प्रदेश–२ मा कार्यकर्ता तानातान, ठाकुर भन्छन्– जसपाभन्दा लोसपा बलियो
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी (जसपा) भन्दा आफ्नो पार्टी बलियो भएको बताएका छन्।
बुधबार जनकपुरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै ठाकुरले साविक राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित सबै जनप्रतिनिधिले आफूलाई साथ दिने दाबी गरे। “कतिपयलाई हामी कमजोर भएको लाग्ला, तर हामी पहिला जस्तो थियौं, त्यस्तै छौं,” उनले भने।
सनाखतको काम जारी रहेकाले अहिले नै आफूहरूलाई कमजोर भन्न नमिल्ने अध्यक्ष ठाकुर बताउँछन्। निर्वाचन आयोगले नेकपा (एमाले) र जसपाबाट निर्वाचित जनप्रतिनिधिलाई क्रमशः नेकपा (एकीकृत समाजवादी) र लोसपा रोज्न २२ भदौसम्मको म्याद दिएको छ।
कार्यकर्ता जोगाउन धौ–धौ
पार्टी विभाजनपछि जसपाको आधार क्षेत्र मानिएको प्रदेश–२ मा कार्यकर्ताको तानातान छ। कार्यकर्तालाई आफ्नो पक्षमा पार्न अध्यक्ष ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी जनकपुर आएका हुन्।
प्रदेश–२ मा उपेन्द्र यादवले नेतृत्व गरेको जसपा मजबूत स्थितिमा छ। साविक राजपाबाट निर्वाचित ९ प्रदेश सभा सदस्यहरूको साथ पाएपछि जसपाको सांसद संख्या ३९ पुगेको छ। ठाकुर नेतृत्वको लोसपामा १६ सांसद देखिएका छन्।
धनुषामा दुई वटा स्थानीय तह मात्रै ठाकुर नेतृत्वको राजपाले जितेको थियो। जसमध्ये जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह यादव पक्षमा लागेका छन। जनकपुर उपमहानगरमा जसपाबाट निर्वाचित ६७ जना जनप्रतिनिधिमध्ये ५४ जनाले लोसपा रोजेका छन्।
हंसपुर नगरपालिकाका मेयर र उपमेयर सहित बहुमत प्रतिनिधि लोसपातिर लागेका छन्। लोसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य जितेन्द्र सोनल साविक राजपाबाट जितेका कोही पनि जसपामा नजाने बताउँछन्।