पहिरोले टावर ढल्दा विद्युत आपूर्ति बन्द, ६८.२ मेगावाट विद्युत् प्रणाली बाहिर
अविरल वर्षाका कारण गएको पहिरोले पर्वतमा विद्युत् प्रसारण लाइनको टावर ढलेपछि चार जिल्लाको विद्युत् प्रवाह अवरुद्ध छ।
पर्वत, बाग्लुङ, म्यादी र मुस्ताङको विद्युत् आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यसबाट निजी क्षेत्रको स्वामित्वमा पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित विद्युत्गृहको ६८.२ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको छ।
पर्वतको सदरमुकाम कुश्मा नजिकै रहेको मोदी खोला विद्युत्गृह र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला-१ जलविद्युत् आयोजनाबीचमा पर्ने टावर पहिरोले शुक्रबार बिहान करीब २ बजे ढालेको हो। १३२ केभी प्रसारण लाइन अन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टावर ढलेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको हो।
टावर ढल्दा म्याग्दीमा रहेका ४२ मेगावाटको मिस्त्री खोला तथा ५ मेगावाटको घलेम्दी खोला, मुस्ताङमा रहेको ११.२ मेगावाटको थापा खोला र पर्वतको १० मेगावाटको तल्लो मोदी-१ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ। टावर मर्मतको काम तत्काल शुरू गर्न र विद्युत् आपूर्ति सहज बनाउन प्राधिकरणले वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय, पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेल लगायतको टोलीलाई खटाएको छ।
आपत्कालीन रूपमा इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोग मार्फत तत्काल काम थाली विद्युत्गृह सञ्चालन र वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गर्ने प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। “लेदो आइरहेका कारण टावर ढलेको स्थानमा हाम्रो टीम जान सकेको छैन, इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोग गरी जतिसक्दो छिटो लाइन सञ्चालन गर्न प्रयास गरिरहेका छौं, यसका लागि बढीमा पाँच दिन लाग्न सक्छ,” घिसिङले भने।
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना सबस्टेशनमा जोडिएको मिस्त्री, थापाखोला र घलेम्दी आयोजनाको विद्युत् कुश्मा सबस्टेशन हुँदै मोदी-१ जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन मार्फत मोदी सबस्टेशनमा प्रवाह गरिएको छ। टावर ढलेका कारण अहिले विद्युत् प्रवाह बन्द भएको छ।
मोदी सबस्टेशनबाट स्थानीय रूपमा आपूर्ति गरी बाँकी रहेको विद्युत् पोखरातर्फ प्रवाह गरिने प्राधिकरणले जनाएको छ।