प्रदेश २ मा ११ सांसदले रोजे एकीकृत समाजवादी
प्रदेश २ मा नेकपा (एमाले)का ११ जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।
बिहीबार निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर उनीहरूले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्। १० जनाले शरीर सनाखत गराएका छन् भने १ जनाले मञ्जुरीनामा मार्फत सनाखत गराएका हुन्।
खराब मौसमका कारण दुई जना उपस्थित हुन नसकेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रदेश सांसद शत्रुधन महतोले बताए। “दुई जना काठमाडौंमा हुनुहुन्छ, पानी परेपछि जहाज आउन सकेन,” महतोले भने, “आइतबार सनाखत गराउनुहुन्छ।”
आज सनाखत गरेका सांसदमा मदनसेन श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, शत्रुधन महतो, रवीन्द्र बैठा, मञ्जु यादव, हसिमा खातुन, बेची लुंगेली, अशोक यादव र प्रमोद यादव छन्।
प्रदेश सभा सदस्य डिल्ली उप्रेती क्यान्सरको उपचारका क्रममा दिल्लीमा छन्। उनले दिल्लीबाटै निवेदन दिएका छन्। आफ्नो पार्टीका नेता झलनाथ खनाललाई जसरी सनाखत गराइएको थियो, सोही प्रक्रिया मार्फत सनाखत गराइएको महतोले बताए।
त्यस्तै, काठमाडौंमा रहेका सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार सनाखत गराउने उनले बताए।
डिम्पल झा र प्रह्लाद गिरीले पनि गरे सनाखत
जनता समाजवादी पार्टी (जसपा) सांसदद्वय डिम्पल झा र प्रह्लाद गिरीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को पक्षमा सनाखत गरेका छन्।
उनीहरू दुवै जना उपेन्द्र यादव नेतृत्वको पार्टीबाट निर्वाचित भएका थिए। अहिले उनीहरू यादवलाई छोडेर महन्थ ठाकुर नेतृत्वको पार्टीमा लागेका हुन्।
यसअघि बुधबार जसपाका १० जना सांसदले लोसपाको पक्षमा सनाखत गरेका थिए।