१० जना प्रदेश सभा सदस्यले लोसपा रोजे
प्रदेश–२ का जनता समाजवादी पार्टीका १० जना प्रदेश सभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्।
१६ भदौमा प्रदेश निर्वाचन कार्यालयमा उपस्थित भएर उनीहरूले लोसपाको पक्षमा सनाखत गरेका हुन्।
सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलमदेवी भूमिहारिन, अल्का झा, गौरीनारायाण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी र बाबुलाल साहले लोसपा रोजेका छन्।
जितेन्द्र सोनल, अभिराम शर्मा लगायतका केही प्रदेश सभा सदस्यहरूले १७ भदौमा सनाखत गर्ने तयारी गरेको सोनलले जानकारी दिए।
उनले मधेशमा लोसपाको पक्षमा जनलहर नै सिर्जना भएको दाबी गरेका छन्। उनले भने, “लोसपा वैकल्पिक लोकतान्त्रिक पार्टी बनाउन प्रतिबद्ध भएकाले अधिकांश जनप्रतिनिधि हाम्रो पक्षमा आउने तयारीमा हुनुहुन्छ।” सोनलले लोसपा मधेशी जनताको हक अधिकारका लागि अग्रसर भएर अगाडि बढ्न प्रतिबद्ध भएको बताए।
प्रदेश–२ मा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राष्ट्रिय जनता पार्टीको तर्फबाट २५ गरी ५५ प्रदेश सभा सदस्य जनता समाजवादीमा थिए।
निर्वाचन आयोगले नयाँ दल रोज्न जनप्रतिनिधिलाई २२ भदौसम्मको समय दिएको छ।