निर्देशिका सच्चिए राजीनामा फिर्ता लिन्छुः मीन विश्वकर्मा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल दलित संघका अध्यक्ष मीन विश्वकर्माले बुधबार दुवै पदबाट राजीनामा दिएका छन्। १४औं महाधिवेशनको सँघारमा राजीनामा दिएका विश्वकर्मासँग हिमालखबरले गरेको संक्षिप्त संवादः
महाधिवेशनको सँघारमा किन राजीनामा दिनुभयो?
१४औं महाधिवेशनका लागि ल्याइएको निर्देशिकाको निर्वाचन सम्बन्धी अनुसूची घोर असमावेशी र अव्यावहारिक भएकाले राजीनामा दिएको हुँ।
यो निर्देशिकामा दलित, मुस्लिम र थारू समुदायलाई उठ्नै नसक्ने प्रावधान राखिएको छ। दलित संघको पनि अध्यक्ष भएको नाताले नैतिकताका आधारमा पदबाट राजीनामा दिएँ।
निर्देशिकामा ४० प्रतिशत सीट आरक्षण गरिएको छ। यसले सबै जातजाति, लिंग, क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दैन र?
गर्दैन, पहिलो कुरा काल्पनिक तथ्यांक सिर्जना गरेर दलित, मुस्लिम र थारूको प्रतिनिधित्व शून्यमा झार्न खोजिएको छ। दश वर्ष पुरानो तथ्यांकलाई आधार मान्नु नै वैज्ञानिक होइन।
कुल सीटको ४० प्रतिशत आरक्षण गरिएको छ। त्यो ४० प्रतिशतलाई १०० प्रतिशत मानेर त्यसको ३० प्रतिशत खस–आर्यका लागि आरक्षित छ। आरक्षण भनेको नसक्नेका लागि हो। सक्नेलाई आरक्षण दिने प्रावधान राख्नु अव्यावहारिक, त्रुटिपूर्ण र समावेशी नीति विपरीत हो।
पछिल्लो तीन वटा महाधिवेशनमा प्रयोग भइसकेको विधान विपरीत यस्तो प्रावधान कसरी आयो त?
दस्तावेज हाम्रो पार्टीका नेताद्वय प्रकाशशरण महत र मीनेन्द्र रिजालले तयार पार्नुभएको हो। सरोकारवालासँग परामर्श नगरी काल्पनिक तथ्यांकलाई आधार मान्दा यस्तो भएको हुनसक्छ।
राजीनामा कसलाई बुझाउनुभयो?
पार्टी सभापतिलाई बुझाउन चाहेको थिएँ, उहाँको स्वकीय सचिवको फोन उठेन। त्यसपछि पार्टीका मुख्य सचिवलाई सम्पर्क गर्न खोजें, उहाँ पनि बाहिर हुनुहुँदो रहेछ। त्यसपछि पार्टी कार्यालयका कर्मचारी कृष्ण रिजाल मार्फत राजीनामा बुझाएँ।
राजीनामापछि नेताहरूले के भने?
पार्टी उपसभापति विजय गच्छदार फोन गरेर 'तपाईंको माग एकदमै सही छ' भन्नुभयो। प्रवक्ता विश्वप्रकाश शर्माले 'तपाईंको माग एकदमै जायज छ, समयमै पूरा हुन्छ' भन्नुभएको छ। प्रधानमन्त्रीका स्वकीय सचिवले कलब्याक गरेर 'सल्लाह गर्नुपर्थ्यो दाइ' भन्नुभयो।
राजीनामा फिर्ता हुन्छ कि हुँदैन?
मैले पार्टी छोडेको होइन। केन्द्रीय सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा दिएको हुँ। निर्देशिका सच्चियो भने फिर्ता लिन्छु। कांग्रेसको नीति, सिद्धान्त र आदर्श प्रति सधैं प्रतिबद्ध रहन्छु। न्याय, समानता र स्वतन्त्रताको लडाइँ जारी राख्छु।