सिसडोलको सास्ती (तस्वीरहरू)
दुई साता सडकमा थुप्रिएको फोहोर उठ्न थालेपछि काठमाडौं महानगरबासीलाई त सहज भएको छ, तर नुवाकोटको सिसडोलका बासिन्दाका लागि फेरि सास्ती थपिन थालेको छ।
काठमाडौंका सडकको फोहोर एक साताभित्र उठिसक्ने महानगरले जनाएको छ। त्यसपछि महानगरबासीले त केही सफा शहर पाउनेछन्, तर सिसडोल क्षेत्रका बासिन्दा भने वर्षौंदेखि फोहोरको दुर्गन्धसँगै बसिरहेका छन्। “घरभित्र बस्दा पनि फोहोरको गन्ध आइरहन्छ,” स्थानीय संगीता बलामी भन्छिन्।
सिसडोल क्षेत्रमा फोहोर विसर्जनका लागि ७४० रोपनी जग्गामा ल्यान्डफिल साइट बनाइएको छ। स्थानीय बासिन्दासँग तीन वर्षका लागि भनेर जग्गा लिइएको थियो। फोहोर फाल्न थालेको १७ वर्ष भइसकेको छ।
ल्यान्डफिल साइट बनाउँदा गरेका प्रतिबद्धता पूरा नगरेको स्थानीय बासिन्दा बताउँछन्। सिसडोलको सडक स्तरोन्नति गरिएको छैन। पानी पर्दा हिलाम्य भएर हिंडडुल गर्न पनि गाह्रो हुने उनीहरू सुनाउँछन्।
त्यति वेला स्थानीय बासिन्दालाई रोजगारी दिने पनि प्रतिबद्धता गरिएको थियो। तर, त्यस अनुसार, रोजगारी नपाएको स्थानीय विमला बलामी बताउँछिन्। “हामीलाई त के जागीर दिन्थे, हाम्रो श्रीमान्लाई पनि जागीर दिएका छैनन्,” उनी भन्छिन्।
फोहोर विसर्जन गर्न थालेयता स्थानीय बासिन्दालाई स्वास्थ्य समस्या पनि देखिन थालेको छ। “पानी प्रदूषित भएको छ। खेतीपातीमा उब्जनी हुन छोडेको छ,” संगीता भन्छिन्, “हामी पनि सधैं बिरामी भइराख्छौं।”
काठमाडौंबाट दैनिक १५० देखि २०० वटा गाडीले फोहोर लग्ने गरेका छन्। बाटो राम्रो नभएकाले खस्दै जाने गरेको छ। त्यसले झन् समस्या भएको स्थानीय बताउँछन्।
यसको विकल्पमा धादिङको बन्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण भइरहेको छ। शहरी विकास मन्त्रालयले एक वर्षभित्र निर्माण गर्ने गरी लुम्बिनी कोशी एन्ड न्यौपाने जेभीलाई ठेक्का दिएको थियो। तर, निर्माण शुरू भएको तीन वर्ष बितिसक्दा पनि पूरा भएको छैन।
एक हजार ७९२ रोपनी जमीनमा निर्माण भइरहेको ल्यान्डफिल साइटमा २५ वर्षसम्म फोहोर फाल्न सकिने शहरी विकास मन्त्रालयले जनाएको छ।
तत्कालै बन्चरेडाँडामा ल्यान्डफिल साइट बने पनि सिलडोलका बासिन्दाको सकस भने कम हुनेछैन। यहाँ रहेकाे फोहोर नसकिंदासम्म समस्या झेलिरहनुपर्ने उनीहरू बताउँछन्।