बेपत्ता भएको ३३ वर्षपछि घर फर्किए लोकेन्द्र
कैलालीको जानकी गाउँपालिका–७ का लोकुन (लोकेन्द्र) डगौरा थारू बेपत्ता भएको ३३ वर्षपछि घर फर्किएका छन्।
२९ वर्षको उमेरमा रोजगारीको खोजीमा भारत गएका उनी ९ भदौमा भारतको गयामा फेला परेका थिए।
गयामा उनलाई भारतीय नागरिक सन्दीप यादवले फेला पारेर आफ्नो घर लगेका थिए। तर, त्यसको भोलिपल्ट लोकेन्द्र सन्दीपको घरबाट भागे।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीका अनुसार, खोजी गरेर सन्दीपले पुनः आफ्नो घरमा लगेर राखे। सन्दीपले खबर गरेपछि नेपाल प्रहरीले उनको उद्धार गर्न पहल थाल्यो।
प्रहरी परिसर टेकु काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले भारतीय पक्षसँग समन्वय गरी उद्धार र गर्न आग्रह गरेको कैलालीका एसपी अधिकारीले बताए।
लोकेन्द्रले आफ्नो घर कैलाली बाहेक सबै कुरा बिर्सिसकेका थिए। प्रहरीले खोजी गरी लोकेन्द्रको ठेगाना र आफन्त फेला पारेपछि भारतीय प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय, पर्सामा झिकाएको थियो।
पर्सामा लोकेन्द्रलाई लिन उनका छोरा र कैलाली प्रहरी टोली पुगेको थियो। प्रहरीले १७ भदौमा उनलाई परिवारको जिम्मा लगाएको छ।
लोकेन्द्रका ३७ वर्षीय छोरा रामबहादुर डगौराले आफू चार वर्षको हुँदा हराएको बुबा घर फर्किंदा खुशी लागेको बताए। उनले भने, “मलाई त बुबाको अनुहार समेत याद थिएन, भेटिने आश नै मारेका थियौं, अहिले निकै खुशी छु।”