आरीघोप्टे पानीले निम्त्याएको पर्वतको क्षति
१७ भदौ राति पर्वतमा ठूलो मानवीय क्षति हुनुमा छोटो समयमा भएको अत्यधिक वर्षा र यसले निम्त्याएको भल–पहिरो नै कारण देखिन्छ।
१७ भदौ राति पर्वतका विभिन्न ठाउँमा गएको पहिरोमा पुरिएर ११ जनाको मृत्यु भयो। पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार, कुश्मा नगरपालिका–३, दुर्लुङमा माधव शर्माको घर भत्किंदा एकै परिवारका पाँच जनाको मृत्यु भयो। त्यसैगरी मोदी गाउँपालिका–५ मा एक जना, कुश्मा–११, पकुवामा तीन र सोही वडाको सिल्मीमा दुई जनाको ज्यान गएको छ।
घटनास्थलको प्रारम्भिक अध्ययनले एक समयमा ठूलो मानवीय क्षति हुनुको कारण त्यस क्षेत्रमा भएको ‘क्लाउड ब्रस्ट’ (आरीघोप्टे) वर्षालाई मानिएको छ। कुश्मा नगरपालिका–३ का वडाध्यक्ष तेजप्रसाद पाध्याको भनाइमा, बिहीबार साँझ ८ बजेदेखि पानी पर्न शुरू भएको थियो। राति १ बजे एकै पटक ठूलो वर्षा भयो। उक्त वर्षाले पहिरो निम्त्यायो। “जुन ठाउँमा पहिरो गएको छ, त्यो ठाउँमा चट्याङसँगै ठूलो पानी वर्षिएको थियो,” प्रजिअ खत्री भन्छिन्, “त्यसपछि पहिरो गएको हो, क्षति भएका ठाउँ नजिक–नजिक पर्दछन्।”
कुश्मा नगरपालिका–३, दुर्लुङका माधव पौडेलको घरभन्दा माथि जंगल छ। बाक्लो रूख भएको ठाउँमा पहिरो जाला भन्ने स्थानीयबासीले अनुमान समेत गरेका थिएनन्। वडा नम्बर–३ का अध्यक्ष पाध्या घना रूखबिरुवा भएको स्थानमा पहिरो जाला भनेर कल्पना समेत नगरिएको बताउँछन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार, २४ घण्टामा १५० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई अत्यधिक वर्षा मानिन्छ। पर्वतमा पहिरो गएको स्थान वरपर वर्षा मापन केन्द्र नभएका कारण उक्त स्थानमा कति मिलिमिटर वर्षा भयो भन्ने यकिन छैन। तर, स्थानीयबासीको भनाइका आधारमा उक्त स्थानमा ‘क्लाउड ब्रस्ट’ भएको विपद्को क्षेत्रमा कार्यरत विज्ञहरू बताउँछन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल भन्छन्, “पर्वतमा भएको क्षति र घटनाको प्रकृति बुझ्दा ‘क्लाउड ब्रस्ट’ भएको देखिन्छ।”
एकै पटक ठूलो पानी पर्दा माटोले सोस्न सक्दैन र भल–पहिरो उत्पन्न हुन्छ। जसले पहाडी क्षेत्रमा पहिरोको जोखिम बढाउँछ भने तराईमा डुबान र बाढीको।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका उपप्राध्यापक वसन्त अधिकारी पहिले नै भिजेको ठाउँमा एकै पटक ठूलो पानी पर्दा जमीनले सोस्न नसक्ने बताउँछन्। “रूख भएको ठाउँमा जरा हुँदै पानी माटोमा मिसिने हो,” उनी भन्छन्, “तर, ‘क्लाउड ब्रस्ट’ मा पानी सोसिन पाउँदैन र जोखिम बढाउँछ।” उनी बलौटे माटो र छिद्र भएको जमीनमा एकै पटक ठूलो पानी पर्दा पनि पहिरोको जोखिम हुने बताउँछन्।
जानकारहरूका अनुसार, ‘क्लाउड ब्रस्ट’ पृथ्वीको तापक्रमसँग सम्बन्धित छ। जल तथा मौसम विज्ञान विभागकी सिनियर मेटेरियोलोजिस्ट डा. इन्दिरा कँडेलको भनाइमा, तापक्रमले जमीनमा हावाको घनत्व घट्छ र त्यो उचालिएर माथि जान्छ। खाली भएको ठाउँमा अन्य स्थानबाट हावा आउँछ। तापक्रमले हावा उचालिएर शक्तिशाली बन्दै वायुमण्डलमा जान्छ। त्यसले छोटो समयमा धेरै वर्षा गराउँछ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, २४ घण्टामा १५० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई अत्यधिक वर्षा मानिन्छ।
जलवायुविज्ञ ङमिन्द्र दाहाल विशेष गरी चुरे, महाभारत र पहाडका कोप्चा आसपास क्षेत्रमा बढी ‘क्लाउड ब्रस्ट’ हुने बताउँछन्। छोटो समयमा एकै ठाउँमा धेरै पानी पर्दा त्यसले भल–पहिरो निम्त्याउँछ,” दाहाल भन्छन्, “यसअघि माथि उल्लिखित क्षेत्रमा ‘क्लाउड ब्रस्ट’ हुने भए पनि हिमाली क्षेत्रमा खासै हुँदैनथ्यो।” अहिले हिमालतिर पनि बारम्बार ‘क्लाउड ब्रस्ट’ हुने र त्यो झन् शक्तिशाली हुँदै गएको दाहालको भनाइ छ।
नेपालमा मात्रै होइन, यो वर्ष चीन, जर्मनी, अमेरिका लगायत देशका केही स्थानमा अत्यधिक वर्षा हुनु ‘क्लाउड ब्रस्ट’ कै परिणाम भएको जानकारहरूको भनाइ छ।