प्रदेश–१ का १० सांसदले रोजे एकीकृत समाजवादी, मुख्यमन्त्री अल्पमतमा
नेकपा (एमाले) प्रदेश–१ का १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्।
१६ भदौमा निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर एमालेका १० सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।
राजेन्द्र राई, राजन राई, गणेश काम्बाङ्ग, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले एकीकृत समाजवादी रोजेका छन्।
१० सांसदले एमाले छोडेसँगै एक साताअघि मुख्यमन्त्री नियुक्त भएका भीम आचार्यको सरकार अल्पमतमा पर्ने भएको छ।
एमालेका ५१ मध्ये १० सांसदले पार्टी छाडेपछि एमाले प्रदेश सभाको सबैभन्दा ठूलो दल कायम रहे पनि सरकार अल्पमतमा परेको हो। प्रदेश–१ मा ९२ सांसद छन्।
एकीकृत समाजवादी रोजेका सांसद राजेन्द्र राईले थप ५ देखि ७ जना सांसद नयाँ पार्टीको पक्षमा लाग्ने दाबी गरे। संसद् सचिवालयमा आयोगको पत्र पुगे लगत्तै आचार्यको सरकारबाट समर्थन फिर्ता लिने राईले बताए। राईले प्रदेश सरकार अल्पमतमा परिसकेकोले तत्काल राजीनामा दिन उचित हुने सुझाव दिएका छन्।
सांसद राईले प्रदेश–१ मा आफ्नो पार्टीको सरकार बनाउने कसरत गर्ने बताए। उनले भने, “नयाँ सरकार गठनका लागि पाँच दलीय गठबन्धनसँग छलफल चलिरहेको छ।”