गिद्धलाई कावासोतीदेखि काश्मीरसम्म पछ्याउँदा
गिद्धलाई ‘स्याटेलाइट ट्याग’ लगाएर पछ्याउँदा नवलपरासीको कावासोतीबाट शे-फोक्सुण्डो हुँदै हिमालमाथि विचरण गरेकोदेखि भारत-पाकिस्तानको सीमा क्षेत्र काश्मीर पुगेर घरजम बसालेको जस्ता रोचक तथ्य भेटिएका छन्।
दुई दशकअघि ग्रामीण भेगमा सजिलै भेटिने ‘प्रकृतिको कुचिकार’ अर्थात् गिद्ध अहिले देख्नै मुश्किल हुन्छ। केही वर्षयता एकाएक हराउँदै गएका गिद्धबारे धेरैलाई चासो पनि हुंदैन। एक त यी सिनो खान्छन्, अर्को अरू चराचुरुंगी जस्तो नजिकबाट नियाल्न सकिंदैन।
गिद्ध कहाँ-कहाँ जान्छन्? कति उचाइँ र गतिमा उड्छन्? प्रजनन प्रक्रिया कस्तो हुन्छ? यस्तै यावत् आम जिज्ञासाको उत्तर कम्प्युटरको स्क्रिनमा देख्दा भने चकित बनाउँछ। पछिल्लो पटक गिद्धमा जडान गरिएको ‘स्याटेलाइट ट्याग’ ले यस्तै रोचक तथ्य उजागर गरेको छ। स्याटेलाइट ट्यागले पछ्याइएका गिद्धबारे चर्चा गर्नुअघि उनीहरूको अहिलेको अवस्था केलाउनु जरुरी छ।
मरेका जनावरको मासु अर्थात सिनो खाएर वातावरणलाई स्वच्छ, सफा र सन्तुलित राख्न मद्दत गर्ने गिद्ध अहिले लोप हुने अवस्थामा छन्। करीब २५-३० वर्षअघि सबैभन्दा सजिलै र ठूलो संख्यामा पाइने गिद्ध पछिल्लो दशकमा भने सबैभन्दा तीव्र दरमा नासिएका चरा प्रजातिको सूचीमा पर्छन्।
मरेका जंगली जनावर र घरपालुवा बस्तुभाउको सिनो खाई वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउने गिद्धको विनाशले पर्यावरणीय चक्र र खाद्यशृंखलामै असन्तुलन पैदा भएको छ।
सन् १९८०-९० को दशकमा आएर नेपाल लगायत भारतीय उपमहाद्वीपमै गिद्धको संख्यामा अप्राकृतिक र नाटकीय ढंगले ह्रास आउनुको प्रमुख कारण घरपालुवा पशुको उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो। यसको प्रयोग सुन्निएको र दुखेको निको पार्न गरिन्छ। डाइक्लोफेनेक उपचार गरिएका पशु मरेपछि सिनो खादा गिद्धको मिर्गौलामा असर गर्छ।
गिद्धले समूहमा सिनो खान्छ। ३० मिलिलिटरको एक भाइल डाइक्लोफेनेक प्रयोग भएको सिनोबाट ३५० देखि ८०० गिद्ध मर्न सक्छन्। जसले गर्दा यो औषधि गिद्ध विनाशमा प्रमुख कारण बन्न पुग्यो। मरेका जंगली जनावर र घरपालुवा बस्तुभाउको सिनो खाई वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउने गिद्धको विनाशले पर्यावरणीय चक्र र खाद्यशृंखलामै असन्तुलन पैदा भएको छ। यससँगै विभिन्न रोगहरूको महामारी फैलन सक्ने चुनौती थपिएको छ।
गिद्ध संरक्षणका लागि नेपाल सरकारले पशु उपचारमा डाइक्लोफेनेक प्रयोगमा प्रतिबन्ध लगाएको छ। त्यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग गर्दै आएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा ‘गिद्ध संरक्षण कार्ययोजना’ सन् २००९-२०१३ र २०१५-२०१९ को सफल कार्यान्वयन पश्चात् तेस्रो कार्ययोजना पनि निर्माणको अन्तिम चरणमा छ। गिद्धलाई सुरक्षित आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले स्थानीय समुदायको सक्रियतामा जटायु (गिद्ध) रेस्टुरेन्ट सञ्चालित छन्।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा स्थापना गरिएको गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्काइएका र कोरलिएका डंगर गिद्धलाई विश्वमै पहिलो पटक सुरक्षित प्राकृतिक वातावरणमा पुनःस्थापना गरिएको छ। त्यससँगै लामो समयदेखि गिद्ध र तिनका गुँडको अनुगमन र वैज्ञानिक अध्ययन पनि गरिंदै आएको छ।
गिद्धको यात्रा
चरा र अन्य वन्यजन्तुको अनुगमनका लागि स्याटेलाइट ट्याग प्रविधिको प्रयोग गरिन्छ। यसको सहायताले वन्यजन्तुको जीवविज्ञान, जीवनशैली, विचरण र यात्रा सम्बन्धमा वैज्ञानिक तथ्यांक प्राप्त गर्न सकिन्छ।
नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन्। तीमध्ये ६ प्रजाति रैथाने हुन्, जसले नेपालमै बच्चा कोरल्छन्। अहिले चार प्रजातिका गिद्धको स्याटेलाइट ट्यागको सहायताले अध्ययन गरिएको छ। गिद्धको शरीरमा जडित स्याटेलाइट ट्यागले ती कहाँ-कहाँ जान्छन्, कति उचाइ र गतिमा उड्छन् जस्ता जानकारी कम्प्युटरमा रहेको सफ्टवेयरमा उपलब्ध गराउँछ।
डंगर गिद्ध : विश्वमै दुर्लभ अति संकटापन्न डंगर प्रजातिको गिद्धको संख्या पछिल्लो दशकमा भारतमा ९९.९ प्रतिशत र नेपालमा ९१ प्रतिशतले घटेको छ। यसले मूलतः पश्चिम तराईका अग्ला र ठूला रूखमा गुँड बनाउँछ। यो आहारका लागि कति टाढासम्म उड्छ भन्ने ज्ञान थिएन।
त्यसैले सन् २००८ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पक्षी संरक्षण संघ र बेलायतको रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बर्डस्को अगुवाइमा नवलपरासीको कावासोतीमा तीन वटा डंगर गिद्धलाई स्याटेलाइट ट्याग लगाएर छाडिएको थियो। यसबाट के थाहा भयो भने, डंगर गिद्ध कम्तीमा एक सय किलोमिटरको अर्धव्यासमा ३० हजार वर्गकिलोमिटरभन्दा बढी क्षेत्रमा आहारका लागि नियमित विचरण गर्दा रहेछन्। यिनीहरू नियमित रूपमा नेपाल-भारत आवतजावत पनि गर्ने रहेछन्।
यो स्वतन्त्र रूपमा ठूलो र फराकिलो भू-भागमा उड्ने वैज्ञानिक तथ्यलाई आधार मानेर संरक्षणको आवश्यकता महसूस गरियो। यही पृष्ठभूमिमा सन् २००९ बाट गिद्ध सुरक्षित क्षेत्रको वैज्ञानिक अवधारणामा आधारित भएर संरक्षणका कार्यक्रमको थालनी गरिएको हो।
अहिले घना वासस्थान भएका चितवन लगायत पश्चिम तराई र मध्य पहाडी जिल्लामा केन्द्रित भएर गिद्ध सुरक्षित क्षेत्रको विस्तार, विकास र दिगोपना बनाउन अध्ययन, अनुसन्धान र संरक्षणका कार्यक्रम सञ्चालनमा छन्। गिद्ध सुरक्षित क्षेत्र भन्नाले यसको वासस्थानसँगै विचरण गर्ने आसपासको क्षेत्र पनि हो। यद्यपि यसमा सीमा निर्धारण गरिंदैन, बरु डाइक्लोफेनेक लगायत हानिकारक ओषधिको प्रयोग शून्य हुनु अनिवार्य छ। नेपालको यो अवधारणा भारत, पाकिस्तान, बाङ्लादेशसँगै अफ्रिकामा पनि अनुसरण गरिएको छ।
नवलपरासीको कावाशोतीमा स्याटेलाइट ट्याग लगाएका अधिकांश डंगर गिद्ध बढीमा दुई सय किलोमिटर टाढाको दूरीसम्म उडिरहे भने जोडी बाँधेर गुँड बनाएर प्रजनन गरे।
सन् २०११ मा डंगर गिद्धका गुँडबाट उड्ने अवस्थामा पुगेका ६ वटा बचेरामा स्याटेलाइट ट्याग लगाइयो। गिद्धका बचेराले समय क्रमसँगै उडान र आहारको खोजीमा गर्ने प्रगति र भोग्नुपर्ने चुनौतीबारे जानकारी प्राप्त भयो। तर, बचेरामा लगाइएका स्याटेलाइट ट्यागले लामो समय तथ्यांक उपलब्ध गराउन सकेनन्।
त्यसपछि सन् २०१७ देखि २०२० सम्म गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्किएका गिद्धलाई स्याटेलाइट ट्याग लगाइयो। तीसँगै जंगली गरी ६० गिद्धमा स्याटेलाइट ट्याग लगाएर अनुगमन भइरहेको छ। प्रजनन केन्द्रबाट छाडेका र प्रकृतिमै हुर्किएका गिद्धको बानीव्यहोराको तुलनात्मक अध्ययन गर्न सजिलो भइरहेको छ।
यो अध्ययनमा दुई वटा महत्त्वपूर्ण जानकारी प्राप्त भएका छन्। पहिलो, नवलपरासीको कावासोतीमा स्याटेलाइट ट्याग लगाएका अधिकांश डंगर गिद्ध बढीमा दुई सय किलोमिटर टाढाको दूरीसम्म उडिरहे भने जोडी बाँधेर गुँड बनाएर प्रजनन गरे।
यसमध्ये एउटा गिद्ध आफ्नो स्थायी वासस्थान त्यागेर उड्यो। नवलपरासीबाट करीब ११ सय किलोमिटर टाढा भारत-पाकिस्तानको सीमाक्षेत्र जम्मु-काश्मीरसम्म पुग्यो। र, हिमाञ्चल प्रदेशमै घरजम गरी बस्यो। जुन अहिलेसम्म नेपाल फर्किएको छैन। सामान्यतया एक सय किलोमिटरसम्म यात्रा गर्ने भनिए पनि यस गिद्धको यात्राले अनुसन्धातालाई नै चकित बनायो।
दोस्रो, तराईको रैथाने डंगर गिद्ध समुद्री सतहबाट बढीमा ३१ सय मिटर उचाइसम्म मात्र उड्ने अभिलेख थियो। तर, स्याटेलाइट ट्याग लगाएको एउटा डंगर गिद्ध करीब ५५ सय मिटरको उचाइमा शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जसम्म पुगेको पाइयो। त्यसैले यो अध्ययनले कतिपय परम्परागत ज्ञान र जानकारीमा क्रमभंग गरेको छ।
सुन गिद्ध : दुर्लभ सुन गिद्धको अध्ययनका लागि सन् २०१५ मा कास्कीको घाँचोकमा तीन वटामा स्याटेलाइट ट्याग लगाएर छाडिएको थियो। यसमा एउटा वयस्क पोथी पनि थियो। प्रजनन समयको मुखमा स्याटेलाइट ट्याग लगाएर छाडिंदा यसको जोडीसँगको सम्बन्ध र प्रजननमा अवरोध पार्छ कि भन्ने चिन्ता थियो।
तर, यो पोथी गिद्धले सफलतापूर्वक प्रजनन गरी बच्चा हुर्कायो। यो एक्लै गुँड बनाउँछ र एक्लै बस्न रुचाउँछ। तथापि, यस अध्ययनबाट स्याटेलाइट ट्यागले प्रजनन प्रक्रियामा असर नगर्ने प्रमाणित भयो।
हिमाली गिद्ध जाडोमा भारतको मध्य प्रदेशसम्म जाने र गर्मीयाम शुरू हुनासाथ नेपालको हिमाली क्षेत्रको बाटो हुँदै चीनको उत्तर पूर्वी क्षेत्रसम्म पुगेको पाइयो। यी गिद्धले करीब ७५ सय मिटर माथिबाट उडी हिमाल नाघेर करीब सात हजार किलोमिटर दूरी पार गरेका छन्।
हाडफोर गिद्ध : मध्य पहाडी र हिमाली क्षेत्रका पहारामा बसोबास गर्ने हाडफोर गिद्धले प्रायः सिनो नखाई बचेका हाड र हाडभित्रको मासी मात्र खाने गर्छ। यसको विचरण क्षेत्र पहिचान र संकटका कारण पत्ता लगाउन तुलसी सुवेदीले सन् २०१६ र २०१७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र हिमाली प्रकृतिसँगको समन्वयमा अन्नपूर्ण क्षेत्रका १३ वटा हाडफोर गिद्धमा स्याटेलाइट ट्याग लगाएका थिए। सुवेदीले हाडफोर गिद्ध प्रजातिकै बारेमा विद्यावारिधि गरेका छन्।
यस अध्ययनमा हाडफोर गिद्धले करीब ६० हजार वर्गकिलोमिटरभन्दा पनि ठूलो क्षेत्रमा विचरण गरेको तथ्य फेला पर्यो। जुन यस प्रजातिको संसारका अन्य क्षेत्रमा अभिलेख गरिएको विचरण क्षेत्रभन्दा ठूलो हो।
हिमाली गिद्ध : यो प्रजातिले पनि मध्य पहाडी र हिमाली क्षेत्रका पहरामा गुँड बनाई बच्चा कोरल्छ। हिमाली प्रकृतिका कार्यक्रम निर्देशक सुवेदीको नेतृत्वमा सन् २०१९ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा तीन वटा अर्धवयस्क हिमाली गिद्धलाई समातेर स्याटेलाइट ट्याग लगाइयो।
यो प्रजाति जाडोयाममा हिमालबाट तराई क्षेत्रमा बसाइँसराइ गर्ने अनुमान गरिन्थ्यो। यो अध्ययनबाट हिमाली गिद्ध जाडोमा भारतको मध्य प्रदेशसम्म जाने र गर्मीयाम शुरू हुनासाथ नेपालको हिमाली क्षेत्रको बाटो हुँदै चीनको उत्तर पूर्वी क्षेत्रसम्म पुगेको पाइयो। यी गिद्धले करीब ७५ सय मिटर माथिबाट उडी हिमाल नाघेर करीब सात हजार किलोमिटर दूरी पार गरेका छन्।
यसरी स्याटेलाइट ट्याग जस्तो आधुनिक प्रविधि मार्फत गरिएको अध्ययनले नयाँ तथ्य र रोचक जानकारी प्राप्त भएको छ। यससँगै गिद्धको दिगो संरक्षणका लागि कार्ययोजना बनाउन सहयोग पुगेको छ। त्यसैले, आज तेह्रौं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसको सन्दर्भमा यस खालका प्रविधिको अझ व्यापक प्रयोग गरी दुर्लभ गिद्धको संरक्षणमा हातेमालो गर्ने प्रतिबद्धता गरौं।
(डेढ दशकदेखि गिद्धको अध्ययन, अनुसन्धान र संरक्षणमा सक्रिय लेखक प्राणीशास्त्री हुन्।)