देखिएको थियो। त्यस्तै, ७ वैशाखमा आठ हजार ७३८ जनाको स्वाब परीक्षण गर्दा एक हजार ७३६ जनामा कोरोना देखिएको थियो। त्यसपछि संक्रमण बढ्न थालेपछि १६ वैशाखमा निषेधाज्ञा जारी गरिएको थियो।
यस्तै, आज कोरोनाको संक्रमणबाट नौ जनाको मृत्यु भएको छ। यो पनि चार महीनायताको सबैभन्दा कम हो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।
पछिल्लो २४ घण्टामा दुई हजार १९५ जना निको भएका छन्। केही दिनयता निको हुनेको संख्या पनि बढ्दै गएको छ।
आज देशभर एक लाख सात हजार ५९८ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ। अहिलेसम्म ४८ लाख ६३ हजार ८३५ जनाले पूर्ण खोप पाएका छन्। त्यस्तै, ५५ लाख ११ हजार ९२९ जनाले पहिलो डोज लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।