कृषक आमाहरू भन्छन्- अन्न उत्पादन गर्छौं, बेच्न पाइँदैन
बीउ राख्नेदेखि हुर्काउने, बढाउने, अन्नपात भित्र्याउनेसम्म विभिन्न काममा सबैभन्दा बढी खटिने कृषक आमाहरूलाई प्रतिफल पाउने वेलामा भने थाहै दिइँदैन।
असार तेस्रो साता रोपिएको धान हलक्क बढेको छ। गह्रा भरिभराउ र सुन्दर देखिएका छन्। धानभन्दा बढी मौलाएको झार जेलिएको पनि छ।
धानसँगै जेलिएको झार पन्छाउने चटारो छ। रोपाइँमा पुरुष पनि हुने गरेको भए पनि यति वेला भने खेतमा महिला मात्रै देखिन्छन्। “पुरुषहरू रोपाइँ गर्दासम्म केही सघाउँछन्, त्यसपछि हम्मेसी गोडमेलको काममा लाग्दैनन्,” खेतमै भेटिएकी मकवानपुरको मकवानपुरगढी-५, सिमलटारकी ५२ वर्षीया चण्डिका परियारले भनिन्, “रोप्ने, गोडमेल गर्ने उठाउने, केलाउने सबै हामीले नै हो।”
“सबै काम म गर्छु, भित्र्याइसकेपछि बेचेर पैसा लिन पाउँदिनँ,” कृषक चण्डिका परियारले भनिन्, “बिक्री गरेर पैसा लिने काम श्रीमान्ले गर्नुहुन्छ। उहाँले नभ्याउँदा छोराहरूले गर्छन्। त्यो पैसा मेरो हातमा पर्दैन।”
धानको बीउ राख्नेदेखि भित्र्याउनेसम्म सबै काम रमाउँदै गर्ने परियारसँग एउटा गुनासो छ। “सबै काम म गर्छु, भित्र्याइसकेपछि बेचेर पैसा लिन पाउँदिनँ,” परियारले भनिन्, “बिक्री गरेर पैसा लिने काम श्रीमान्ले गर्नुहुन्छ। उहाँले नभ्याउँदा छोराहरूले गर्छन्। त्यो पैसा मेरो हातमा पर्दैन।”
उनकै भनाइमा ६७ वर्षीया गोमाकुमारी ढकालले पनि सही थापिन्। चोर, बूढी र माझी औंलाले मसिना झार उखेल्दै ढकाल बोलिन्, “खेतमा जस्तो घरमा आफ्नो हात जगन्नाथ कहाँ छ र?”
उनीहरूको भनाइ सुनिरहेकी ५५ वर्षीया कान्छीमाया लामा पनि उखेलेको झारको मुठो बनाउँदै उभिइन्। र, लामाले थपिन्, “आफ्नो हात जगन्नाथ भन्ने त उखान हो नि। त्यस्तो कहाँ हुन्छ? हाम्रा त हात बाँधिएका छन्। यी हात त काम लाउन्न के रे।”
अधिकांश महिलाहरूको अवस्था उनीहरूले बताए जस्तै छ। अन्नबाली, पशुपालन लगायत कृषिसँग सम्बन्धिन काममा महिला दिलोज्यान दिएर लाग्छन्। तर, त्यसको प्रतिफल भने उनीहरूको हातमा पर्दैन।
कृषिसँगै सम्बन्धित भएर पछिल्लो समय खुलेका टोल विकास समूह, सहकारीमा महिलाकै नाम देखिन्छ। तर, कति ऋण झिक्ने, कहाँ लगानी गर्ने, कहिले कसरी ऋण फर्काउने लगायतका विषयमा निर्णय गर्न महिलाको भूमिका रहँदैन।
“पहिलेको तुलनामा केही महिला समूहहरू सहकारीमा आबद्ध भएर कारोबार गर्ने भएका छन्, तर अझै निर्णय गर्न पाउँदैनन्, श्रीमान्को हस्तक्षेप हुन्छ,” मकवानपुरगढी गाउँपालिका-२ का युवा कृषक साजन घिमिरे भन्छन्, “महिला कृषकले गरेको योगदान अनुसार उनीहरूलाई कदर पटक्कै छैन।”
ग्रामीण भेगमा महिलालाई घरपरिवारबाटै परिवारको निर्णयको ‘हिस्सेदार’ भन्दा पनि ‘काम गर्ने मजदूर’ को जस्तो व्यवहार हुने गरेको छ। “मेरै घरमा पनि बुबा र मेरो तुलनामा आमाको योगदान धेरै छ, तर निर्णयको सवालमा आमालाई थाहै हुन्न, हामी नै गर्छौं,” घिमिरे भन्छन्।
महिला गोबर सोहोरेर मल जम्मा गर्छन्, तर मल कति पैसामा बिक्री गर्ने पुरुष तय गर्छन्। गाईभैंसी कहिले बेच्ने, कतिमा बेच्ने पुरुषकै निर्णय हुन्छ।
त्यसो हुनुको पछाडि एक त परिवारमा पुरुष सदस्यको नै प्रभाव हुन्छ। अर्को, पारिवारिक विखण्डन हुने डरले धेरैजसो महिलाले निर्णयमा आफूलाई सहभागी गराउन पनि नचाहने गरेको नवदुर्गा बहुउद्देश्यीय फार्मका सञ्चालक नकुल चौलागाईं बताउँछन्। “श्रीमान्को कारोबारमा प्रश्न उठाएको जस्तो मान्छन्, निर्णयबारे केही सोध्दैनन्,” उनी भन्छन्।
महिला घाँस काट्छन्, गाई-भैंसी पाल्छन्, दूध दुहुन्छन्, तर डेरीमा दूध बेच्न श्रीमान् जान्छन्। दूधको पैसा कति आयो भनेर श्रीमान्ले पनि बताउँदैनन्।
महिला गोबर सोहोरेर मल जम्मा गर्छन्, तर मल कति पैसामा बिक्री गर्ने पुरुष तय गर्छन्। गाईभैंसी कहिले बेच्ने, कतिमा बेच्ने पुरुषकै निर्णय हुन्छ।
बेचेको पैसा नपाउने भएपछि किन सोधखोज गर्ने भन्ने लाग्ने गरेको ६८ वर्षीया लक्ष्मी सञ्जेल बताउँछिन्। “हामीले पालेका हौं, हाम्रो निर्णयमा बेच्छौं भन्न लाग्यो भने घरझगडा शुरू हुन्छ। आखिर बेचेर हामीले पैसा चलाउन पाउने हैन, किन झगडा गर्नु?” उनी भन्छिन्, “खान पाएकै छेस्, अरू कारोबार किन चाहियो भनेर रिसाउँछन्। परिवारमा रिसराग गर्नुभन्दा चुप लागेर बसिन्छ।”
कृषकका संस्थामा पनि उस्तै
स्थानीय तहले महिलाको आर्थिक अवस्था उकास्न केही पहल गर्दै आएका छन्। जस्तो– महिलाको नाममा उद्योग व्यवसाय सञ्चालन गर्न चाहेमा व्यवसायको दर्ता तथा नवीकरण शुल्कमा छुट सुविधा दिन्छन्। ग्रामीण क्षेत्रमा कृषि उद्योग तथा फार्महरू दर्ताका लागि स्थानीय तहले प्रोत्साहन गर्दै आएका छन्।
तर, यसमा पनि महिलाको पहुँच व्यवहारमा हैन, कागजमै सीमित छ। कतिपय महिलालाई आफ्नो नाममा दर्ता भएका उद्योग व्यवसायको उत्पादन, खपत, नाफा, नोक्सान, उद्योगजन्य सम्पत्ति किनबेचबारे जानकारी हुँदैन। “सबै कारोबार श्रीमान् तथा छोराहरूबाटै चल्दै आएको हुन्छ,” मकवानपुर जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाल भन्छन्, “दूधमा स्थानीय तहले अनुदान दिने गरेको छ, कृषि फार्ममा पनि महिलालाई सहुलियत छ, तर यसबारे धेरैजसो महिलालाई थाहै छैन।”
स्थानीय तहले दिने सुविधा लिन मात्रै महिलाको नाममा कृषि फार्म देखाउने गरिएको उनको भनाइ छ। “स्थानीय सरकार तथा सहकारीका लागि एकाघर परिवारमा रहेका महिला पनि उपभोक्ता भएकाले सेवा दिनैपर्ने हुन्छ, तर महिलाको अवस्था यसरी उठ्दैन,” उनी भन्छन्।
कृषिमा आबद्ध पुरुषको भन्दा महिलाको संख्या बढी छ। परम्परागत ढंगले कृषि कर्म गर्न सीप, योग्यता र शिक्षाको आवश्यकता पनि पर्दैन। सबै सिकिएकै हुन्छ।
केन्द्रीय तथ्यांक विभागका अनुसार, नेपालमा ६०.४ प्रतिशत घरपरिवार कृषि पेशा संलग्न छन्। कृषिले कुल गार्हस्थ्य उत्पादनमा २५.८ प्रतिशत योगदान गर्दै आएको छ। गरीबी न्यूनीकरण, ग्रामीण जीवनस्तर सुधारका लागि कृषि क्षेत्र नै भरपर्दो आधार हो। करीब ६५ प्रतिशत जनसंख्यालाई रोजगारीको अवसर प्रदान गर्ने क्षेत्र कृषि नै हो।
कृषि मन्त्रालयका अनुसार, खेतीपाती गर्नेमध्ये ६५ प्रतिशतभन्दा बढी महिला छन्। कृषि उत्पादनमा महिला सहभागिता अधिक भए पनि त्यस अनुसारको आर्थिक स्वामित्व भने महिलामा छैन। पहाडी क्षेत्रमा ८० प्रतिशतभन्दा बढी महिलाको जीवन खेतीपातीमै बित्ने गरेको छ।
तराईका महिलालाई पनि बिहान उठेदेखि राति अबेरसम्म खेतीपातीकै कामबाट फुर्सद मिल्दैन। तर, नेतृत्व, निर्णय र उपभोगमा भने महिलाको पहुँच नगण्य रहेको बताउँछिन् सहकारी अभियन्ता शर्मिला श्रेष्ठ। “ज्येष्ठ नागरिक आमाहरू पनि कृषिमा मरिमेटेर लागेको देखिन्छ। झिसमिसेदेखि साँझ अबेरसम्म कृषिकर्ममा नै हुन्छन्,” श्रेष्ठ भन्छिन्, “तर, उनीहरूको योगदानको कदर परिवार र राज्य कतैबाट हुने गरेको छैन।”